भर्खरै :

“विद्यार्थीहरूले आफ्नो क्षमता, योग्यता र देशको आवश्यकता हेरेर पेसा र उद्देश्य छनोट गर्नुपर्छ”

“विद्यार्थीहरूले आफ्नो क्षमता, योग्यता र देशको आवश्यकता हेरेर पेसा र उद्देश्य छनोट गर्नुपर्छ”

भक्तपुर, २२ मङ्सिर । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवसको अवसरमा बिहीबार विद्यार्थी भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले विद्यार्थीले आफ्नो जीवनको उद्देश्य प्रस्ट गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “विद्यार्थीहरूले आफ्नो क्षमता, योग्यता र देशको आवश्यकता हेरेर पेशा र उद्देश्य छनोट गर्नुपर्छ ।”
हामीजस्ता धेरै युवाहरू देशको पक्षमा लडेका भए अहिलेसम्ममा देशले जित्थ्यो भन्दै अध्यक्ष रोहितले विद्यार्थीहरूमा नागरिक भावना हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले देशको पक्षमा सानोभन्दा सानो काम गर्न पनि विद्यार्थीहरु तयार हुनुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेक्राविसङ्घका पूर्वअध्यक्ष सरोजराज गोसाईँले नयाँ पुस्ताले नयाँ खालको मिडियामार्फत राजनीतिक चेतना फैलाउनुपर्ने आजको आवश्यकता भएको औँल्याउनुभयो ।
विद्यार्थी कार्यकर्ताहरूले विद्यार्थी र समग्र कामदार जनताका समस्याहरू बुझ्नुपर्ने विचार राख्दै उहाँले भन्नुभयो, “देश र जनता नबुझी देश परिवर्तन गर्न सकिन्न ।”
सभापतिको आसनबाट बोल्दै नेक्राविसङ्घका अध्यक्ष प्रकाश गुरूङले विद्यार्थीहरूले आफ्नो अध्ययन पूरा गरेर शैक्षिक, राजनीतिक र सामाजिक चेतनाको हिसाबले पिछडिएका दुर्गम क्षेत्रहरूमा गई जनताको सेवा गर्ने भावना राख्नुपर्ने बताउनुभयो ।
उहाँले नेक्राविसङ्घको स्थापना दिवसको अवसरमा एक समिति एक कार्यक्रमलाई लागू गर्नुपर्ने निर्देशन दिनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका उपाध्यक्ष सुरेश परियार र उपसचिव सेमसल तामाङले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *