भर्खरै :

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

इस्लामावाद, ३ नोभेम्बर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पूर्वी सहर वजिराबादमा एउटा विरोध जुलुसको क्रममा गोली प्रहार गरी हत्याको प्रयास गरिएको छ ।
उनको दल पीटीआईका सदस्यहरूले थप चारजना घाइते भएको बताएका छन् ।
उक्त घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ । खानको गोडाको कुन भागमा गोली लागेको भन्ने स्पष्ट छैन । तर उनका एकजना सहयोगीले उनी खतरामा नरहेको बताएका छन् ।
सत्तरी वर्षीय खान चुनावको माग गर्दै विरोध ¥यालीमा सहभागी भइरहेका थिए ।
एएफपी समाचार संस्थासँग बोल्दै उनका वरिष्ठ सहयोगीले भने, “यो उनको हत्या गर्ने प्रयास थियो ।”
पूर्वप्रधानमन्त्री खानमाथि गरिएको गोली प्रहारको घटनाको प्रधानमन्त्री शहबाज शरिफले निन्दा गरेका छन् ।
प्रधानमन्त्रीले गृहमन्त्रीलाई घटनाबारे तत्काल रिपोर्ट पेस गर्न निर्देशन दिएका छन् । पाकिस्तानको जीओ टेलिभिजनका अनुसार एक सन्दिग्ध पुरूषलाई पक्राउ गरिएको छ ।
खानलाई उपचारको लागि लाहोरको अस्पतालमा लगिएको छ ।
पार्टीका एकजना प्रवक्ताले उनलाई पिडौँलामा चोट लागेको बताए ।
पार्टीकी नेत्री तथा प्रादेशिक स्वास्थ्यमन्त्री यास्मीन रशिदले खानको अवस्था स्थिर रहेको जानकारी दिइन् ।
गत महिना पाकिस्तानको निर्वाचन आयोगले खानलाई सार्वजनिक पदको लागि अयोग्य ठहर गरेको थियो ।
त्यसलाई पूर्वक्रिकेटर समेत रहेका खानले राजनीतिकरूपमा अभिप्रेरित भएको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *