भर्खरै :

पैसा बाँडेर र भोज खुवाएर मत लिने काम विकृत राजनीति

पैसा बाँडेर, भोज खुवाएर, लोभलालच देखाएर जनताको मत लिने काम सच्चा राजनीति होइन । यो विकृत राजनीति हो । यो राजनीतिको बदनाम गर्ने काम हो । यो खराब नियत हो । जनताको अमूल्य भोट पैसामा बिक्नु हुँदैन । आफ्नो अमूल्य भोटलाई वस्तुभाउ सम्झिनु हुँदैन । कसैले पैसा दियो, एक छाक खान दियो या केही राहत दियो भने तिनीहरूको नियत सफा छैन भन्ने कुरा बुझ्नुपर्छ । विगतको निर्वाचनमा पैसा बाँडेर मत लिने काम गरेको हुँदा अहिले पनि कति मतदाता पैसा दिनेलाई भोट दिने भन्दै पर्खेर बसेका छन् । पैसा दिएमात्रै भोट हाल्ने भन्दै कति मतदाताहरूले भनिरहेका छन् । यसरी सत्तासीन र ठूला दलले निर्वाचनमा पैसाको खोलो बगाउने काम गरेको कारण जनताको बानी बिग्रेको हो, बानी बिगार्ने काम सत्तासीन र ठूला दलहरूले गरेका हुन् ।
अहिले सबैजसो दलका नेता तथा कार्यकर्ताहरू चुनावी मैदानमा छन् । विभिन्न दलले विभिन्न स्थानमा सभा, भेला, छलफल, अन्तरक्रिया, घरदैलो तथा अन्य चुनावी गतिविधि गरिरहेका छन् । चुनावी प्रचार अभियानमा कुनै दलले दलको सिद्धान्त र विचार जनतामाझ पु¥याउने काम गरिरहेका छन् भने कति दलले निर्वाचन नहुँदै फलाना प्रधानमन्त्री र मन्त्री हुने भनी आश्वासन बाँड्दै छन् । चुनाव नजिकिएसँगै चुनावी गतिविधिमात्र होइन पैसा बाँड्ने, भोज खुवाउने, ठेक्कापट्टा मिलाउने र अन्य लोभलालच पनि देखाउन थालेका छन् । दलको सिद्धान्त र विचार, आफ्नो योग्यता, इमानदारिता र देश र जनताको सेवाभन्दा पैसा खर्चेर मतदाता रिझाउने या खुसी पार्ने काम पनि सुरु हुन थालेका छन् । यतातर्फ सबै मतदाताहरू सचेत हुनुपर्छ । इमानपूर्वक राजनीति गर्ने दलका उम्मेदवारहरू देश र जनताको लागि खाँचो छ ।
तर, विडम्बना ¤ मतदातालाई पैसा बाँड्नकै निम्ति ठूला दलका नेताहरूले वर्ष दिन अघि नै बैङ्कमा पैसा थुपारेका थिए । पैसाकै भरमा ठूला दलका नेता तथा कार्यकर्ता सक्रिय हुन्छन् । पैसा र पदकै निम्ति तिनीहरू राजनीति गर्छन् । जहिलेसम्म राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू इमानदार हुँदैनन्, निःस्वार्थरूपमा देश र जनताको सेवामा लाग्दैनन् तहिलेसम्म पैसाको चलखेल भइरहन्छ । पैसाको राजनीति विकृत राजनीति हो । पैसा बाँडेरै ठूला दलका उम्मेदवारहरू निर्वाचनमा जित्छन् । आफ्नो पैसा खर्च गरेर जित्ने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले के इमानको राजनीति गर्लान् ? निर्वाचित भएपछि उनीहरू आफ्नो भएको खर्च असुल्न कानुनी गैरकानुनी भन्दैनन् जसरी भए पनि पैसा कमाउने धन्दामा लाग्छन् । संसद्मा हाजिर भएर सांसदहरू कहिले गैरसरकारी संस्था त कहिले कहाँ लाग्नुको कारण पनि त्यही हो । अनि संसद्को बैठक पटकपटक स्थगित नहुनु कसरी !
ठूला दल र सत्तारुढ दलका नेताहरू मत तान्नमात्र होइन उम्मेदवार नै तान्न या किन्न पैसा खर्च गर्न पछि पर्दैनन् । विगतमा सांसदसमेतको किनबेच भयो । कार्यकर्ता भड्काउने, पार्टी छोडाउने काममा पनि उनीहरू सक्रिय हुन्छन् । यस्तो काम दलको आचरण र आचारसंहिताविपरीत छ । निर्वाचन आयोगले सत्ता, शक्ति र पैसाको दुरूपयोग नगर्न दलहरूको ध्यानाकर्षण गरे पनि व्यवहारमा लागु भएको देखिँदैन । यस्ता आपराधिक या गर्न नमिल्ने काम कुरो पुँजीवादी व्यवस्थामा हुन्छ । यसकारण, पुँजीवादी व्यवस्था फाली समाजवादी व्यवस्था आवश्यक भएको हो । नेमकिपा समाजवादी व्यवस्था स्थापना गर्ने अभियानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *