नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
नेपाल संवत् ११४३ न्हुँ दँया भिन्तुना, नयाँ वर्षको शुभकामना साथै लक्ष्मीपूजासँगै महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्म जयन्तीको शुभकामना ।
नेपाल संवत्सँग जोडिएको नाम हो शङ्खधर साख्वा अनि लक्ष्मी पूजासँगै जोडिएको नाम हो लक्ष्मीप्रसाद देवकोटा । यी दुई विभूतिहरूलाई आजको पुँजीवादी व्यवस्थाको कोणबाट हेर्दा भिन्न व्यक्तित्वको रूपमा चिन्न सकिन्छ । पहिले महाकवि देवकोटा, उनी लक्ष्मीपूजाको साँझ जन्मेकै कारण लक्ष्मीको प्रसादस्वरूप उनको नाम लक्ष्मीप्रसाद राखिएको बताइन्छ । साँच्चै उनी लक्ष्मीकै भक्त हुँदो त उनी धनशाली व्यक्ति हुने थिए । जागिर नखाएका होइनन् उनले जागिर पनि खाएका थिए । पारिश्रमिक पनि त्यो समयमा राम्रै पाएका थिए । तर, उनी यति धेरै मनकारी व्यक्ति थिए कि पारिश्रमिक बुझेर गरम भएको खल्ती घर पुग्दा नपुग्दै चिसिन्थ्यो । बाटोमा भेटिएका दीनदुःखीहरूलाई दान पुण्य गर्दै पारिश्रमिक सकाउँथे । यही मनकारी भावनाले उनी आर्थिकरूपमा त्यति सम्पन्न नभएका हुन् । त्यसैले लक्ष्मीको प्रसाद भई जन्मे पनि उनी कर्मले सरस्वतीको पुत्रको रूपमा हुर्के बढे सरस्वतीकै प्रसाद भए । उनले पैसालाई खासै महत्व दिएनन्, पैसा कै निम्ति मरिहत्ते गरेको भए सायद उनी महाकवि पनि हुने थिएनन् होला सायद । उनले पैसालाई भन्दा पढाइलाई जोड दिए, आफ्नो प्रतिभालाई जोड दिए । त्यही प्रतिभाकै कारण उनी आज मरेर पनि अमर भएका छन् । नेपाली भाषा–साहित्यको क्षेत्रमा कहिल्यै नअस्ताउने एक जाज्वल्यमान नक्षेत्र भएका छन् ।
दोस्रो शङ्खधर साख्वा, एकचोटि कल्पना गरौँ । लक्ष्मी पूजाको बेला लक्ष्मीको आराधना गर्दा देवी लक्ष्मी प्रकट भई ‘लौ माग, कति धन माग्छौ, म वरदान दिन्छु’ भनिन् रे । आजको जमानाका एक भक्तले लक्ष्मीसित कति धन माग्दो हो र त्यो धन देवी लक्ष्मीको आशिषबाट प्राप्त नै भयो रे भने त्यसलाई कसरी उपयोग गरिन्छ होला ? सायद थोरैले मात्र समाज सेवाको लागि समर्पण गर्लान् प्रायः सबैले व्यक्तिगत मोजमस्ती, भोजभटेर, ऐशआराम र विलासी जीवन यापन गरेर त्यो मोटो रकम सकाउँछन् होला । तर, शङ्खधर साख्वालाई यस्तै अप्रत्यासितरूपमा ठूलो मात्रा सुन प्राप्त हुँदा उनले समाजका सबै मानिसहरूको ऋण तिरिदिए । आम जनता ऋण मुक्त भएकै खुसीयालीमा नेपाल संवत् सुरु भएको मानिन्छ । त्यसबेला शङ्खधरले पाएको सुन आफ्नै निम्ति मात्र उपयोग गरेको भए उनी आज देशका विभूति हुने थिएनन् ।
धन नै सबथोक हो भन्ने आजको पुँजीवादी व्यवस्थामा देवकोटा र शङ्खधरजस्ता मनका उदार व्यक्ति विरलै मात्र भेटिन्छन् । यद्यपि, देशको संविधान समाजवादउन्मुख छ । समाजवादमा धनलाई भन्दा बढी महत्व समाजलाई दिइन्छ । समाज साध्य हो पैसा केबल साधन मानिन्छ । समाजवादी व्यवस्थामा पैसाको त्यति धेरै महत्व हुँदैन जति पुँजीवादमा हुन्छ किनभने समाजवादमा मानिसको लागि आवश्यक आधारभूत सबै बन्दोबस्त राज्यले गरेको हुन्छ । शिक्षा, स्वास्थ्य, गाँस, बाँस, कपासको समस्या पूर्ण समाधान भयो भने मान्छेलाई धनको खाँचो धेरै पर्ने छैन । त्यसबेला सबै मान्छे देवकोटाजस्तै मनकारी र सबै मान्छे शङ्खधरजस्तै उदार मनका धनी हुनेछन् । रुसी सोभियत सङ्घको समाजवादी व्यवस्थामा रुसमा जीवनयापन गरेर आएका व्यक्तिहरूका अनुसार समाजवादी व्यवस्थामा धेरै पैसा हुनु भनेको घाँडोमात्र हुन्छ । शङ्खधरले आफूले पाएको सुन घाँडोको रूपमा राख्न चाहेनन् समाजको लागि समर्पण गरे र त उनी आज विभूति भए ।
Leave a Reply