भर्खरै :

ललितपुरमा भक्तपुर काण्डको विरोध

ललितपुर, १८ भदौ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले पञ्चायती राज्यस्तरद्वारा नेमकिपाविरूद्ध षड्यन्त्र गरिएको भक्तपुर काण्डको विरोध र भत्र्सना अहिलेका प्रतिक्रियावादीहरूलाई पनि खबरदारी नै भएको बताउनुभयो ।
नेमकिपा ललितपुर जिल्ला समितिद्वारा आइतबार आयोजित भक्तपुर काण्डको भत्र्सना कार्यक्रममा सचिव सुवालले पञ्चायती निर्दलीय निरङ्कुशताजस्तै अहिले सरकारमा गएका दुई–तीन दलको निरङ्कुशताको खतरा बढ्दै गएको बताउनुभयो ।
देश र जनताले दुःख पाएको र खाडी मुलुकमा नेपाली युवाहरू वैदेशिक रोजगारीको निहुँमा बेचबिखन भइरहेकोको दोषी सरकारमा गएका दलहरू नै भएको उल्लेख गर्दै उहाँले जनतालाई स्वदेशमा रोजगारी र शिक्षा एवं स्वास्थ्य सेवाको बन्दोबस्त गर्न नसक्ने पार्टीहरूलाई सरकारमा जाने र बस्ने अधिकार नभएको स्पष्ट पार्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले भक्तपुर काण्डलाई लिएर भक्तपुरमा मात्र दुःख दिएको नभई पार्टी सङ्गठन भएको अन्य जिल्लामा पनि पार्टीका नेता–कार्यकर्ताहरुलाई पक्राउ गरेको बताउनुभयो । नेमकिपा काठमाडौं जिल्ला समितिका सचिव राजवीर डंगोलले पार्टीका कार्यकर्ताहरूले हरेक क्षेत्रमा पुगेर जनताको सेवामा लाग्नुपर्ने बताउनुभयो । ललितपुर जिल्ला समितिका अध्यक्ष टीकाराम महर्जनको सभापतित्वमा भएको कार्यक्रममा बुद्ध शिल्पकार, सूर्यलक्ष्मी देशार र रविना महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *