भर्खरै :

मौलिक शैलीका घरहरू भएका अलगअलग सहर निर्माण गर्नुपर्ने

मौलिक शैलीका घरहरू भएका अलगअलग सहर निर्माण गर्नुपर्ने

भक्तपुर, १२ मङ्सिर । नेपाल सरकार सहरी विकास मन्त्रालयको आयोजनामा विश्व सहर दिवस २०७९ र विश्व सहरी योजना दिवस २०७९ को संयुक्त दिवसमा ‘दिगो विकासका लागि स्थानीय प्रयास’ नारासहित सोमबार सहरी विकास तथा भवन निर्माण विभागको सभाहलमा सोमबार कार्यशाला गोष्ठी सम्पन्न भयो ।
गोष्ठीमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले तीव्ररूपमा भइरहेको जनसङ्ख्या वृद्धिसँगै हाम्रा सहरहरू कुरूप र बस्न अयोग्य बन्दै गइरहेको प्रति चिन्ता व्यक्त गर्दै प्रदूषणरहित र व्यवस्थित सहर निर्माण आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
सहर भनेको धनी र गरिब सबैको लागि बस्न योग्य हुनुपर्नेमा जोड दिँदै उहाँले गरिबहरू विस्थापित हुनुपर्ने र धनीहरूको मात्रै बसोबास हुने खालको ‘स्मार्ट सिटी’ नेपालको लागि आवश्यक नभएको बताउनुभयो ।
विदेशी लगानी भित्याएर कमिसन खान लालायित योजनाविद्हरू र प्राविधिकहरूले आधुनिकताको नाउँमा विकृतिहरू भित्याइरहेको चर्चा गर्दै उहाँले नेपालमा मौलिक शैलीका घरहरू भएका छुट्टाछुट्टै सहरहरूको निर्माण गर्न सके पर्यटन क्षेत्र फस्टाउने बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले नयाँ सहरहरू निर्माण गर्दा देशको सन्तुलित विकासलाई पनि ध्यान दिनुपर्नेमा जोड दिँदै भक्तपुर नगरपालिकाले संविधानले निर्दिष्ट गरेबमोजिम जनतालाई केन्द्रमा राखी समाजवादउन्मुख काम गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा बाग्मती नपाका प्रमुख भरतकुमार थापाले गाउँलाई सहर र गरिबलाई धनी बनाउने बाग्मती नपाको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै नपाले गरिबी निवारण, सीपमूलक तालिम सञ्चालन, व्यवसायिक र यान्त्रीकरण कृषिमा जोड, सहकारीमा आधारित साझेदारी, सुकुमवासी व्यवस्थापन, सुत्केरी स्याहार पोषण भत्ताको व्यवस्था, नगरस्तरीय १५ शय्याको अस्पताल निर्माणलगायतका योजनाहरू सञ्चालनमा रहेको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. सुरेन्द्रलाभ कर्णले अधिकांश जनता ग्रामीण क्षेत्रमा बसोबास गर्ने देशमा अकस्मात् ६२ प्रतिशत जनता नगरपालिकामा पर्ने गरी नगर घोषणाले योजना आयोगलाई काम गर्न समस्या भएको बताउनुभयो ।
उहाँले एउटा सफा, सुन्दर र व्यवस्थित नमुना सहर निर्माण गर्ने आफ्नो सपना रहेको पनि जानकारी दिनुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पिताम्बर शर्माले सहरी विकासमा स्थानीय प्रयास अत्यन्त महत्वपूर्ण भएको बताउँदै स्थानीय तहको विकास कार्य दिगो बन्न स्थानीय जनताको अपनत्व आवश्यक रहेको चर्चा गर्नुभयो । सहरी विकास योजनामा स्थानीय तहलाई परिचालन गर्नु चुनौतीपूर्ण भएको उल्लेख गर्दै उहाँले सहरको फोहोरमैला व्यवस्थापन गर्न स्थानीय तहले घरघरबाटै कुहिने र नकुहिने फोहोर अलगअलग सङ्कलन गरी आफ्नै क्षेत्रमा व्यवस्थापन गर्न जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहरी विकास तथा भवन विभागका निमित्त सचिव पदमकुमार मैनालीले देश विकासमा स्थानीय अपनत्व नभएसम्म मुलुकको समृद्धि सम्भव नभएको बताउँदै सहरी विकास मन्त्रालयबाट सहरी विकास ऐन तर्जुमा भई सहमतिको लागि कानुन, न्याय तथा संसदीय मन्त्रालयमा पेश भइसकेको अवगत गराउनुभयो ।
कार्यक्रममा सहरी विकास मन्त्रालयका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठ, नेपाल क्षेत्रीय तथा सहरी योजनाकार समाज (रपसन) का अध्यक्ष महेन्द्र सुब्बा, राजनीतिक विश्लेषक सी.के. लाल, सहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशक नारायणप्रसाद भण्डारी, अन्तर्राष्ट्रियविज्ञ प्रा.डा. मार्क पेल्लिङ, यूएन कार्यक्रम व्यवस्थापक प्रज्ञा प्रधानलगायतले सम्बोधन गर्नुभएको थियो । सोही कार्यक्रममा प्रस्तुत ख्वप इन्जिनियरिङ कलेजका छात्रा अन्जु महर्जन र पूर्वाञ्चल विश्वविद्यालयका आस्था आचार्यलाई उत्कृष्ट शोधपत्र पुरस्कार वितरण गरिएको थियो ।
उक्त कार्यशाला गोष्ठीको उद्घाटन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. सुरेन्द्रलाल कर्णले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व सहरी विकास मन्त्रालयका निमित्त सचिव पदमकुमार मैनालीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *