भर्खरै :

विदेशीलाई नेपाली नागरिकता बाँड्नु गलत

विदेशीलाई नेपाली नागरिकता बाँड्नु गलत

नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्र २०७९ मा नागरिकता विधेयकको बारेमा सङ्क्षेपमा यस्तो लेखिएको छ– “२०६३ सालको नागरिकता ऐनअनुसार जन्मको आधारमा विदेशीहरूलाई दिइएको नेपाली नागरिकता खारेज गर्नु जरुरी छ । जन्मको आधारमा नेपाली नागरिकता पाएकाका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने विधेयकको व्याख्या देशलाई सिक्किमजस्तै बनाउने पाइला हो ।
विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका छोराछोरीलाई विदेशी नागरिकता नलिएको स्वघोषणा गराएर अङ्गीकृत नेपाली नागरिकता दिने व्यवस्थाले पनि देशलाई सिक्किमको बाटोमा लैजाने खतरा छ ।
भारतसँग सीमा खुला भएको हुँदा नेपालभित्र फेला परेका पितृत्व र मातृत्व ठेगान नभएकालाई वंशजको नेपाली नागरिकता दिने तथा विदेशी नागरिकता यथावत् राख्न लगाई गैरआवासीय नेपाली नागरिकता दिने विधेयकको व्यवस्था पनि देशको हितमा छैन ।
यसकारण, देशघाती एमसीसी सम्झौता र नागरिकता विधेयकको समर्थन गर्नेहरू देशभक्त हुन सक्दैनन् । त्यसको विरोधमा हाम्रो पार्टीले अघि बढाएको सडकमा देशव्यापी भत्र्सना तथा सदनमा भएको सङ्घर्ष कार्यक्रमले जनतामा छाएको निराशाको कालो बादल चिर्न सकारात्मक स्थिति तयार पारेको अनुभव गरिँदै छ ।”
२०६३ सालमा संसद्मा नागरिकता विधेयक पेश हुँदा त्यसको विरोधमा नेमकिपाका एकमात्र सांसद नारायणमान बिजुक्छेँले ‘हुन्न’ भन्नुभएको थियो । एकजना मात्रले ‘हुन्न’ भनेको सुनेर ‘हुन्छ’ भन्ने सत्ता पक्षका सांसदहरू सदन गुन्जिने गरी हाँसेका थिए । त्यो हाँसोको परिणाम अब बिस्तारै देखिँदै छ । त्यसबेला तीन जनाले ‘यो व्यक्ति यहाँ जन्मेको हो’ भनी सही गरेको सरजमिनको आधारमा भटाभट ४० लाख विदेशीलाई नागरिकता दिइएको थियो । त्यसरी सजिलैसित नागरिकता पाएकाका छोराछोरीलाई अब वंशजको नागरिकता दिन लाग्दै छ– सरकार । यसले ती विदेशीका छोराछोरीहरूले पछि गएर सम्पूर्ण राजनैतिक अधिकार प्रयोग गर्नेछन् । अर्थात्, राष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापतिलगायत निजामती कर्मचारीका उच्च पदमा समेत पुग्नेछन् । त्यसबेला नेपाल नेपालीको जस्तो हुनेछैन । त्यस्तो घडी नआउँदै नेपाली जनता सचेत हुनुपर्छ । त्यो सचेतता प्रदर्शन गर्ने उत्तम अवसर भनेको निर्वाचन नै हो । त्यस्तो देशघाती नागरिकता विधेयकका पक्षधर शासक दलका उम्मेदवारहरूलाई जनस्तरबाट मत नदिई दण्ड दिने बेला यही निर्वाचन हो ।
यो नागरिकता विधेयकको राजनीतिक खतरा जति डरलाग्दो छ, त्यतिकै डरलाग्दो अवस्था सामाजिकरूपमा पनि छ । विधेयकमा पितृत्व र मातृत्व ठेगान नभएकालाई वंशजको नागरिकता दिने भनिएको छ । यसले नागरिकता पाउन आमा बाबु ठेगान नभए पनि हुने भयो । यसले के वेश्यावृत्तिलाई प्रश्रय दिँदैन ? के वेश्यावृत्ति नेपाली समाजले स्वीकारेको संस्कार हो ? सरकार अघोषितरूपमा वेश्यावृत्तिलाई मान्यता दिन खोज्दै छ ।
नेपाली समाजमा आफूलाई महिला अधिकारकर्मी भन्नेहरू महिला शरीरको अधिकार महिलाकै हुन्छ भन्दै कुमारी चेलीले पनि आमा बन्न पाउनुपर्छ भन्दै छन् । कुमारी आमा बन्ने भनेको कुसंस्कार हो । यसले समाजलाई अधोगतिमा झार्नेछ । मातृत्व पितृत्व ठेगान नभएकालाई वंशजको नागरिकता दिने भन्ने विधेयकको अन्तर्य यही हो ।
सरकारको एउटा गलत नीतिले देशलाई कसरी बिगार्छ भन्ने कुरा नेका अर्थमन्त्री रामशरण महतले हरेक निर्वाचन क्षेत्रबाट २–२ सय युवालाई वैदेशिक रोजगारीमा पठाउने नीति तय गर्दा अहिले देश युवाविहीन हुँदै छ । उर्वर भूमि उजाड हुँदै छ । खाद्यान्न, सागसब्जीसमेत विदेशबाट आयात गर्नुपर्ने भएको छ ।
अब वंशजको नागरिकता पाउन आमा बाबु नै नचाहिने भएपछि भविष्य कस्तो भयावह होला, विषय अत्यन्त गम्भीर छ । यो गम्भीरता आम नेपाली नागरिकले बुझ्न आवश्यक छ । यसले मातापिताप्रति सामाजिक मूल्य मान्यतामा ठूलो ¥हास आउनेछ । यो सामाजिक विकृतिको जड यही नागरिकता विधेयक हुनेछ । त्यसैले, सामाजिक र राजनीतिकरूपले गम्भीर र खतराको सङ्केत गरिएको यो नागरिकता विधेयक खारेज गर्न अनिवार्य छ । अन्यथा, यसले हाम्रा चेलीबेटीहरू छाडा भई निस्केमा त्यसलाई समाजले नियन्त्रण गर्न सक्नेछैन ।
नेमकिपाको घोषणापत्रमा भनेजस्तै नेपाल–भारत सीमा खुला रहेको वर्तमान अवस्थामा संसारकै दोस्रो ठूलो जनसङ्ख्या भएको भारतबाट आएका उमेर पुगेका जोकोहीले पनि भोलि वंशजको नागरिकता पाउन सक्नेछन् । विदेशीले नागरिकता पाउनु भनेको नेपाली नागरिकको अधिकार खोस्नु हो ।
भोलि अधिकार खोसिएपछि समाजमा विकृति व्याप्त भएपछि पछुताउनुको कुनै अर्थ रहँदैन । अहिले नै बुद्धि पु¥याउन आवश्यक छ । त्यो बुद्धि पु¥याउने बेला यही निर्वाचनमा हो । देशलाई घात गर्ने नागरिकता विधेयकका पक्षधर शासक दलका उम्मेदवारहरूलाई छानी छानी हराउने बेला यही हो । यसैमा आम नेपाली मतदाताको हित छ† देशको हित छ चेतना भए ।
नेपाली चेलीको भारतीय नागरिकसँग बिहे भई सन्तान भएमा ती नेपालका भान्जाभान्जीहरूले पनि भारतीय नागरिकता नलिने स्वघोषणा गरी नेपाली नागरिकता लिन सक्नेछन् । नेपाली चेलीले त्यहाँ नागरिकता पाउन सात वर्ष कुर्नुपर्ने तर भारतीय चेली नेपाली नागरिकतासँग बिहे गरे भोलि नै नेपाली नागरिकता दिने व्यवस्था पक्षपातपूर्ण छ । भारतीय भान्जाभान्जीलाई नेपाली नागरिकता दिने व्यवस्था पनि देशघाती नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *