सरकारको कार्यशैलीप्रति सत्तारुढ दलका नेता र सांसदहरू नै असन्तुष्ट
- श्रावण १, २०८३
ठूला दलहरूप्रति जनताको विश्वास गुम्दै गएको यथार्थ हो । ती दलले जारी गरेको घोषणापत्र र चुनावी प्रतिबद्धता सत्तामा चढ्ने भ¥याङ बनाएको कारण उनीहरूप्रति जनताको विश्वास गुम्दै गएको हो । भागबन्डामा अल्झिएर गरिएको सत्तामुखी राजनीति पनि अर्काे कारण हो । सरकारी नीति तथा कार्यक्रममा नभएको एमसीसी सम्झौता पारित गर्न सत्तासीन दलहरू माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल एमाले लागे । अङ्गीकृत नागरिकलाई वंशजको आधारमा नेपाली नागरिकता दिने विधेयक अघि बढाउने र समर्थन गर्ने देशघाती कदमले पनि उनीहरूप्रति जनताको विश्वास घट्दै गएको होइन भन्न सकिँदैन । उनीहरूको राजनीति सत्तामुखी भयो । भागबन्डा मिलेपछि दलको सिद्धान्त र विचारको मतलब नराख्ने दलहरूको दलगत र व्यक्तिगत स्वार्थले प्रतिनिधिसभाको निर्वाचनमा पहिलेको भन्दा अहिले धेरै सीट कम जितेको हो । जनतालाई ढाँट्ने, जनतामाझ गरेको वचन तोड्ने, भ्रष्टाचारमा लीन हुने र अवसरवादी सोचले पनि ठूला पार्टीले जनताको विश्वास गुमाएको हो ।
सत्तासीन र ठूला दलका नेताहरू सिद्धान्त र विचारमा अडिग रहेनन् । उनीहरूले छिनछिनमा विचार फेरे । गठबन्धनभित्र रहेका दलका नेताहरूले कहीँ समर्थन गरे त कहीँ विरोध गरे । सिद्धान्त र विचार नमिल्ने दलसँग मिलेको कारण आफ्नै दलका नेता तथा कार्यकर्ताहरूको असन्तोष बढ्यो । सिद्धान्त र विचारको राजनीति छोडेर जसरी भए पनि जित्न साम, दाम, दण्ड र भेदको नीति अपनाउनु पनि मत कम आउनुको कारण रह्यो । नेपाल र नेपाली जनताको हित या सेवाभन्दा विदेशको हित गर्न सत्तासीन र ठूला दलका नेताहरू एकगठ भए । ती दलहरूमा देखिएको वैचारिक अस्पष्टता र विचलन अर्काे कारण बन्यो । पार्टीको यस्तै दिग्भ्रमित, लक्ष्यविहीन राजनीति हाँकेर देश बन्ला ? देश बनाउन सक्ला ?
धूमिल राजनीति गर्नु भनेको सिद्धान्तहीन राजनीति हो । निर्वाचनमा भएको गठबन्धन पनि सिद्धान्तहीन राजनीति हो । सिद्धान्तहीन राजनीति भएपछि दलको विधान र घोषणापत्रको के अर्थ रह्यो ? नेता तथा कार्यकर्ताको चरित्र, दलको साङ्गठनिक संस्कारले राष्ट्रिय राजनीतिमा असर पर्नु स्वाभाविक हो । पार्टीभित्र देखिएको गुट विशेष र भ्रष्ट आचरण पनि ती नेताहरूमा देखिए । देश विकास र जनताको सेवातर्फ चासो नराख्ने हो भने देश आर्थिक सङ्कटमा पर्छ । यो देशकै चिन्ताको विषय हो । शासकहरूमा देशभक्तिको भावना पनि देखिएन । यस्तै यस्तै कारणले उनीहरूप्रति जनताको विश्वास गुम्दै गएको हो ।
Leave a Reply