भर्खरै :

गठबन्धन र तालमेल स्वच्छ राजनीति होइन

निर्वाचन नजिकिएसँगै चुनावी चर्चा परिचर्चा हुन थालेको छ । निर्वाचन आयोगको आचारसंहिताअनुसार अहिले खुला सभा राख्न नपाउने व्यवस्था भएको हुँदा भेटघाट र घरदैलो कार्यक्रम भइरहेको छ । दलहरूले आ–आफ्नो अपिल, चिनापर्ची तथा घोषणापत्र बाँड्ने या कार्यकर्तासमक्ष पु¥याउने काम गरिरहेका छन् । जनताले पनि घर आँगन, चोक, चौतारा र पसलहरूमा कस्ता दलका उम्मेदवारलाई मतदान गर्ने भन्नेबारे छलफल, बहस, अन्तरक्रिया तथा विचारविमर्श गर्न थालेका छन् । जनतामा चुनावप्रति चासो बढ्न थालेको छ । कुन दलका कस्ता उम्मेदवारलाई जिताउने भन्नेतर्फ जनताले सही मूल्याङ्कन गर्नुपर्छ । जनताका असल उम्मेदवार जिताउने जिम्मेवारी आम मतदाताको हो । यसमा जनता चुक्नु हुँदैन । हाल सत्तासीन दल र ठूला दलका नेताहरूमा गठबन्धन र तालमेल भएका छन् । गठबन्धन र तालमेल स्वच्छ राजनीतिको लागि होइन, सत्तामा पुग्नकै लागि हो । यसमा कुनै सन्देह छैन ।
सत्तारुढ दलका नेताहरूले प्रजातन्त्रलाई जीवनपद्धतिको रूपमा विकास गरेनन्, सङ्घीय गणतन्त्रलाई संस्थागत गर्न चाहेनन् । बरु उनीहरूले गणतान्त्रिक व्यवस्थालाई बदनाम गर्ने काम गरे । हरेक दलले आ–आफ्नो दलको सिद्धान्त र विचारलाई पाखामा थन्काएर जसरी भए पनि जित्ने राजनीति गरे । ती दलका नेताहरू पद लोभी भए, पैसा र बलको राजनीतिमा केन्द्रित भए । राजनीतिक मूल मर्म र मान्यतालाई बन्धकमा राखे । स्वच्छ राजनीति भएन । सिद्धान्त, विचार, आस्था, निष्ठा र विश्वासमा उनीहरूले लात मरे । शासक दलका नेताहरू शक्ति, पैसा र झूटा आश्वासनमा केन्द्रित भए । असल, देश र जनताप्रति समर्पित उम्मेदवार जिते भ्रष्टाचार गर्दैन, जनतालाई विश्वासघात गर्दैन, लोभलालचमा फस्दैन । आफ्नो दलको सिद्धान्त, विचार र घोषणापत्रअनुसार उनीहरू काम गर्थे । गलत व्यक्ति जितेमा यसको ठीकविपरीत भ्रष्टाचार हुन्छ, अनियमितता बढ्छ । देश र जनताको लागि भ्रष्टाचार र अनियमितता गर्ने उम्मेदवार आवश्यक छैन । निर्वाचित हुने हरेक उम्मेदवारहरू असल, चरित्रवान, इमानदार, निःस्वार्थी, देश र जनताप्रति समर्पित हुनुपर्छ ।
जनताले असल, इमानदार, निःस्वार्थी र देश र जनताप्रति जिम्मेवार व्यक्तिहरूलाई मतदान गरेर जिताउनुपर्ने हो । स्वच्छ राजनीति नभएसम्म देशले प्रगति गर्न सक्दैन, देशले मुहार फेर्न सक्दैन । दलभित्र चाकडीले मान्यता पायो । राजनीतिक संस्कार विकास भएन । नेताहरू पदका लोभी भए । सांसद बनेपछि मन्त्री बन्नैपर्ने र मन्त्री बनेपछि उपप्रधानमन्त्री बन्नैपर्ने पदको विकास भयो । जीवनमा एकचोटि मन्त्री बन्नैपर्ने स्थितिमा नेताहरू पुगे । तिनीहरूले पद दुरूपयोग गरेर अकुत सम्पत्ति कमाए । यसकारण, अब हुन गइरहेको निर्वाचनमा असल र देशभक्त उम्मेदवारलाई जिताउन कम्मर कस्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *