भर्खरै :

संसद् नीति, नियम र विधेयक निर्माण गर्ने थलो

संसद् नीति, नियम र विधेयक निर्माण गर्ने थलो

भक्तपुर, २२ कार्तिक । चुनाव घोषणापत्रको लडाइँ हो । यो वर्गसङ्घर्ष पनि हो । संसद् र प्रदेशसभामा नीति, नियम र विधेयक निर्माण गर्न छलफल हुन्छ । देशको परराष्ट्र नीति तयार पार्ने थलोको रूपमा पनि संसद्लाई लिने गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा शासक दलहरूले आफ्नो घोषणापत्र र चुनावी सभाहरूमा विकासे नाराहरू भट्याउनु मतदातालाई झुक्याउने काम हो । निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, स्वदेशमै रोजगारीजस्ता मौलिक अधिकारका प्रावधानहरू संसद् र प्रदेशबाट पारित गर्नसकेको खण्डमा नेपालका सबै क्षेत्रका जनताले ठूलो राहत पाउने छन् ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव एवम् भक्तपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार प्रेम सुवालले स्थानीय देगमनामा भएको चुनावी सभामा सोमबार व्यक्त गर्नुभएको हो ।
ऊर्जा र खाद्यान्नमा आत्मनिर्भरताको नीति संसद्बाट पारित भएमा देशको निम्ति आवश्यक बिजुली, इन्धन, दाल, चामल तरकारी आदि देशभित्रै उत्पादन गर्ने काम हुन्थ्यो । क्रान्तिकारी भूमिसुधार हुन्थ्यो, उद्योग, कलकारखानाहरू देशभित्रै विकास हुन्थ्यो । एक दुई जनासँग मात्रै पैसा थुप्रिनु पुँजीवाद हो । सित्तैमा आएको पैसा किन नलिने भन्दै आफ्नो कार्यकर्तालाई भोज खुवाएर, पेट्रोल, मोबाइल र सामानहरू दिएर मतदाता किन्ने काम गलत हो । देश परनिर्भर बन्दै गएकोमा ती शासक दलहरू जिम्मेवार छन्, सचिव सुवालले भन्नुभयो ।
“सिद्धान्त र विचार बोकेको पार्टीले बेग्लै सिद्धान्त र विचार बोकेको पार्टीको चिह्नमा भोट हाल्न लगाउनु मतदातालाई दासजस्तै बनाउनु हो । शासक दलमा हाबी भएको सामन्ती प्रवृत्ति परास्त गर्नकै लागि सिद्धान्तनिष्ठ पार्टी नेमकिपा आवश्यक छ ।”, उहाँले जोड दिनुभयो ।
भक्तपुरको प्रदेशसभा क्षेत्र नं. १ (२) का प्रत्यक्ष उम्मेदवार एवं नेमकिपा भक्तपुरका जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले स्थानीय चुनाव सकिनासाथै देश र जनताको निम्ति नेमकिपा आन्दोलनमा लागिरहेको बेला शासक दलका उम्मेदवारहरू कहाँ गए ? एमसीसी र नागरिकता विधेयक पारित गर्दा उनीहरू के गरिरहे भनी जनताले सोध्नुपर्छ भन्नुभयो ।
“शासकहरूले साम्राज्यवादसामु आत्मसमर्पण गरे । त्यसैले हाम्रो झगडा यहाँका ती दलका कार्यकर्ताहरूसँग होइन, तिनीहरूका नेता, अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोधमा हो ।”, उहाँले भन्नुभयो ।
नेका, एमाले र माओवादी पार्टीका उम्मेदवारहरूलाई भोट दिनु नैतिकता, इमानदारिता र स्वाभिमान बेच्नु सरह हुने भएकोले यसपालि छाप हाल्दा नेमकिपाको मादल चिह्न नै रोज्न उहाँले जोड दिनुभयो ।
उहाँले प्रचण्डको टाउकोको मूल्य तोक्नेसँग साठगाँठ गरी चुनाव लड्न तम्सनु अस्वाभाविक, अस्वस्थमात्रै होइन अप्रजातान्त्रिक पनि हो भन्नुभयो ।
नेमकिपाका स्थानीय रामसुन्दर खाताखोको सभापतित्वमा भएको उक्त चुनावी सभामा नगर पार्टी, चुनाव परिचालन समिति संयोजक लक्ष्मीभक्त लासिवाले पनि बोल्नुभएको थियो । सभामा चुनावी गीत पनि गाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *