अव्यवहारिक र अपरिपक्व निर्णय : देशमा अन्योल
- बैशाख ६, २०८३
नेपालका शासकहरूले देशको स्वाधीनता र सार्वभौमसत्ताबारे ख्याल नगर्दा देश पराधीन बन्दै गइरहेको हो र विदेशी हस्तक्षेप भइरहेको हो । शासकहरूमा स्वाधीन राजनीतिको चिन्तन नै भएन । सुशासन गर्ने चिन्तन नै देखिएन । दल ठूलो बनाउने र सम्पत्ति जोडेर नेता तथा कार्यकर्ता पाल्ने ठूला दलका नेताहरूको अदूरदर्शी चिन्तन र अभ्यासले गर्दा देश विकासमा पछि प¥यो । शासक दलका नेताहरू धनी भए जनता गरिबको गरिब भए । यो पुँजीवादी राजनीतिको दृष्टान्त हो । विदेशी इसारामा देश चलिरहेसम्म र जनतालाई सरकारमा जाने सिंढी बनाइरहेसम्म देशको विकासमा काँचुली फेर्न सकिँदैन ।
राजनीतिमा दलालीकरण भयो । दलहरू बिचौलिया, ठेकेदार र आपराधिक व्यक्तिहरूको घेरामा परे । सत्तासीन र ठूला दलका शासक र नेताहरूमा पद, पैसा, शक्तिलाई नै सबथोक या सत्तामुखी राजनीतिको सच्चाइ ठान्ने मानसिकताको विकास भयो । त्यसमा सत्तामुखी राजनीतिले ठाउँ पायो, पदको निम्ति गठजोड भयो, गठबन्धनमा भुल्यो । के यो राजनीतिक संस्कार हो ? देशघात गर्ने, असमान सन्धि र सम्झौता गर्ने दलका उम्मेदवारहरूलाई जिताउने हामी नेपाली प्रजा कि नागरिक ¤ अरू पार्टीमा नटिकेका, विश्वासघात गरेका या बेइमानी भएका नेता कार्यकर्ता अर्को पार्टीमा प्रवेश भएपछि इमानदार, निःस्वार्थी ठानेर स्वागत सत्कार गर्ने र पार्टीभित्र कामै नगराइकन संसद् या स्थानीय तहमा उम्मेदवारी दिने काम के राजनीतिक चरित्र हो ?
राजनीतिक दलहरू सिद्धान्त, विचार र दर्शनको आधारमा चल्ने हुँदा निर्वाचनमा विचारको राजनीति हुन्छ । आ–आफ्नो दलको सिद्धान्त र विचार जनतामाझ पु¥याएर जनताको विश्वास जित्नुपर्ने हो । तर, यहाँ गठबन्धनको प्रतिस्पर्धा भयो, भागबन्डाको राजनीति भयो । दलका नेताहरू जिम्मेवार, संवेदनशील र देश र जनताप्रति समर्पित नहुँदा यो समस्या देखिएको हो । अहिले निर्वाचनमा राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा हुने देखिँदैन । शासक दलहरू धाक धम्की दिएर, पैसा वितरण गरेर, प्रलोभन र दबाबमा मतदाता हातमा लिन्छन् । दलका नेताहरूले सिद्धान्त र विचारलाई बन्धक राखेर आफ्नो पहिचान देखाउँछन्, आफ्नो दललाई प्रजातान्त्रिक, जनवादी, क्रान्तिकारी फलाकेर जनतामाझ भ्रम सिर्जना गर्छन् । यो कुनै पनि प्रजातान्त्रिक दल होस् या कम्युनिस्ट दलको प्रजातान्त्रिक संस्कार र परिपाटी होइन ।
दलले सिद्धान्त र विचारको ख्याल नगर्ने हो, जनतामाझ सिद्धान्त र विचार पु¥याएर विश्वास नलिने हो भने दलको सिद्धान्त र विचारको आवश्यकता किन ? सिद्धान्त र विचारमात्र नमिल्ने होइन वर्गशत्रुसँग मिलेर राजनीति गर्ने हो, निर्वाचनमा भाग लिने हो या गठबन्धन गर्ने हो भने आफ्नो दललाई प्रजातान्त्रिक र कम्युनिस्ट भनेर किन बखानको आवश्यकता प¥यो ? खालि दल ठूलो बनाउने, सरकारको नेतृत्व गर्ने या सरकारमा सामेल भएर राजस्वमा रमाउने दलका नेताहरू कसरी सच्चरित्रवान् हुन्छन् ? यस्तो राजनीतिले देशमा सरकार स्थायी हुनेछैन, विकास हुनेछैन, शान्ति हुनेछैन । शक्ति र पैसाको राजनीति सच्चा राजनीति होइन । त्यस्तो राजनीति गर्ने दलको पछि नेता, कार्यकर्तामात्र होइन सर्वसाधारण जनता पनि लाग्नु हुँदैन ।
Leave a Reply