निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
खुसी के हो ? खुसी कसरी हुन्छ भन्ने विषयमाथि बहस मानवजातिको अस्तित्व हुन्जेलसम्म भइ नै रहनेछ । अर्थात्, खुसीको परिभाषा सर्वस्वीकार्य कहिल्यै हुँदैन । तर, कहिलेकाहीँ साह्रै हलुका कुरामा पनि मानिसहरू खुसी भएको देख्दा आफू खुसी नै हुन नजान्ने मान्छेमा प¥यो कि जस्तो पनि भान हुने ।
सन्दर्भ हो, हालैमात्र बेलायतमा भारतीय मूलका एक व्यक्ति प्रधानमन्त्रीमा नियुक्ति । ऋषि सुनक भन्ने व्यक्ति बेलायतको प्रधानमन्त्री भएपछि भारतभरि खुसीको लहर छाएको छ । यिनीहरू खुसी हुनुको कारण भारतीय मूलका प्रधानमन्त्री भएको भन्दा पनि हिन्दू प्रधानमन्त्री भएर खुसी भएको कुरा यस्तै अर्को घटनाले पुष्टि गर्छ । भारतीयहरूमा गज्जबको विरोधाभाष छ । बेलायतको राजधानी लण्डनको मेयर पदमा एक मुसलमान सादिक खान निर्वाचित भएका थिए । सादिक खानका पुर्खा भारतको लखनउ निवासी थिए । तर, त्यतिबेला भारतीयहरूबीच यस्तो कुनै तामझाम थिएन । उनका मातापिता भारत विभाजनको समयमा पाकिस्तान बसाइँ सरे । खान परिवार पछि बेलायत पुगे । जबकि भारत र पाकिस्तानको विभाजन हुनुअघि ऋषि सुनकको पुर्खाको भूमि पाकिस्तानको हिस्सा थियो । उनका हजुरबुबा त्यहाँबाट केन्या गए । सुनकका आमाबुबा ६० को दशकमा फेरि बेलायत आए । आज सुनकलाई भारतीयहरू ‘भारतीय मूल’ का भनेर खुसीले गद्गद् छन् । भौगोलिक हिसाबले त ऋषि सुनकको पुर्खाको थलो अहिलेको पाकिस्तानमा पर्छ । यस हिसाबले सुनक पाकिस्तानी मुलको हो । अर्कोतर्फ सादिक खानको पुर्खाको थलो भारत हो । तर, भारतीयहरू खानलाई ‘भारतीय मूलका’ भन्दैनन् । भारतीयहरूको यो गज्जबको पाखण्डिपन हो । वास्तविकता के हो भने सुनकलाई हिन्दूको रूपमा लिइन्छ भने खानलाई मुसलमान । मोदी सरकार मुसलमानविरोधी छबि भएको हुनाले खानलाई भारतीय मूलका भनेर भन्न लाज मानेको हुनुपर्छ । कतिसम्म भारतीय समाजलाई धर्मको नाममा त्यो धर्मान्ध मोदी सरकारले विभाजन गरिसकेको रहेछ । अर्को कारण भारतीयहरूको मनको कुनामा लुकेको हीनताको भावना हो । ऋषिको समर्थनमा अङ्ग्रेजप्रतिको घृणा देखिन्छ ।
को हुन् ऋषि सुनक ?
ऋषि सुनक अक्सफोर्ड र स्ट्यानफोर्डजस्ता प्रतिष्ठित विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका एक ४२ वर्षका अनुभवी अर्थशास्त्री हुन् । उनी गोल्डम्यान साक्सजस्ता विश्वको सबैभन्दा ठूलो बैङ्किङ संस्थाहरूमा काम गरेका थिए । रूढिवादी राजनीतिमा प्रवेश गरेको १० वर्षभित्रै ऋषि सुनका दलक नेता र प्रधानमन्त्री बने । धेरै दिग्गज नेताहरूलाई पछि पार्दै युवा अर्थशास्त्री सुनकले प्रधानमन्त्री बोरिसको सरकारमा अर्थमन्त्रीको रूपमा काम गरे । उनी पनि अघिल्लो प्रधानमन्त्री बोरिस जोन्सनजस्तै अनुदार, पुरातनपन्थी नै हुन् । जात, रङ्ग वा समुदाय जुनसुकैबाट प्रतिनिधित्व गरे पनि उनी पुँजीवादकै प्रतिनिधि हुन् । त्यसमा पनि अझै बढी दक्षिणपन्थी तप्काका हुन् । उनी पुरातनवादी विचारका हुन् । केही विषयमा त उनी घोेर पुरातनवादीको रूपमा पनि चिनिन्छन् । बुझ्न सजिलोको लागि उनको तुलना राप्रपाजस्तो घोर पुरातनवादी पार्टीका नेताहरूसँग गर्न सकिन्छ ।
