निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुन गइरहेको छ । धादिङ दुई निर्वाचन क्षेत्र हो । धादिङ निर्वाचन क्षेत्र १ को निर्वाचन कार्यालय गल्छी गाउँपालिका– १ अन्तर्गत महेश दोबानमा रहेको छ ।
असोज २३ गते उम्मेदवारी मनोनयन दर्ताको दिन थियो । नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी मनोनयन दर्ता गराउन म लगायत साथीहरू बिहानदेखि खटिएका थियौँ । बेनिघाट चरौँदी देखि गल्छी पुग्दासम्म १० बजिसकेको थियो । हामी निर्वाचन कार्यालय पुग्दा कुनै पार्टिहरूको उपस्तिथि थिएन । दिनको १२ बजेपछि बिस्तारै स्वतन्त्रलगायत अन्य राजनीतिक दलहरू आउन थाले ।
नेपाल मजदुर किसान पार्टीको उम्मेदवार, समर्थक र प्रस्तावक साथीहरू गल्छी ५ रैले गाउँबाट आउने भएकोले ढिलो हुने नै भयो । अघिल्लो दिनको झरीवर्षाले गाउँको सडक बाटो बिगारेकोले हिडेर बजार पुग्न २ घण्टा बढी नै समय लाग्ने कुरा दिनेश तामाङ साथीले जानकारी दिएका थिए । झन्डै १ः३० बजे साथीहरूसँग भेटघाट भयो । भेटघाट र छलफलपछि प्रतिनिधि सभाको निम्ति विश्वअमर महर्जन र प्रदेश सभामा पद्मबहादुर तामाङलाई उम्मेदवारी मनोनयन दर्ता गराउन हामी फार्म विवरण भर्न तर्फ लग्यौँ । निर्वाचन मनोनयन दर्ता प्रक्रिया एक दुई जना साथीहरूबाहेक अरू साथीहरूको निम्ति पहिलो अनुभव थियो । उम्मेदवारी मनोनयन दर्ता गराउन राजनितीक दल, समर्थकहरूको चहलपहल बाक्लिदै थियो । एकले अर्कोको कुरा काट्दै हुन्थे । हामी नेमकिपाबाट हौँ भन्दा, राम्रो पार्टी हो फिँजिन सकेन भोट दिए खेरमात्र जान्छ जस्ता अचेत कुराहुरु तिनीहरू गर्थे ।
समर्थक प्रस्तावक साथिहरू विवरण र फार्ममा सहि गरेर आफ्नो कामले नारायणगढतर्फ हिँड्नुभयो । उम्मेदवार दुईजना लगायत हामी चार जना उम्मेदवारी मनोनयन दर्ता गराउन लाग्दा दिउँसो चार बजिसकेको थियो । निर्वाचन कार्यालयका कर्मचारी उम्मेदवारी मनोनयन दर्ता गराउन बाँकी रहेकाहरूलाई ५ बजे अघि नै कार्यालय भित्र छिर्न सूचना जारी गर्दै थिए । तत्काल भरेको मनिनयन दर्ता फार्ममा कहिँकतै गल्ति कमजोरी होलानकी भनेर हामी सजग हुँदै थियौँ । मनोनयन दर्ता फार्म चेक जाँच गराएर निर्वाचन अधिकृत कक्षमा पुग्यौँ । अधिकृत कृष्णबहादुर कार्कीले पार्टीको टिकट पल्टाउँदै नेपाल मजदुर किसान पार्टी राम्रो पार्टी हो । तपाईँहरूलाई बधाई छ भन्नुभयो ।
उहाँले गर्भका साथ नेमकिपा राम्रो पार्टी हो भन्दा दिनभरको थकान क्षणभर आनन्दमा परिणत हुन पुग्यो । दिनभरको कठिनाई भए तापनि अन्तमा सरल र सहज रुपमा उम्मेदवारी मनोनयन दर्ता गराउन सफल भयौँ । चितवन निर्वाचन क्षेत्र १ मा निर्वाचन अधिकृतले अप्ठ्यारा र दुःख दिने काम भएको साथिहरूको सम्पर्कमा जानकारी भएका थिए ।
उम्मेदवारी नहुँदा नेमकिपाको उम्मेदवारी नै छैन भन्ने, उम्मेदवारी दिँदा राम्रो पार्टी हो भोट हाले खेर जान्छ भन्नेहरूको चेत आउनु जरुरी छ । काङ्ग्रेसको विकल्प एमाले, एमालेको विकल्प माओवादी हुन सक्दैन । काङ्ग्रेस, एमाले, माओवादीलगायत शासक दलहरू पालैपालो मिलेर देशलाई चुसेर खोक्रो पारेको हो । उम्मेदवारी दर्ताको माहोल हेर्न आउने जनताहरू भने शासक दलहरूदेखि वाक्क दिक्क भएको बुझ्न सकिन्थ्यो । गल्छी १ का सुब्बा श्रेष्ठ दाईले निर्वाचन मनोनयन दर्ता अवधिभर सँगै रहेर सहयोग गर्नुभयो । अन्तमा नेमकिपाको मादल चिह्नमा छाप लगाउन सम्पूर्णमा आह्वान गर्दछौँ ।
Leave a Reply