नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार स्थिर समय सुरु भइसकेको छ । खसालेको मत खेर नजाओस् भन्ने उद्देश्यले मतदाता शिक्षा जरुरी छ । हरेक पटकको निर्वाचनमा सोचेभन्दा बढी बदर मत देखिएको छ । यही बदर मतको कारण जित्नेले हार्ने र हार्नेले जित्न सक्छ । कति स्थानमा थोरै मतले हार या जित हुन्छ । त्यस्तो निर्वाचन क्षेत्रमा बदर मतले असर पु¥याउँछ । सकेसम्म कुनै मत बदर नहोस् या हरेक मतदाताको मत सदुपयोग होस् भन्ने उद्देश्यले मतदाता शिक्षा आवश्यक हुन्छ ।
विगतको निर्वाचनलाई फर्केर हेर्दा शून्य समय या स्थिर समयमा पैसा बाँडेको हुन्छ । टोल–टोल, चोक–चोक र घर–घरमा गई कार्यकर्ता तथा सर्वसाधारण जनतालाई पैसा बाँडेको हुन्छ । पैसाले भोट खरिद गरिएको हुन्छ । कति मतदाता पैसामै भुल्छन्, पैसा दिनेलाई मत राख्ने भन्छन् । हाम्रो अमूल्य भोट पैसाको लागि होइन दल या दलको सिद्धान्त र विचारलाई राख्ने भोट हो । दललाई भोट दिनु भनेको सिद्धान्त र विचारलाई भोट दिनु हो । तर, कति मतदाताहरू पैसा दिनेलाई भोट हाल्छन् । पैसा दिनेलाई भोट हाल्नु भनेको हामी पैसामा वस्तुभाउजस्तै बिकेको हो । अतः दलले पनि पैसा बाँड्नु हुन्न, मतदाताले पनि पैसाको प्रलोभनमा भोट राख्ने होइन । कसैले पैसा दिएमा लिने तर भोट नहाल्ने गर्नुपर्छ । पैसाको राजनीति गर्नेलाई त्यसरी नै सजाय दिनुपर्छ । पैसा बाँडेर भोट लिने काम राजनीतिक अपराध हो । त्यस्ता राजनीतिक अपराधमा संलग्न दल र दलका उम्मेदवारहरूलाई राम्ररी चिन्नुपर्छ ।
पैसा बाँडेर जित्ने मनसाय या प्रवृत्ति गलत हो । मतदाताले पनि आफ्नो विवेक खरिद गर्नु हुन्न । हाम्रो मतले पुँजीपति वर्गको हित गर्छ, प्रतिक्रियावादीहरूको हित गर्छ या देशघाती काम गर्ने दललाई सघाउँछ । कहीँ कतै पैसा बाँडेको छ भने त्यो प्रशासनलाई खबर गर्नुपर्छ या जनताले समातेर पैसा सबै जफत गर्नुपर्छ । मतदाताले निर्वाचनलाई पैसा कमाउने माध्यम होइन असल व्यक्ति जिताउने माध्यम बनाउनुपर्छ । अहिले पैसा बाँडेर जित्नेहरू भोलि त्योभन्दा बढी पैसा असुल्न लाग्छन् । त्यसबेला पदको दुरूपयोग गरी या आफ्नो जिम्मेवारी छोडेर अर्कै धन्धामा लाग्छन् । त्यस्ता उम्मेदवारहरूले के जनताको नाना, छाना र दानाको निम्ति लड्लान् ? शिक्षा र स्वास्थ्य निःशुल्क गर्न, स्वदेशमै रोजगारीको बन्दोबस्त गर्न संसद्मा आवाज उठाउलान् ? यसकारण, भ्रष्ट आचरणका कुनै उम्मेदवारलाई हामीले निर्वाचित गर्नु हुँदैन । राजनीतिक दल भ्रष्ट भएपछि, राजनीतिक दलका नेताहरू मतिभ्रष्ट भएपछि सर्वसाधारण जनताको स्थिति के होला ?
निर्वाचन प्रचारप्रसारको बेला उम्मेदवार र कार्यकर्ताहरू जनताको घर आँगनमा पुगे, बस्ती बस्तीमा पुगे । आफ्नो दलको सिद्धान्त र विचार प्रचार गरे, अपिल बाँडे । जनतासँग मत माग्दा कति मतदाताले पैसा दिनेलाई मत हाल्ने विचार व्यक्त गरे । मतदाताहरूले विगतमा उम्मेदवार या उम्मेदवारका कार्यकर्ताहरूले पैसा दिने कुरा बताए । यसले थाहा हुन्छ, राजनीतिक दलले निर्वाचनमा पैसा बाँडेको हुन्छ, चौतामा राँगो ढालेर भोज खुवाएको हुन्छ । राजनीतिक दलले गरेको यस्तो गलत राजनीतिको सन्देश गाउँ–बस्तीमा पुगेको छ । पैसा दिएपछि भोट पाउने रहेछ भनी बानी बसिसकेको छ । के यो दलको सद्दे राजनीति हो ? राजनीतिप्रति वितृष्णा जगाउने काम कुनै दलले गर्नुहुँदैन । यसकारण, यो निर्वाचनमा प्रत्येक मतदाता सचेत हुनुपर्छ, विचारेर आफ्नो अमूल्य मतको सदुपयोग गर्नुपर्छ ।
Leave a Reply