तीन पुस्ताअघि नै भारत छोडेको व्यक्तिको नाति सुनक एसियाली, भारतीय वा पाकिस्तानी होइनन् उनी नितान्त बेलायती हुन् । अब पाखण्डीहरू ऋषि नाम राख्यौ भन्दैमा हिन्दू भनेर ऋषि सुनाकको गुणगान गाउन थालेका छन् । संसद् हुँदा ऋषि सुनकले गीता छोएर सपथ लिएपछि भारतका हिन्दूहरू हर्षले गद्गद् भएका थिए । तिम्रो यो खुसी ‘मामाको घोडा मेरो हिहि’ जस्तै हो । ऋषि सुनकले बेलायतको हितमा मात्र काम गर्छन् । त्यस्तै परिस्थिति सिर्जना भयो भने भोलि ऋषि सुनकले बेलायतको स्वार्थका लागि नेपाली, भारतीय वा पाकिस्तानी जो कोही हिन्दूसँग लड्ने छन् । ऋषि सुनकले बेलायतको स्वार्थका लागि भारत, नेपाल, पाकिस्तानलाई लात हान्न पछि पर्ने छैनन् । कमला ह्यारी अमेरिकी उपराष्ट्रपति हुँदा पनि भारतीय मूलका भनेर केही मानिसहरू ‘मुतको न्यानोपन’ मा रमाए । कमला ह्यारीले भारतलाई के दिए ? यी पाखण्डीहरूलाई कहिले होश आउने ? ऋषि सुनकले काम गर्ने हिन्दूहरूको लागि होइन, बेलायत र बेलायतीहरूको लागि हो । पहिलो अश्वेत अमेरिकी राष्ट्रपति चुनिएपछि धेरैले ओबामाप्रति ठूलै सद्भाव देखाए तर उनीबाट व्यर्थमा आश गरे । बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएका भारतीय मूलका ऋषि सुनकमाथि पनि यही कुरा लागू हुन्छ ।
नेपालीहरूको पाखण्डीपन
नेपालमा पनि केही मानिसहरू क्रिश्चियन मुलुक बेलायतमा हिन्दू प्रधानमन्त्री भएकोमा खुसी भएका छन् । हामी नेपाली उफ्रिनु भारतीय हिन्दूको अन्धो अनुयायी हुनु हो । के क्रिश्चियन देशमा हिन्दू नेता प्रधानमन्त्री नियुक्त हुनु नेपाली जनताको ठूलो उपलब्धि हो ? वास्तवमा हाम्रो लागि उनको चयन ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ जस्तै हो ।
हामीमा रहेको पाखण्डीपनको अर्को एउटा सन्दर्भः भर्खरैमात्र भारतीय सिने कलाकारहरू हिन्दी सिनेमा ‘उँचाइ’ को छायाङ्कनमा नेपाल आएका थिए । उक्त सिनेमामा अमिताभ बच्चन, डेनी, अनुपमखेरले नेपाली ढाका टोपी लगाए भनेर पटमूर्ख नेपालीहरू खुसी मनाइरहेका छन् । नेपाली टोपी एकछिन लगाउँदैमा नेपालीहरू यति धेरै खुसी हुनपर्छ ? नेपाललाई व्यापार घाटामा पारेर कङ्गाल बनाउने, सीमा मिच्ने, नेपालको राजनीतिमा सूक्ष्म व्यवस्थापन गर्ने, हेप्नेभन्दा भारतले नेपाललाइ के गरेको छ ? त्यसैगरी, अमेरिकी राष्ट्रपति जो बाइडनले दिपावली मनाए भनेर नेपालीहरू खुसी भए । आफ्नो देशको संस्कृति धरापमा परिसकेको होस छैन, अरूले दीपावली मनाए भनेर खुसी हुनु पाखण्डीपनको पराकाष्ठा हो । अमेरिकी राजदूतले दसैँको टिका लगाएको फोटो फेसबुकमा राखेर खुसी हुनेहरू पनि नेपाली नै हुन् !
हाम्रो देशमा महिला राष्ट्रपति हुँदा थुप्रै महिला खुसी भए । तर, महिलाको अवस्थामा के सुधार भयो ? तराई मूलका राष्ट्रपति भए भनेर तराईवासी खुसी भए तर तराईवासीको जीवनमा कुनै परिवर्तन आयो ? नेता युवा भएकोमा खुसी भएर के गर्ने ? युवा नेता गगन थापाले मागेर देश चलाउने कुरा गरे । मुख्य कुरा उक्त व्यक्तिले कुन वर्गको सेवा गर्छ, खुसी त्यसमा भरपर्नु पर्छ । कसैको कारणले समग्र समाजको भलो हुन्छ भने त्यो अवस्थामा खुसी हुनु मनासिब हुन्छ । भनिन्छ, भावनात्मक सम्बन्ध मानवीय गुण हो । यसो भन्दै ‘गोरु बेचेको साइनो’ राखेर खुसी हुन्छ भने त्यो ‘मुतको न्यानो’ हुनेछ ।
Leave a Reply