नेपालीहरू भारतविरोधी होइनन् – २
- कार्तिक १२, २०८३
निर्वाचन करोडौँ जनतालाई सचेत पार्ने विश्वविद्यालय हो । सामान्य क्याम्पसले एक दुई हजार विद्यार्थीहरूलाई शिक्षित पार्छ । अलि ठूलो नाम चलेको कलेजले पाँच दस हजार विद्यार्थीहरूलाई शिक्षित पार्छ । विश्वविद्यालयहरूले वर्षमा एक दुई लाख विद्यार्थीहरूलाई शिक्षित पार्छन् भने पाँच वर्षको एकपटक हुने निर्वाचनले करोडौँ जनतालाई शिक्षित पार्छ । निर्वाचनमा विभिन्न दलका नेताहरूले बैठक, भेला, सभा, ¥यालीमार्फत देशमा भइरहेको विकृति तथा विसङ्गतिबारेमा सत्यतथ्य जानकारी दिएर करोडौँ जनतालाई सचेत पार्ने काम गर्दछन् । उनीहरूले हिमाल, पहाड, तराईको गाउँठाउँमा गएर नेपाली जनतालाई देशको स्वाधीनता, सार्वभौमिकता, विदेशी दबाब, थिचोमिचो, नेपालीभूमिको अतिक्रमण, एमसीसी, एसपीपी, नागरिकता विधेयक आदिबारे सुसूचित गरेर सचेत र सङ्गठित गरी शिक्षित पार्ने काम गर्दछन् । यस मानेमा निर्वाचन करोडौँ जनतालाई सचेत पार्ने एक माध्यम हो ।
गणतान्त्रिक शासक दलहरूले नेपाली हावापानी र माटो सुहाउँदो शिक्षानीति व्यवहारमा ल्याउन सकिरहेका छैनन् । नेपालको शिक्षामा विदेशी प्रभाव र दबाब भइरहेको विज्ञहरू बताउँछन् । विदेशी सहयोगविना नेपालको शैक्षिक कार्यक्रम नचल्ने अवस्थामा पुगेको देखिएको छ । वर्तमान शिक्षाले नेपालको होइन विदेशीको आवश्यकता पूर्ति गर्ने काम गरिरहेको तथ्यले बताइरहेको छ । नेपालको शिक्षा मन्त्रालयले विदेशीसँग प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति तयार गर्ने नाममा, अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा स्थापित गर्ने सक्षम विद्यार्थी तयार पार्ने नाममा प्राविधिक क्षेत्रमा जोड दिइएको देखिन्छ । शासक दलहरूले नेपाली विद्यार्थीहरूलाई सकी नसकी लाखौँ लाख तिरेर पढ्न बाध्य पारेका छन् । आफूले पढेको पढाइ, योग्यता, क्षमताको आधारमा युवाहरूलाई सरकारले काम दिन सकेको छैन । सरकारले उनीहरूलाई जबरजस्ती सस्तो ज्यामी, शिक्षित दासको रूपमा मन परी नपरी विदेशिन बाध्य पारेको छ । विदेशीको प्रभाव र दबाबमा काम गर्ने शासक दलहरूले नेपालको भूगोल, हिमाल, पहाड, तराई, नेपालको पहिचान, इतिहास, संस्कृतिलाई विश्वमा चिनाउने, माया गर्ने शिक्षालाई विस्तारै मेटाउँदै जाने नै भए । परिणामले यही देखिँदै आएको छ । एकातिर अहिलेका विद्यार्थीहरू म नेपालमै बस्छु, म सक्षम बन्न नेपालको धेरै लगानी छ, म यही नेपाली माटोमा मेरो रगत पसिना बगाउँछु भन्ने विद्यार्थी भेटाउन गा¥हो छ । कति विद्यार्थीहरू अष्ट्रेलिया, अमेरिका, बेलायत, जर्मनी, जापान, दक्षिण कोरिया आदि देशहरूमा जाने इच्छा व्यक्त गर्छन् । आजका विद्यार्थीहरूमा नेपालको भूगोल, हावापानी, इतिहास, संस्कृतिको बारेमा त्यति ज्ञान छैन । उनीहरू यसबारेमा अनभिज्ञता प्रकट गर्दछन् । यसको जिम्मेवार विदेशी प्रभाव र दबाबमा बसेका शासक दल, शिक्षक, प्राध्यापक, बुद्धिजीवीहरू हुन् । उनीहरूले प्राविधिक, व्यवसायिक, स्वास्थ्य क्षेत्रका विद्यालय, कलेज, विश्वविद्यालयहरूमा सम्बन्धित विषय र विदेशीको मात्र बखान गरेको तर नेपालको गौरव, भूगोल, इतिहास, संस्कृतिको बारेमा नसिकाएको परिणामले देखाएको छ । उनीहरू असल, देशभक्त, शिक्षक, प्राध्यापक, बुद्धिजीवी होइनन् । उनीहरू लाखौँ विद्यार्थीहरूलाई साँच्चैको नेपाली विद्यार्थी, देशभक्त, वीर बनाउन सक्थे । तर, उनीहरूले त्यो देशभक्ति काम गरेनन् ।
हुन त हाम्रा देशका अधिकांश नेता, प्रधानमन्त्री, मन्त्री, सांसदहरू हिजो शिक्षक, प्राध्यापक नै थिए । तर, उनीहरू म देशलाई प्रजातन्त्र दिन्छु, देश बनाउँछु भन्ने खालका शिक्षकहरू बन्न सकेनन् । उनीहरूले अरू बेला र निर्वाचनमा न देशमा व्याप्त विकृति तथा विसङ्गतिको बारेमा बताउने काम गरे न कम्युनिस्ट भनिएका दल र नेताहरूले कम्युनिस्ट सिद्धान्त तथा विचारअनुसार जनतालाई वर्ग र वर्गसङ्घर्ष, साम्राज्यवाद र नवउदारवाद, उपनिवेशवादबारे प्रशिक्षण दिएर शिक्षित पार्ने काम गरेका छन् । उनीहरूले न आफू अनुशासित, त्यागी, सिद्धान्तनिष्ठ चरित्र, आचरण, गौरवको सुपात्र बनेर देखाउन सके न उनीहरूले नेता, कार्यकर्ताहरूलाई सिद्धान्त, विचार, आचरण, अनुशासन, त्याग, कर्तव्यका ज्ञान दिएर, शिक्षित पारेर व्यवहारमा ल्याउन सके । उनीहरूले सङ्गठन, काम, कर्तव्य, अनुशासनबारे कार्यकर्ताहरूलाई सिकाएको देखिएन । उनीहरूले दल ठूलो बनाउने नाउँमा लुच्चा, फटाहा, घुस्याहा, भ्रष्टाचारी, तस्कर, अपहरणकारीजस्ता अपराधीहरूलाई पनि दलभित्र हुल्याए । उनीहरूले ठेकेदार, कालाव्यापारी, अरबपति, खरबपतिहरूलाई पनि सहयोग र चन्दा दिएको नाममा हुल्याए । यसबाट जीवनभर पार्टीको लागि, देशको लागि योगदान दिँदै आएका अनुशासित, इमानदार, कर्तव्यनिष्ठ नेता, कार्यकर्ताहरू छायामा पर्दै गए । पार्टी तथा दलमा यी कुपात्रहरूको नवप्रवेशी नेता, कार्यकर्ता भनिएकाहरूको हालिमुहाली चल्यो ।
आजका कति शासक दलका नेताहरू पहिले शिक्षक नै थिए । उनीहरू पञ्चायती व्यवस्थाबाट पीडित थिए । उनीहरू पञ्चायत र पञ्चहरूले गरेका अत्याचार, अन्याय, घुस, भ्रष्टाचार, हत्या, बलात्कार आदि काण्डका बारेमा विद्यालय र क्याम्पसमा विद्यार्थीहरूलाई बताउँथे । त्यसको विरुद्धमा उनीहरू विद्यार्थीहरूलाई सडकमा उतार्थे । उनीहरू विद्यार्थीहरूलाई भारतीय विस्तारवादले नेपालको सुस्तालगायत विभिन्न ठाउँमा गरेका भूमि अतिक्रमणको विरोधमा नेपालको आन्तरिक मामिलामा गरेको हस्तक्षेपको विरोधमा प्रशिक्षण दिन्थे र सडकमा उतार्थे । उनीहरूले विद्यार्थीहरूलाई अनुशासनमा बस्न, कर्तव्य निभाउन, त्याग गर्न र देशको लागि योगदान गर्न सिकाउँथे । नेपालको प्रजातन्त्रका लागि लडेका वीर सहिदहरू, नेपाली माटोलाई जोगाउन अङ्ग्रेजहरूको लोभ र धम्कीको अगाडि एक इन्च पनि नझुकी जीवनलाई बलिदान दिने वीर योद्धाहरूको बारेमा उनीहरू विद्यार्थीहरूलाई बताउँथे । त्यस्तै देशलाई आत्मनिर्भर बनाउन, कृषिको विकास गर्न, उद्योगहरू खोल्न, रोजगारीको व्यवस्था गर्न उनीहरूले विद्यार्थीहरूलाई प्रशिक्षण दिएर बैठक, सभा गरेर सडकमा उतार्थे । हिजो शिक्षक र प्राध्यापक हुँदा विद्यार्थीहरूलाई देखाएको बाटोमा आज सत्तामा पुगेपछि आफूहरू पनि हिँडेका भए, आज करोडौँ नेपाली जनता परिचालित हुनेछन्, आफ्नो मताधिकार प्रयोग गर्न अग्रसर हुनेछन् । आफूहरूले पनि त्यस अनुकूलको आचरण, व्यवहार, कर्तव्य निभाएर देश र जनताको सेवा गरेको भए नेपाल अगाडि बढेको हुन्थ्यो । समय अझै बाँकी छ । अब आउने निर्वाचनहरूमा शासक दल तथा नेताहरूले आफूलाई सच्याएर, सुधारेर निर्वाचनलाई करोडौँ नेपाली जनतालाई शिक्षित पार्ने विश्वविद्यालय बनाउनु जरुरी छ । आफूहरूले आफूहरूलाई देशको विकास गर्ने संस्कारमा लाग्न र जनतालाई त्यतातिर लगाउनु आवश्यक छ ।
Leave a Reply