भर्खरै :

स्वास्थ्य क्षेत्रमा काम गर्नेभन्दा तथ्याङ्क खेलाउनेहरूको भिड

स्वास्थ्य क्षेत्रमा काम गर्नेभन्दा तथ्याङ्क खेलाउनेहरूको भिड

नेपालको स्वास्थ्य क्षेत्रको विकास हेर्ने हो भने धेरै भएको छैन तर तुलनात्मकरूपमा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भएको देखिन्छ । हाम्रा नीति निर्माताहरूले नेपालको स्वास्थ्य प्रणालीलाई विश्वका अन्य मुलुकहरूको स्वास्थ्य सेवा प्रणाली नीति, रणनीति र पूर्व अभ्यासहरू जस्ताको त्यस्तै लागु गर्ने गरेको देखिन्छ । धेरै कुरा मानव स्वास्थ्यमा हानि नोक्सानी गर्ने जीवाणु र रोग एउटै भए तापनि कतिपय कुराहरू देश, भौगोलिक अवस्था, जनघनत्व,जलवायु अनुकुलन, खाद्य उत्पादन, खाद्य वस्तुको उपभोग, मौसम हावापानी र पेसाका कारण रोगको प्रकृति फरक हुन्छ । एउटै प्रकृतिका रोगहरूको पनि रोग निदान गर्ने तरिका र उपचार गर्ने प्रणाली फरक हुन जान्छ भन्ने कुराको ख्यालै नगरी विश्वका ति मुलुकहरूले अपनाएको स्वास्थ्य प्रणाली, रोग निदान प्रकृया,उपचार पद्धति, नीति र रणनीति लादेको देखिन्छ । विदेशीहरूले आफू अनुकूल बनाएको स्वास्थ्य प्रणालीलाई हाम्रो देशको ग्रामिण भेगमा कार्यान्वयन गर्दा असफल भइरहेको छ । नीति योजना निर्माण तहमा कहिले पनि स्वास्थ्य नीति र रणनैतिक योजना बनाउँदा समुदायमा कार्यरत स्वास्थ्यकर्मीहरूको र कार्यान्वयन गर्ने निकायको सल्लाह र सुझाव मागेको देखिँदैन ।
बरू अन्य मुलुकमा स्वास्थ्य सूचना प्रणालीका वेबसाइटहरूको प्रयोग गरिएको देखिन्छ । हाम्रा विज्ञहरू धेरैजसो विदेश पढेर आउँछन् जुन देशमा पढेको हो त्यो देशको स्वास्थ्य प्रणाली, स्वास्थ्य समस्या, प्रयोगात्मक अभ्यासहरू र स्वास्थ्य संरचना नीतिहरू र त्यो देशको स्वास्थ्यको रोडम्याप कण्ठ गरेर उपाधि हातमा थमाई नेपाल फर्कन्छन् र नेपाल फर्केपछि नेपालको स्वास्थ्य समस्याको वस्तुगत अध्ययन नै नगरी लामो समयसम्म समुदायमा काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई बेवास्ता गरी अन्य देशको जस्ताको त्यस्तै विषयवस्तु, लक्ष्य, नीति, रणनीति र रोडम्याप रटान गर्न लाउँछन् जसको कारण हाम्रो समुदायसित मेल नखाने रणनीति अवलम्बन गरी समुदायमा काम गर्न खोज्दा औजार, उपकरण, दक्ष जनशक्ति भौतिक संरचना भौगोलिक अवस्थाको कारणले कार्यान्वयन पक्ष फितलो भई जनताले पाउनुपर्ने गुणस्तरीय स्वास्थ्य सेवाहरू प्रदान गर्न सकिरहेका छैनौँ । सङ्घीय व्यवस्थाले स्वास्थ्य क्षेत्र तहसनहस भएको होइन, हाम्रो बुझाइ गलत हो । हिजोका दिनमा हालीमुहाली गरेर राज गरेकाहरूलाई अप्ठयारो परेर व्यवस्था खारेज गर्न रातदिन लागिरहेका छन् । देश सङ्घीयतामा गएपछिका केही स्वास्थ्य सूचाङ्कहरू बढ्दो क्रममा पनि छन् तर हामी स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मी सहरी स्वास्थ्य केन्द्रमा जना चाहेका छैनन् । जिल्लामा काम गर्ने स्वास्थ्यकर्मी स्थानीय तहमा जना मान्दैन, प्रदेशमा काम गर्ने स्वास्थ्यकर्मी जिल्लामा काम गर्न जान मान्दैन । विभाग र मन्त्रालयमा काम गर्ने स्वास्थ्यकर्मी प्रदेशमा जान मानिरहेका छैनन् । दक्ष स्वास्थ्यकर्मी समुदायमा सेवा दिन आवश्यक छ । विडम्बना ¤ ती दक्षहरू तथ्याङ्क खेलाउने काममा मात्र सीमित छन् । अनि समुदायमा स्वास्थ्य सेवाबाट बञ्चित गराउने काम सङ्घीयताले ग¥यो कि तपार्इं हामीले गरिरहेका छौँ । एकचोटि गहन अध्ययन गर्नुपर्छ । एक दुई जनाको स्वार्थको कारणले सङ्घीयतामा स्वास्थ्य धरापमा परेको भन्ने हल्ला पिटिएको छ ।
कागले कान लग्यो भन्दैमा कागको पछाडि हामी लाग्ने हैन । कान छाम्नतिर गयौँ भने बल्ल हामी भोलिका दिनमा दुःख पाउदैनौँ । हाम्रा हिजोका स्वास्थ्यका विज्ञ नीति निर्माताहरूको स्वास्थ्य प्रणाली र संरचनाको कारणले हामीले अहिलेसम्म दुःख भोगिरहेका छौँ । विदेशमा राज्यको ढुकुटी सकेर विज्ञता हासिलको उपाधि त पायौँ तर देशको स्वास्थ्य नीति लिएर नेपालमा कहिले पनि स्वास्थ्य संरचना हाम्रो देशको अनुरूप बनाउन सकेनौँ । अझ पुरानै शैलीमा अहिलेका विज्ञ नीति निर्माताहरूले जाने हो भने हामीले प्राप्त गर्न खोजेको र आशा गरेको स्वास्थ्यको सकारात्मक सूचाङ्कमा प्रगति होला भन्न सकिन्न । स्वास्थ्यकर्मीहरू बिचको तालमेल भएन भन्ने कैयौँ टीकाटिप्पणी पटक–पटक आइरहेको देखिन्छ । स्वास्थ्य प्रणाली निर्माणमा सहभागी भएका व्यक्तिहरूको दोहोरो चरित्रको कारणले गर्दा यस्तो भएको छ । देश सङ्घीयतामा गइसकेपछि स्वास्थ्य कार्यालयले गर्ने काम सबै पालिकाले गर्नुपर्नेछ भन्ने थाहा हुँदाहुँदै जिल्ला स्वास्थ्य कार्यालयमा काम गर्ने सुपरभाइजरहरू कोही पनि पालिकामा खटाइएन । पालिकामा खटाउँदा सम्बन्धित स्थानीय तहको स्वास्थ्य चौकीमा काम गरिरहेकालाई खटाइयो र कसैले सहयोग गरेन । अहिले पनि तीन तहको सरकारमा ३ वटा ‘स’ को खुबै रटान गरिन्छ । व्यवहारमा तपाईं हामीले भोगिरहेको तीतो यथार्थ अर्कै छ ।
प्रायः जसो पालिकामा जनस्वास्थ्य अधिकृतको दरबन्दी छ । समायोजनमा जनस्वास्थ्य अधिकृतहरूले स्थानीय तह रोज्ने कुरै भएन । पालिका जनस्वास्थ्य अधिकृतविहीन छन् । माग गर्दा समायोजनमा नरोजेकालाई पठाउने कुरै भएन । स्थानीय तहमा सुरूदेखि नीति निर्माणमा संलग्न स्वास्थ्यकर्मी खटाउने प्रयास नै गरिएन । खटाएकाहरू पनि जान मानेनन् र खटिएका पनि आफ्नो सिटमा सुरक्षित गरी पुनर्बहाली भए । किनकि केन्द्रमा बसेर तथ्याङ्क खेलाएर बस्न जस्तो सजिलो छैन भन्ने थाहा छ । समुदायमा स्वास्थ्य सेवा प्रदान गर्न दक्ष सेवा प्रदायक बढी आवश्यकता पर्छ भनेर थाहा हुँदाहुँदै राजनैतिक शक्तिको आडमा तथ्याङ्क खेलाएर पुरस्कृत हुनेको सङ्ख्या धैरै छ । जसको कारणले वास्तविक सेवा प्रदायक दिक्क छन् । काम गरेरभन्दा तथ्याङ्क खेलाएर पुरस्कृत हुँदो रहेछन् भन्ने भ्रम सृजना हुँदै छ । एकजनाले गरेको कामको औसतमा साझेदार संस्थाहरूलगायत १० जनाले तथ्याङ्क खेलाएर आफ्नो रोटी सेक्ने काम गरिरहेका छन् ।
सङ्घीयतामा स्वास्थ्य क्षेत्र तहसनहस भयो भन्नेहरू पुरानो सिट र कुर्सीमा फर्केर राज गर्न चाहन्छन् । जनतालाई सेवा दिने पक्षमा छैनन् । ग्रामीण क्षेत्रमा हामी पुरानै अनुहार काम गरिरहेका छौँ । एकाधबाहेक सङ्घीयतामा स्वास्थ्य तहसनहस भयो भनेर हामी ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीहरूले कहिल्यै भनेका छैनौँ । किनकि, केही आमुख व्यक्तिको झिनो स्वार्थका कारणले व्यवस्थामाथि दोष लगाउन कसैले पनि चुक्नु हुँदैन । स्वास्थ्य सेवामा स्वास्थ्य सेवा प्रदायकभन्दा तथ्याङ्क खेलाएर बस्नेहरूको भिड छ । तर, तथ्याङ्क सुधार भइरहेको छैन । स्वास्थ्य सेवाका विज्ञहरू स्वास्थ्य सेवा दिन छोडेर प्रशासनिक चिठीपत्र लेख्ने र सामान खरिद गर्नमा व्यस्त छन् । उता जनताले विज्ञको अनुहारसमेत देखेका छैनन् । तपाईं हामी सङ्घीयतालाई दोष थोपरिरहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *