सिद्धान्त र विचार नै दललाई चिन्ने आधार
- बैशाख ९, २०८३
दलको राजनीति सिद्धान्त, विचार र दर्शनको आधारमा चलेको हुन्छ । सिद्धान्त र दर्शनमा चिप्लेका दलका नेताहरूले देशको मात्र होइन दलको पनि दिशानिर्देश गर्न सक्दैनन् । सिद्धान्त र विचारको ठेगान नभएपछि दिशा निर्देश कसरी हुन्छ ? ती दलका नेताहरू सत्तामा नपुग्दा एउटा र सत्तामा पुगेपछि अर्काे भाषा बोल्छन् । दलको सिद्धान्त र विचार सत्तामा पुग्दा एक थरी र सत्तामा नहुँदा अर्काे थरीको हुँदैन । कम्युनिस्टहरू सरकारमा भए पनि नभए पनि आमूल परिवर्तनको निम्ति काम गर्छन् । किसानहरूको घर बस्तीमा होस् या कलकारखानामा दलको सिद्धान्त र विचार उनीहरूमाझ पु¥याउने काम हरेक कम्युनिस्ट पार्टीले गर्नुपर्छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सिद्धान्त र विचारमा होइन गठबन्धनमा केन्द्रित भएको छ । निर्वाचनपछि गठबन्धनको सरकार बने पनि त्यो सरकारले ठोस मार्गचित्र दिन सक्दैन । सरकार गठनमा पनि भागबन्डा हुन्छ । भागबन्डामा अल्झेको सरकारले कसरी गति प्रदान गर्ला ? त्यो बेला सरकार गठनमा नै झै – झमेला हुन्छ या विवादको कारण मन्त्रिमण्डल गठनमै समस्या हुन्छ । मन्त्रालय बाँडफाँट नमिलेर विगतमा पनि महिनौँसम्म सरकारले पूर्णता नपाएको हाम्रोसामु छर्लङ्ग छ । गठबन्धनमा सामेल आफ्नै दलभित्र मन्त्री भाग छुट्याउँदा विवाद उत्कर्षमा पुगेको थियो । अनि कुन दलले कुन कुन मन्त्रालय कति जनालाई बाँड्ने भन्नेमा अर्काे विवाद हुन्छ । यस्तै यस्तै विवाद सरकारको नीति तथा कार्यक्रममा पनि हुन्छ ।
आकाश – पातालको फरक विचारसित गठबन्धन गर्दाको नतिजा पनि त्यस्तै भद्रगोल हुन्छ । यस्तो भद्रगोलको सरकार र भद्रगोलको राजनीति अझै जनताले कति सहेर बस्ने ? गठबन्धनको यो राजनीतिले अब गठन हुने सरकार झन् भद्रगोल हुनेमा शङ्का छैन । के फेरि हामी भद्रगोलको सरकार बनाउन लाग्ने ? विगतको गठबन्धनको राजनीतिबाट पाठ नसिक्ने ? झन्डै दुईतिहाइ मत प्राप्त सरकार पहिले बनेकै थियो । गठबन्धन गरेर निर्वाचन लडेकै थियो । पछि पार्टी एक पनि भयो । तर, अन्ततः ती नै पार्टी फुट्यो । पार्टी अलग्ग अलग्ग भयो र सरकार पनि गुम्यो । ठूला दलहरूको नेतृत्वमा भइरहेको अहिलेको गठबन्धनले सरकारको हविगत विगतभन्दा के भद्रगोल नहोला ?
यतिबेला सचेत मतदाताले विगतमा सरकारमा पुगेका दलहरूले प्रतिबद्धता कति पूरा गरे, अब लेखाजोखा हुनुपर्छ । प्रतिबद्धता पूरा नगरेमा या घोषणापत्रबमोजिम काम नगरेका दल र दलका उम्मेदवारलाई के हामीले अब चिन्नुपर्दैन ? के अब मूल्याङ्कन गर्नुपर्दैन ? दलको उद्देश्य, विधान र विचार थाती राखेर सिङ न पुच्छरको राजनीति गर्ने दलका उम्मेदवारलाई राम्ररी चिनेर सुझबुझका साथ राजनीति गर्ने, देश र जनताप्रति समर्पित भएर इमानदारीपूर्वक राजनीति गर्ने, देश जोगाउन लागिपर्ने दलका उम्मेदवारलाई मतदान गर्नुपर्छ । अब जनताले फेरि धोका खाने, प्रायश्चित गर्नुपर्ने गरी मतदान गर्नु अर्काे भूल हुनेछ । विशुद्ध देश विकास र जनताको हितमा काम गरिरहेका दलका उम्मेदवारलाई हाम्रो मतदान हुनुपर्छ ।
Leave a Reply