भर्खरै :

भारतीय नम्बर प्लेटको गाडीमा चुनावी प्रचार फोटो खिच्दा मोबाइल खोसेर फोटो मेट्न लगाइयो

बुटवल, २२ कार्तिक । निर्वाचन आचारसंहिता उल्लङ्घनको प्रमाणको लागि खिचेको फोटो प्रहरीकै उपस्थितिमा मेट्न (डिलिट गर्न) लगाइएको छ ।
मङ्गलबार कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित पकडी बजारमा सत्तारूढ गठबन्धनको माओवादीका प्रतिनिधिसभा सदस्य उम्मेदवार चक्रपाणी खनाल बलदेव र नेपाली काङ्ग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार सहसराम यादवको निर्वाचन प्रचारको लागि प्रयोग गरिएको गाडीको फोटो खिच्दा उक्त फोटो मेट्न लगाइएको हो । भारतीय नम्बर प्लेटको उक्त गाडीमा माओवादीका बलदेव र काङ्ग्रेसका उम्मेदवार यादवको स्टिकर टाँसिएको थियो ।
नेपाल मजदुर किसान पार्टीको चुनावी प्रचारमा गएको टोलीका सदस्यहरूले चुनाव प्रचार सामग्री रहेको भारतीय नम्बर प्लेटको गाडीको फोटो खिच्दा घम्साघम्सी भएको थियो । माओवादीका बलदेव र काङ्ग्रेसका यादवको प्रचारमा आएको टोलीका सदस्यहरूले फोटो खिचेको मोबाइल खोसेका थिए । उक्त घटनालगत्तै स्थानीय प्रहरी कार्यालयमा दुवै पक्षको छलफल भएको थियो । छलफलमा निर्वाचन आचारसंहिता उल्लङ्घनको लागि खिचिएको फोटो मेट्न बाध्य पारिएको थियो ।
पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तुको सीमा क्षेत्रमा निर्वाचन प्रचारमा भारतीय नम्बर प्लेटका गाडीहरू अत्यधिक प्रयोग हुँदा पनि प्रहरी प्रशासन मौन बसेको जनगुनासो छ । निर्वाचन आचारसंहिताको दफा १४ ले विदेशी गाडी प्रयोग गर्न रोक लगाएको छ भने उक्त दफाको उपदफा २ ले त्यस्तो प्रयोग गरेको अवस्थामा तत्काल प्रहरी कारबाही गर्ने व्यवस्था छ । चुनाव प्रचारको लागि पम्पलेट तथा स्टिकर बनाउन, टाँस्न निर्वाचन आचारसंहिताले प्रतिबन्ध लगाएको छ । तर, कपिलवस्तुमा निर्वाधरूपमा पम्पलेट र स्टिकर टाँसिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *