भर्खरै :

सैतीसौं तःमुंज्या सफल पार्न महिला तथा दाफा–भजन समूहको भेला

भक्तपुर, १० भदौ । ३७ औं नेपाल भाषा साहित्य तःमुज्या भव्य रूपमा सफल पार्न भनपा ५ नं. वडाका महिलाहरूको एक भेला शनिबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगपालिकाका प्रमुख सुनिल प्रजापतिले आजको युगमा महिलाहरू शिक्षा, सीप तालिम, क्षमता अभिवृद्धि र आफ्नो भाषा संस्कृति बचाउन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भक्तपुर नगरपालिकामा जनप्रतिनिधिहरू निर्वाचित भएर आएपछि घोषणापत्र अनुसार नगरको शिक्षा, स्वास्थ्य सेवा, सम्पदा तथा संस्कृति बचाउन गर्दै आएको र आगामी दिनमा नगरपालिकाले गर्ने गतिविधिबारे जानकारी दिनुभयो ।
नेपालभाषा सहित्य तःमुज्याका मूगुठीका सचिव तथा नेमकिपा जिल्ला समितिका सदस्य सुरेन्द्रराज गोसाईले तःमुंज्याको सुरूवात, महिलाहरूले अध्ययन गर्नुपर्ने तथा नियमित रूपमा भेला राख्नु पर्ने, नेपाल भाषाको महत्व तथा संरक्षणको आवश्यकता, महिलाहरूले सिकाईमा ध्यान दिनुपर्ने र राजनीतिक चेतनाको आवश्यकताबारे प्रकाश पार्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका जिल्ला अध्यक्ष कमलमाया सुवालले राज्यस्तरबाट रचिएको भक्तपुर काण्डबारे बताउनुभयो ।
तःमुज्या ग्वसाःखलका संयोजक बलराम सिबन्जारको सभापतित्वमा सम्पन्न उक्त भेला कार्यक्रम सरस्वती सिंख्वाल, नेपाल क्रान्तिकारी महिला संघ भनपा वडा नं ५ का अध्यक्ष कृष्णप्यारी जधारी र सुशीला न्याइच्याईले पनि बोल्नुभएको थियो ।
त्यस्तै ग्वसाखलको आयोजनामा वडा नं. ४ र ५ का दाफा, भजन, बाजा र नृत्य समूहको भेला पनि शनिबार सम्पन्न भयो ।
भेलामा नेपालभाषा साहित्य तःमुंज्या मूल गुठीका अध्यक्ष चन्द्रबहादुर उलकले कामदार वर्गका साहित्यलाई उत्थान गर्नु नेपालभाषा साहित्य तःमुंज्याको लक्ष्य रहेको बताउनुभयो । भाषा आन्दोलनसँगसँगै राजनैतिक आन्दोलन अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले टोल टोलमा रहेका दाफा, भजन, बाजा र नृत्य समूहहरूको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो ।
दाफा, भजन र बाजा समूहका अग्रजहरूले तःमुंज्यालाई कार्यक्रममा सुझाव दिएका थिए । भेलामा ग्वसाखलका उपाध्यक्ष राजेन्द्र चवाल र कोषाध्यक्ष पुरूषोत्तम तमखूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *