रास्वपा सरकार पुँजीपतिवर्गको नयाँ घोडा
- असार २८, २०८३
भारत सरकारले भारत नेपालको छिमेकीमात्र नभई घनिष्ठ मित्र दाबी गर्न चुक्दैन । दुई देशका शासक नेताहरू भेटघाट गर्दा अँगालो पनि मार्ने गर्छन् । तर, यो घनिष्ठता शासक नेताहरूबिच मात्र रहेको र दुई देशबिच पुग्न नसकेको भारत सरकारको पटकपटकको हेपाहा व्यवहारले पुष्टि गरेको छ । भारतले दर्जनौँ स्थानमा सीमा अतिक्रमण गरेको कालो तथ्यलाई भारतको विदेशमन्त्रालयको खण्डनमूलक वक्तव्यका सेता पानाले छोप्न सक्दैन । भारतको अतिक्रमणकारी व्यवहारको देशभक्त नेपाली जनताले स्थानीय स्तरमा र राष्ट्रिय स्तरमा प्रतिकार र विरोध गर्दै आएका छन् ।
अहिले दार्चुला जिल्लामा महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाइरहेको छ । दार्चुलाका देशभक्त जनताले त्यसको विरोध गरिरहेका छन् । पछिल्लो एक वर्षमा मात्र तीनपटक वारिपारि ढुङ्गा हानाहान भइसकेको छ । नेपाल सरकार भने कूटनीतिक पहल गर्ने बताउँदै मूकदर्शक बनिरहेको छ । भारतको अतिक्रमणकारी व्यवहार र अनधिकृत संरचना निर्माणको नेपाली जनस्तरबाट विरोध भएपछि भारतीयले सोमबार महाकाली नदीमाथिको झोलुङ्गे पुलमा नेपालीलाई आवतजावतमा रोक समेत लगाएको थियो ।
महाकालीमा आएको बाढीले २०७० असार २ मा दार्चुला सदरमुकाम खलंगा बजार डुबाएको थियो । बाढीले महाकालीको धार नेपालतर्फ धकेल्दा नेपाली भूभाग नदीपारि पुगेको थियो । बाढी आएको सात वर्षपछि दुवै देशका नापी, परराष्ट्र र गृह मन्त्रालयका अधिकारी सम्मिलित संयन्त्रले महाकालीको धारबारे नापनक्सा परीक्षण गरेको थियो । त्यस क्रममा नेपालको करिब २ सय रोपनी भूभाग भारततर्फ परेको पुष्टि भएपछि प्रतिवेदन पूरा नहुँदै भारत पन्छिएको थियो । यो विषयमा कोसिस गर्दा भारतीय पक्ष प्रतिक्रियाविहीन रहेको नापी विभागका अधिकारीहरूको भनाइ छ । यसरी सत्यतथ्यलाई नमान्ने र अन्तर्राष्ट्रिय कानुनविपरीत नेपालसित कुनै सहमति नै नगरी सिमाना मिचेर धमाधम स्थायी र पक्की संरचना निर्माण गर्नु भारतको नसुहाउँदो दादागिरी हो । अन्तर्राष्ट्रिय मञ्चहरूमा आफूलाई विश्वको सबैभन्दा ठूलो प्रजातन्त्र र क्षेत्रीय शक्तिराष्ट्र दाबी गर्ने भारतले आफ्नो मनमस्तिष्क र व्यवहारलाई त्यससित सुहाउँदो गरी फराकिलो पार्न सकेको छैन । भारतका शासकहरू र सरकारी निकायहरूमा विस्तारवादी मानसिकताले जरा गाडेको छ । त्यही विस्तारवादी मानसिकताकै कारण नेपाललगायत सबै छिमेकीसित भारतको सीमा विवाद रहेको छ ।
Leave a Reply