अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर २१, मङ्सिर । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूलाई मत दिएका मतदाताहरूलाई धन्यवाद दिने कार्यक्रम मङ्गलबार चाँगुनारायण नपा वडा नं ४, चाँगु खोरिया टोलमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रेम सुवालले संसद्मा स्वदेशमै रासायनिक मल कारखाना खोलेर किसानलाई सहज ढङ्गले मल उपलब्ध गराउनुपर्ने विषय उठाउने बताउनुभयो । उहाँले भन्नुभयो, “किसानलाई मल दिन नसक्ने कृषिमन्त्रीले राजीनामा दिनुपर्छ ।”
“नेपालका युवाहरू खाडीको बालुवामा रुख रोपेर जङ्गल बनाउँछन् तर हाम्रो डाँडाकाँडा उजाड हुँदै छ । नेपालको भूमि उजाड बनाएर भारतबाट खर्बौँ रूपैयाँको दाल, तरकारी, चामल, चिनी खरिद गर्ने सरकारहरू जनद्रोही नै हुन् । युवालाई स्वदेशमै रोजगारीको बन्दोबस्त नभएसम्म नेपालको विकास हुनेछैन ।” उहाँले भन्नुभयो ।
सांसद सुवालले मूर्तिचोर, खराब ठेकेदार, शैक्षिक माफिया, भ्रष्टाचारको आरोपीहरूसमेत सांसदमा निर्वाचित गर्ने पार्टीहरू जनताको हुन नसक्ने उल्लेख गर्दै पार्टीले आफ्नो स्थापनाकालदेखि नै किसानको पक्षमा मोहियानी र भ्रष्टाचारविरोधी आन्दोलन गर्दै आएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “भारतले हालै अन्तर्राष्ट्रिय कानुनविपरीत महाकाली नदीमा स्काय्भेटर चलाएर नदीको धार नेपालतर्फ धकेलेको र नेपालको दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीको झोलुङ्गे पुलमुनि १० मिटरभन्दा बढी नेपालतर्फ अतिक्रमण गरेर तटबन्ध निर्माण गर्दैै छ । सरकार र शासक दलका नेताहरू मौन छन् । नेपाली जनताले खबरदारी गर्नु जरुरी छ ।”
सांसद सुवालले ०२२ सालमा भारतले नेपालको सुस्ता मिच्दा २५ सालमा पहिलोपल्ट भक्तपुरमा नेपाल मजदुर किसान पार्टीका अग्रजहरूले विरोध प्रदर्शन गरेको उल्लेख गर्दै भारतीय बलमिचाइ र ज्यादतीविरुद्ध नेपाली जनता उठ्नु जरुरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने, नेपालको जलविद्युत् कब्जा गरी भारत लैजाने एमसीसी सम्झौता र देशलाई सिक्किम बनाउने नागरिकता विधेयकको विरोध नगर्ने पार्टीहरू देशभक्त नहुने बताउनुभयो ।
कार्यक्रममा स्थानीय रमेशबहादुर श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply