भर्खरै :

साहित्य समाजको ऐनासरह

भक्तपुर, ५ कार्तिक । प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा ११३ औँ देवकोटा जयन्तीको अवसरमा वाकुपति नारायणस्थान सूर्यमढीमा भक्तपुर नगरव्यापी आधारभूत तहस्तरीय कविता प्रतियोगिता सम्पन्न भयो ।
प्रतियोगितामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले साहित्य समाजको ऐनासरह हो भन्दै विद्यार्थीहरूले समाजका विभिन्न पक्षलाई कवितामार्पmत व्यक्त गरेको बताउनुभयो ।
विद्यार्थीहरूले तालिममार्पmत साहित्यिक कलालाई तिखार्दै लानुपर्ने सुझाव दिँदै उहाँले साहित्य सर्वसाधारण जनताले समेत बुझ्ने सरल र सहज हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाको योगदानबारे चर्चा गर्दै देश–समाजका विकृति, विसङ्गतिविरुद्ध र परिवर्तनका निम्ति साहित्यहरू रचना गर्न जोड दिनुभयो ।
भक्तपुर नपाका नगर शिक्षाशाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले सामुदायिक सिकाइ केन्द्रको काम र कर्तव्यबारे चर्चा गर्नुभयो ।
निर्णायकमण्डलका प्रतिनिधि शिक्षिका एवं साहित्यकार रूपकेशरी उलकले जमिनमुनि पानी अवश्य हुने, कुनै ठाउँमा मूल फुटेर जमिनमा आउने तर कतै कतै मेसिन लगाएर तान्नुपर्ने भनेजस्तै कसैको जन्मजात साहित्यमा रूचिहुने र कसैलाई प्रयास गराउँदै साहित्यमा तयारी गराउन सकिने विचार व्यक्त गर्नुभयो ।
कविता प्रतियोगितामा १७ वटा स्कूलका ४४ जना विद्यार्थीले भाग लिएका थिए । सो प्रतियोगितामा महेन्द्र विद्याआश्रमकी विभूति कार्की प्रथम, एभरेष्ट इ. स्कूलका प्रयागराज भट्टराई द्वितीय र वागीश्वरी माविकी श्रेया शाही तृतीय हुन सफल भए । विजयी तथा सहभागी प्रतियोगीहरूलाई अतिथि सुनिल प्रजापतिले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा जयराम कोजू, सवीन्द्र प्रजापति र श्रीराम कासिछ्वाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *