भर्खरै :

सांसदहरू असल र स्वच्छ छविको हुनुपर्ने

सांसदहरू असल र स्वच्छ छविको हुनुपर्ने

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ठेकेदारहरूमात्र होइनन् फौजदारी अभियोग लागेका व्यक्तिहरू पनि जितेका छन् । सार्वजनिक पद धारण गरेका कुनै पनि जनप्रतिनिधिहरू फौजदारी अभियोगको मुद्दामा छन् भने शपथग्रहण गर्न नहुने कानुनविद्हरूको भनाइ छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ मा ‘भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री तथा निकासी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरूपयोग, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएका व्यक्ति प्रतिनिधिसभाको उम्मेदवार बन्ने पाउने छैन भनिएको छ । तर, गएको निर्वाचनमा त्यस्तै खालका अभियोग लागेका व्यक्तिहरू प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित भए । ती व्यक्तिहरू दलको होस् या स्वतन्त्र अभियुक्तहरू हुन् । उनीहरू कुनै पनि बेला दोषी हुनसक्छन् । दोषयुक्त भयो भने त उनीहरूले आफ्नो जिम्मेवारी बहन गर्लान् । तर, दोषी ठहर भयो भने शपथग्रहण गर्न नपाउने मात्र होइन सांसद पद नै खारेज हुनसक्छ । त्यस्ता अभियुक्तहरूलाई दलहरूले किन उम्मेदवारमा सिफारिस गरे ? जनताले तिनीहरूलाई नै किन जिताए ? त्यस्ता सांसदले जनतालाई के सन्देश दिने होलान् ? आफ्नै जीवनको चरित्रमा दाग लागेका सांसदलाई जनतालाई के चरित्र र नैतिक पाठ सिकाउने होला ? यसरी नै ठेकेदार र फौजदारी अभियोग लागेका सांसदहरूको सङ्ख्या बढ्दै गएमा देशको हालत के होला ? उनीहरूले देश र जनताको लागि के गर्लान् ? सोचनीय छ ।
मङ्सिर २० गते प्रकाशित नयाँ पत्रिका दैनिकमा नवनिर्वाचित पाँच सांसद जसले खान पाउँदैनन् शपथ शीर्षकको समाचार छापियो । समाचारमा नेकाबाट टेबबहादुर गुरुङ (मनाङ), एमालेबाट लक्ष्मी महतो कोइरी (महोतरी १), लोसपाबाट दीपक मनाङे (मनाङ २) र नेकाकै बादशाह कुर्मी (बाँके ३) निर्वाचित भएका छन् । ती सांसदहरूले कुनै ठेक्का, कुनै हत्या र ज्यान मार्ने उद्योगको मुद्दा खेपिरहेका छन् । कानुनी प्रावधानअनुसार ती पाँच सांसदले पद तथा गोपनीयता शपथ खान पाउने छैनन् । ती सांसदहरू शपथ खान राजधानी या संसदभित्र छिर्छन् छिर्दैनन्, छिर्न दिन्छ दिँदैन र शपथग्रहण गर्न सरकारले रोक्छ रोक्र्दैन ? त्यो हेर्न बाँकी छ । तर, यस्ता सांसदहरूले जनतामाझ राम्रो सन्देश दिँदैन । दलले असल या स्वच्छ छविको उम्मेदवारलाई निर्वाचनमा उठाउनुपर्छ । जनताले पनि त्यस्ता अभियोगका उम्मेदवारलाई छानीछानी हराउनुपर्छ । नत्र समाजमा अपराधीले ठाउँ पाउँछ । समाज अपराधीहरूको थलो बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *