भर्खरै :

ढुंगा काट्न खोज्दा खुकुरीको धारै बांगिन्छ

भक्तपुर, ९ भाद्र । “नेपाल मजदुर किसान पार्टीको सक्रियता, सिद्धान्तनिष्ठता र जनताको सेवा गने निस्वार्थ भावदेखि चिढीएर तत्कालीन पञ्चायती व्यवस्थाले भक्तपुर काण्ड मच्चाएको हो । हामीले निरन्तर भारतीय विस्तारवादले नेपाल र अन्य छिमेकी देशको सार्वभौमिकतामाथिको हस्तक्षेपको विरोध ग¥यौं । जनमत संग्रहको उपयोग गरेर बहुदलको पक्षमा जनमत सिर्जना ग¥यौं । पञ्चायतभित्र घुसेर पनि जनताको सेवा ग¥यौं । त्यसकारण तत्कालीन नेपाल मजदुर किसान संगठन देखेर पञ्चायती व्यवस्था र भारत रुष्ट थियो । त्यसैको परिणामस्वरुप नेमकिपालाई समूल नष्ट गर्ने उद्देश्यले पञ्चायतले राज्यस्तरको भक्तपुर काण्ड मच्चाएको थियो । तर खुकुरी जतिसुकै धारिलो भएपनि ढुंगा काट्न खोज्दा धारै बांगिन्छ भने जस्तै नेमकिपालाई सिध्याउन खोज्दा कालान्तरमा पञ्चायती व्यवस्था आफै सिद्धियो ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले शुक्रबार नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर जिल्ला समितिद्धारा कालो दिवस (भाद्र ९)को अवसरमा आयोजित भक्तपुर काण्डको भत्र्सना तथा विरोध कार्यक्रममा प्रस्तुत गर्नुभएको हो ।
अध्यक्ष बिजुक्छेले भक्तपुुर काण्डको स्मरण गर्दै राम्रा मान्छे राजनीतिमा नलागे नराम्रा मान्छेहरु राजनीतिमा हावी हुने र राजनीतिलाई शोषण र दमनको हतियार बनाउने बताउनुभयो । भक्तपुर काण्डको समयमा भक्तपुरका महिला दिदीबहिनीहरुले देखाउनु भएको साहस र तदारुकताको स्मरण गर्दै उहाँले दुःख भनेको एकपटक मात्र नभई पटक पटक आइपर्ने हुँदा समस्याको बेला अत्तालिएर नभई संगठित भई अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले भारतले एकतर्फीरुपमा बाँध बनाउँदा नेपालको तराई भूभाग डुबानमा परेको बताउँदै नेपाल सरकारले भारतसंग बाँध भत्काउन माग नगर्नु दुखको कुरा भएको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले तत्कालीन समयमा राष्ट्रिय पञ्चायतले गर्न नसकेको काम भक्तपुर नगर पञ्चायतले गरेको हुँदा पञ्चायतको निम्ति नेमकिपा आँखाको कसिंगर बनेको हुँदा षड्यन्त्र भएको बताउनुभयो । भूकम्पबाट घाइते भएकाहरुको उद्धार कार्यलाई तत्काल तीव्रता दिन र राहत वितरण गर्न पार्टी नेतृत्वले दिएको निर्देशन बमोजिम नै नगर पञ्चायतले १ लाख रुपैया निकासा गरी काम अघि बढाएको सचिव सुवालले स्मरण गर्नुभयो । उहाँले प्रधानमन्त्री, मन्त्रीलगायतका व्यक्तिहरु नै अदालतले निर्णय नसुनाउँदै “फाँसी दे” भन्दै शवयात्रामा सहभागी हुनु आफैमा षड्यन्त्रको पुष्टि भएको बताउनुभयो ।
त्यस्तै नेपाल क्रान्तिकारी महिला संघका अध्यक्ष एवं सांसद अनुराधा थापामगरले नेमकिपाले व्यक्तिगत स्वार्थ मेटाएर देश र जनताको सेवा गर्ने काम गरेकै कारणले पूँजीवादी पार्टीहरुको निम्ति नेमकिपा बाधक भएको बताउनुभयो । उहाँले पञ्चायती व्यवस्था ढले पनि ठूला दलहरुमा अहिले पनि पञ्चायती स्वभाव बाँकी रहेको बताउनुभयो । राजनीतिक दलमाथि थ्रेसहोल्ड कायम गरी पूँजीवादी पार्टीहरुले अहिले पनि निर्दलवादी मानसिकतामा काम गरेको उहाँले बताउनुभयो । पार्टी विचार र सिद्धान्त अनुसार चल्ने बताउँदै उहाँले देशको सार्वभौमिकतामा आँच आउँदा मौन बस्ने पार्टीहरु मतपरिणाम बढी आउँदैमा कुनैपनि हालतमा राष्ट्रिय पार्टी हुन नसक्ने बताउनुभयो ।
नेक्रामसंघ केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानले भक्तपुर काण्डको स्मरण गर्नुहुँदै पञ्चायतका मतियारहरुले भक्तपुरमा एक किसिमको श्वेत आतंक मच्चाएको बताउनुभयो । उहाँले पञ्चहरुले भक्तपुरका महिला दिदीबहिनीहरुलाई मानसिक यातना दिने, घरका सन्दुक फोडेर गहना पैसा लुटेर दुःख दिने गरेको बताउनुभयो । भक्तपुरको घटनालाई लिएर नेमकिपाको संगठन भएका भक्तपुर बाहेकका जिल्लामा पनि धरपकड गरेको, शनिबारको दिन सर्जमिन गरेको, एक साधारण व्यक्तिको मृत्युमा समेत देशका उच्च पदस्थ प्रधानमन्त्री, मन्त्रीहरु सहभागी भएको बाट भक्तपुर काण्ड राज्यस्तरबाटै रचिएको षड्यन्त्र भएकोमा दुईमत नरहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष कमलमैया सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष एनबी फोजू, नेमकिपा मध्यपुर नगर अध्यक्ष सूर्यराम थाश्रेष्ठ र मीना प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *