भर्खरै :

ठूला दलको चुनावी शैली नै गलत

प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचनको चहलपहल बढेको छ । राजनीतिक दलले आ–आफ्ना उम्मेदवारीको नाम चयन गर्न भइरहेको गृहकार्य र नाम सार्वजनिक भइसकेको सन्दर्भमा निर्वाचनको चर्चा गाउँ बस्तीमा हुनु अस्वाभाविक होइन । निर्वाचन कुनै दललाई पहिलो र दोस्रो ठूलो बनाउन हुने होइन । देश र जनताको सेवा गर्न र गराउन गाउँ बस्तीको विकास गर्न निर्वाचन भएको हो । बनेको संविधान लागू गर्न, गणतन्त्र संस्थागत गर्न निर्वाचन भएको हो । स्थानीय निकाय जनप्रतिनिधिमार्फत सञ्चालन गर्न र जनताको हक–अधिकार गाउँ गाउँ र बस्ती बस्तीबाट उपभोग गर्न र गराउन निर्वाचन आवश्यक छ ।
हो, निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र मर्यादित हुनुपर्छ । प्रत्येक राजनीतिक दल र दलका उम्मेदवारहरुले आचारसंहिता पालना गर्नुपर्छ, आचारसंहिताभित्र रहेर प्रचार प्रसार र गतिविधि गर्नुपर्छ, यो निर्वाचनको नतिजा आएसम्म सबैले पालना गर्नुपर्छ । तर ठूला दलका नेता तथा कार्यकर्ताहरु आचारसंहिताको ठाडो उल्लङ्घन गर्छन्, ठाडो उल्लङ्घन गरे पनि निर्वाचन आयोग तमासे बनिरहन्छ । त्यसो त निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने दलका उम्मेदवारको उम्मेदवारी खारेज गर्ने उद्घोष गर्छ, पहिलेको निर्वाचनमा पनि उद्घोष नभएको होइन । तर निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने दलका उम्मेदवारलाई केही गर्न सकेको छैन । ठूला दलको अगाडि निर्वाचन आयोग आफ्नो मत जाहेर त गर्छ तर पूरा गर्दैन ।
प्रत्येक वर्ष ठूला दलहरु आचारसंहिताविपरीत गतिविधि गर्छन् । निर्वाचन आयोगले न त्यसको खोजीनीति गर्छ न त त्यसको मूल्याङ्कन गरेर कारबाहीको प्रक्रिया नै अघि बढाउँछ । आ–आफ्नो दललाई पहिलो बनाउने भनी प्रचारमा लागेको यो निर्वाचनमा पैसाको खोलो बग्नेमा शङ्का छैन, मत आफ्नो पक्षमा लिन लोभलालच देखाइनेमा शङ्का छैन । ठूला दलको चुनावी शैली नै गलत छ । दलले त असल, योग्य, देश र जनता पनि समर्पित तथा निःस्वार्थपूर्वक सेवा गर्ने उम्मेदवारलाई जिताउन आग्रह गर्नुपर्ने हुन् । तर त्यो भइरहेको छैन । ठूला दलको चुनावी प्रचारको गलत शैलीले पनि यो निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण हुनेछैन ।
निर्वाचन सम्पन्न गर्नुमात्र निर्वाचन आयोगको जिम्मेवारी होइन । निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण बनाउन र निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने दलका उम्मेदवारलाई कारबाही गर्नुपर्छ । दोषीमाथि कारबाही गर्ने आँट नगरेसम्म निर्वाचन धन, बल र आश्वासनकै भरमा दलका उम्मेदवारहरु जित्छन् र देश जनताको सेवा गर्ने सच्चा उम्मेदवारहरु हार्छन् । ठूला दलका नेताहरुले सिद्धान्त, दर्शन र विचारको आधारमा राजनीति नगरेकोले यो समस्या देखिएको हो ।
(२०७४ भाद्र २१ को ‘मजदुर’ दैनिकबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *