भर्खरै :

“नेपाललाई परनिर्भर बनाउन भारतको खेलमा साथ दिँदै आएका शासक दलहरूलाई मत दिनुहुन्न”

“नेपाललाई परनिर्भर बनाउन भारतको खेलमा साथ दिँदै आएका शासक दलहरूलाई मत दिनुहुन्न”

भक्तपुर, २५ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको आतिथ्यमा शुक्रबार तुुलाछेँमा चुनावी सभा भयो ।
सभामा अध्यक्ष बिजुक्छेँले प्रजातन्त्र पुनःस्थापनाको ३० वर्षको अवधिमा सरकारमा गएका पार्टीहरूले रु. ४ अरब पर्ने नेपाली सरकारी उद्योगलाई ३७ करोडसम्मको मूल्यमा विदेशी व्यापारीहरूलाई बेचबिखन गरी सरकारी स्वामित्वमा रहेका उद्योगधन्दालाई निजीकरण गरेर देशलाई परनिर्भर बनाएको बताउनुभयो ।
निर्वाचनको लागि खर्च उठाउन नै शासक पार्टीहरूले सरकारी उद्योगलाई निजीकरण गरेको धारणा उहाँले राख्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “भारतले नेपाललाई परनिर्भर बनाउने काममा देशका शासकहरूले साथ दिँदै आएकाले ती पार्टीहरूलाई आउँदो निर्वाचनमा मत दिनुहुन्न । नेमकिपाले जनतालाई हित हुने कार्य इमानदारीका साथ गर्दै आएकाले देशद्रोही पार्टीहरू मिलेर नेमकिपालाई हराउने दुष्प्रयास गरिरहेको छ । नेमकिपाले इमानदारीका साथ गरेको काम देशको कुनाकाप्चासम्म प्रचारप्रसार भइरहेको छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेशसभाका उम्मेदवार सुरेन्द्रराज गोसाईले भक्तपुर नगरकै वरिपरि नै नेमकिपाको बारेमा काङ्ग्रेस, एमालेहरूले झूटो प्रचार गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ख्वप कलेज हामीले बनाएको भनेर तिनीहरूले दिउँसै रात पार्ने काम गरिरहेका छन् । निर्वाचनमा एक अरबसम्म खर्च गर्ने ठेकेदार सांसदहरूले जसरी नै निर्वाचन जित्ने भन्दै हिँडेका छन् ।”
सभाका सभापति हिमालयश्वरलाल मूलले देशमा आर्थिक सङ्कट आउन लागेको र त्यसमा ठूला पार्टीहरू पनि जिम्मेवार भएको बताउनुभयो ।
कार्यक्रममा पूर्णगोपाल राजचलले नेका, एमाले र माओवादी पार्टीहरूले निर्वाचनमा जनतालाई झूटो आश्वासनमात्र दिने र आफू सरकारमा जाँदा देशको उद्योग–कलकारखानालाई तहसनहस गर्ने काम गर्ने गरेकाले जनताले उनीहरूलाई हराउनुपर्ने बताउनुभयो ।
श्रीचरण अमात्यले विकासको नाममा सरकारमा जाने ठूला पार्टीका नेताहरूले जनताकोे जग्गा आफूले सस्तोमा किन्ने र पछि त्यहीँ जग्गा वरिपरि सरकारी योजनामा बाटो बनाई त्यसको मोल बढाई विकास गरेको भन्दै हिडेँकोले यस्ता पार्टीहरूलाई जिताउन नहुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *