भर्खरै :

एक शिक्षकको आँखामा जनज्योति पुस्तकालय !

एक शिक्षकको आँखामा जनज्योति पुस्तकालय !

“मस्तिष्कको निम्ति अध्ययनको जति आवश्यकता छ त्यति नै शरीरको निम्ति व्यायामको” –एडिसन
भक्तपुर दरबार स्क्वायरमा रहेको जनज्योति पुस्तकालय २००७ सालमा स्थापना भएको थियो । यो पुस्तकालयले धेरै विद्यार्थी, शिक्षक, बुद्धिजीवी, सर्वसाधारणहरूलाई सेवा गर्दै आइरहेको ७२ वर्ष भइसक्यो । यो पुस्तकालय भक्तपुर नगरपालिकाअन्तर्गत सञ्चालित छ । यो पुस्तकालय पहिले विद्यार्थी निकेतन स्कूलको अगाडि नगरपालिकाको मजबुत भवनमा अवस्थित थियो । अहिले यो दूधपाटीको नःपुखुको किनारामा रमणीय स्थानमा सञ्चालित भइरहेको छ ।
शिक्षा नै मानव जीवनको एक ज्योति हो । शिक्षाको ज्योति फैलाउन शिक्षक, विद्यालय, पुस्तकालयको धेरै नै महत्वपूर्ण योगदान हुन्छ । पुस्तकालय अर्काे विश्वविद्यालय हो भन्नुमा अत्युक्ति नहोला । पुस्तकालय विद्यार्थी, शिक्षक, सर्वसाधारणको एक अध्ययनशाला हो । पुस्तकालयबाट बौद्धिक ज्ञान हासिल गर्न सकिन्छ ।

म एकजना शिक्षकको नाताले यो पुस्तकालयमा अध्ययन गरेर मेरो शैक्षिक क्षेत्रमा आएको ठूलो परिवर्तन सर्वसाधारण, शिक्षक, विद्यार्थीहरूलाई जानकारीको लागि उल्लेख गर्न चाहन्छु । विद्यार्थी अवस्थादेखि नै म जिज्ञासु स्वभावको थिएँ ।
मलाई विद्यालयमा अखबार भन्ने निबन्ध पढाउँदा एकजना शिक्षिकाले भन्नुभयो, “छिमेकी देश भारतका गरिब विद्यार्थीहरूले एक छाक नखाइकन पनि देश विदेशका ज्ञान पाउन पत्रिका किनेर पढ्छन् । यो कुराले मेरो जिज्ञासु मनमा ठूलो प्रभाव पा¥यो । त्यही प्रभावले मलाई पत्रपत्रिका अध्ययनप्रति ठूलो झुकाव सुरु भयो ।
मैले एस.एल.सी. उत्तीर्ण गरेपछि भक्तपुरको ब्रह्मचारिणी प्रा. वि. मा प्रधानाध्यापक भएर शिक्षण सेवा सुरु गरेँ । त्यसको लगत्तै मैले २०३० सालदेखि नै जनज्योति पुस्तकालयमा गएर अध्ययन सुरु गरेँ । पत्रपत्रिका दैनिक हेर्न पुगेँ ।
पुस्तकालयको सदस्य बनेर पुस्तक र पत्रपत्रिका पुस्तकालयमा गई नियमित अध्ययन गर्ने बानीको विकास भयो ।
विद्यालयबाट छुटेपछि र बिदाको समयमा दिनदिनै जनज्योति पुस्तकालयमा पुगेर पुस्तक र पत्रपत्रिका अध्ययन गर्न थालँे । यो पुस्तकालयमा गरेको अध्ययनबाट मैले शैक्षिक र बौद्धिक ज्ञान हासिल गरेँ ।
यही पुस्तकालयबाट गहन अध्ययन गरेर मैले भक्तपुर मासिक पत्रिका र मजदुर दैनिक पत्रिकामा लेखहरू प्रकाशित गराउन सहयोग प्राप्त भयो ।
पुस्तकालयमा गएर अध्ययन सँगसँगै महान् व्यक्तिहरूको जीवनीको अध्ययनले उहाँहरूको योगदान र त्याग तपस्याबाट प्रभावित भएँ । शिक्षण सेवामा लाग्ने शिक्षकहरूको सेवालाई कदर गरेर उहाँहरूको योगदानलाई कविताको माध्यमबाट व्यक्त गर्न पाएँ ।
यो पुस्तकालयबाट विभिन्न पुस्तकहरूको अध्ययन गरेर उच्च शिक्षामा प्रात्ेट परीक्षा दिएर सफलता प्राप्त गर्ने सुअवसर पनि पाएँ ।

मलाई पहिलेदेखि इतिहास र साहित्य विषयमा रुचि थियो । यो पुस्तकालयमा इतिहास र साहित्यिक पुस्तकको अध्ययनबाट धेरै लाभान्वित भएँ ।
मेरो शिक्षक जीवनमा यो पुस्तकालयबाट ज्ञान गुणका कुरा हासिल गरँे । मैले २०३८ सालमा सरस्वती विद्यागृह मा. वि. मा अङ्ग्रेजी भाषाको अध्यापन गराउँदा यो पुस्तकालयको शिक्षासम्बन्धी पुस्तकबाटट मेरो अध्यापनमा शिक्षण गर्न थप सहयोग प्राप्त भयो ।
सबभन्दा महत्वपूर्ण कुरा पत्रपत्रिका दैनिक अध्ययनबाट मलाई विद्यालयमा अतिरिक्त क्रियाकलापअन्तर्गत हाजिरीजवाफको शिक्षक बन्न सहयोग मिल्यो । एक समयमा सरस्वती विद्यागृह हाजिरीजवाफमा नाम चलेको विद्यालय थियो ।
मेरो शिक्षण सेवा र पुस्तकालयमा गएर अध्ययन सँगसँगै जस्तो भएको छ ।
समय परिवर्तनशील छ । मैले शिक्षा सेवाबाट अवकास पाएपछि अध्ययन गर्ने समय पाएँ । अहिले म ११ बजे नै पुस्तकालयमा पुगेर दुई घण्टा पत्रपत्रिका र पुस्तक अध्ययन गर्छु । मेरो अवकास जीवनपछि पनि पुस्तकालयमा गएर अध्ययन गर्ने बानीले मलाई समय बिताउन सजिलो बनाएको छ ।
जीवनदेखि उराठ लागेन । घरमा बस्दा पनि पत्रपत्रिका किनेर पढ्ने बानीको विकास भएको छु ।
यसरी मैले २०३० सालदेखि २०७६ सालसम्म ४६ वर्षसम्म अटुटरूपमा पुस्तकालयमा गई दिनदिनै अध्ययन गर्ने सुअवसर पाएर मैले शिक्षक जीवनमा ठूलो सफलता हासिल गरँे । यो पुस्तकालयको पुस्तक र पत्रपत्रिकाको नियमित अध्ययनबाट अनेकौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरूको ज्ञान पाएर समाजमा एक शिक्षित सुयोग्य नागरिक बन्न सकिन्छ† पुस्तकहरूको अध्ययनबाट व्यावहारिक ज्ञान पनि पाउन सकिन्छ भन्ने थाहा भयो । आज हरेक नागरिक चेतनशील बन्न देश विदेशका कुरा थाहा पाउनु नितान्त आवश्यक छ ।
यस सांस्कृतिक नगरमा रहेको यो पुस्तकालयमा दिनानुदिन पत्रपत्रिका पढ्ने विद्यार्थी, शिक्षक र सर्वसाधारणहरू बढ्दै छन् ।
भक्तपुरको विकासको लागि शिक्षित जनशक्तिको ठूलो आवश्यकता र बिस्तारै शैक्षिक क्षेत्रबाट यसको परिपूर्ति पनि हुँदै छ । यसैले विद्यार्थी, शिक्षक, सर्वसाधारण पुस्तकालयमा गई अध्ययन गर्ने बानी बसाल्नुपर्छ ।
मेरो शैक्षिक जीवनलाई यहाँसम्म ल्याई सहयोग गर्ने जनज्योति पुस्तकालयप्रति आभार व्यक्त गरी दुई शब्द कोर्न चाहन्छु ।

जनज्योति पुस्तकालय !
प्रजातन्त्रको मिरमिरे उज्यालोमा
उदय भएको प्राचीन ऐतिहासिक नगरको
जनज्योति पुस्तकालय
कैयौँ विद्यार्थी, शिक्षकले,
ज्ञानको ज्योति फैलाए, तिम्रै सहयोगले
तिमीभित्र ज्ञानको मुहान छ
अज्ञानताले घेरिएको यो फूलबारीमा
ज्ञानको सुवास दिने जनज्योति पुस्तकालय
तिमी प्रगति पथमा लम्केर
हरेक शिक्षासेवीहरूको सधैँ सेवा गर्न सकोस्
यही मेरो हृदयदेखि कामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *