भर्खरै :

युरोपमा अमेरिकी अराजकताको प्रथम पीडित बेलायत

युरोपमा अमेरिकी अराजकताको प्रथम पीडित बेलायत

धेरै शताब्दीदेखि बेलायत निर्मम तर स्थिर र प्रभावशाली नीतिको लागि विश्व प्रसिद्ध छ । यसै प्रभावकारी नीतिका कारण उसले विश्व इतिहासमा सबैभन्दा ठूलो साम्राज्य स्थापित गर्न सकेको थियो ।
यो वर्ष बेलायतको रुमलिँदो राजनीतिमा बिरलै देखिने विषमता देखिएको छ । उसको स्थिति विश्वमै हास्यास्पद बन्यो । बेलायतले एक वर्षमा तीनवटा प्रधानमन्त्री फेर्नुप¥यो । आफैले बनाएको लकडाउन नियम तोडेको प्रहरी निष्कर्षपछि प्रम बोरिस जोनसन सत्ताबाट बाहिरिए । त्यसपछि लिज ट्रसले ४४ दिनमा प्रमको कुर्सी छोड्नुप¥यो । बेलायतको इतिहासमा प्रधानमन्त्रीको यो सबैभन्दा छोटो कार्यकाल थियो । तेस्रोचोटि ऋषि सुनक प्रम बने । केही साताअघि सत्तारुढ टोरी पार्टीको बहुमतले उनलाई प्रम पदको निम्ति अस्वीकार गरेको थियो ।
चार महिनाभित्र चारजना अर्थमन्त्री फेर्नाले राजनीतिक सङ्कटलाई झन् चर्काइदियो । एक अर्थमन्त्री ३८पदमा रहे । अर्थमन्त्री पदका निम्ति यो पनि बेलायती इतिहासको सबैभन्दा छोटो कार्यकाल बन्यो । यसैबेला उनले घातक बजेट ल्याए । त्यसले वित्तीय सङ्कट झन् चर्कायो र प्रम ट्रसले सत्ता छोड्नुप¥यो ।
यो भद्रगोलपछि मत सर्वेक्षणहरूमा सत्तारुढ टोरी पार्टी विपक्षी लेबर पार्टीको तुलनामा ३० प्रतिशत पछि धकेलियो । निर्मम राजनीतिक निपुणताबाट प्रहसनमा खस्किनुको वास्तविक कारण युरोपमा अमेरिकी नीतिले मच्चाइरहेको अराजकता हो । बेलायत युरोपमा अमेरिकाको सबैभन्दा बफादार साथी हो । यो एउटा ऐतिहासिक सत्य हो ।
युरोपको वर्तमान स्थिति दोस्रो विश्वयुद्धताका भन्दा पनि खस्केको प्रस्ट देखिन्छ । मुद्रास्फीति ३० वर्षकै सबैभन्दा उच्च छ । आर्थिक वृद्धि दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा सुस्त छ । युरोपमै पर्ने युक्रेनमा ठूलो युद्ध चलिरहेको छ । राजनीतिक रङ जस्तोसुकै भए पनि युरोपका धेरै सरकारहरू अलोकप्रिय छन् । यसले जनअसन्तोष छर्लङ्ग पार्छ । बेलायतबाहेक स्वीडेन र इटालीमा वामपन्थी सरकारहरूलाई चरम दक्षिणपन्थीहरूले भारी मतान्तरसहित हराए । यद्यपि, फ्रान्समा दक्षिणपन्थी राष्ट्रपतिले संसद्मा धेरै सिट गुमाउनुपरे र वामपन्थीहरूले ती स्थान जिते ।
यो युरोपव्यापी गञ्जागोल संरा अमेरिकाको युरोप नीतिकै परिणाम हो । तीमध्ये धेरै नीति चीनविरुद्ध शीतयुद्धको कुत्सित उद्देश्यसाथ ल्याइएका हुन् । बेलायतको स्थिति झन् नाजुक छ । किनभने, ट्रम्प सरकारका नीतिहरू पछ्याउँदै उसले युरोपेली युनियन छोड्ने अपरिपक्व नीति लिएको थियो । अमेरिकासँग साखुल्ले हुन उसले त्यसो गरेको थियो ।
यसअघि युरोपमा अमेरिकी नीतिहरू हानिकारक थिए । तर, तिनले यथास्थिति खल्बल्याउन सकेका थिएनन् । उदाहरणको लागि, अमेरिकाले युरोपको आमसञ्चार सञ्जालमा हवाइ कम्पनीको सहभागिता रोक्ने अभियान चलाएको थियो । बेलायतमा त्यो अभियान सफल भयो । यसको अर्थ बेलायतले ५ जी को लागि चाहिनेभन्दा बढी पैसा तिर्छ । यो कदम बेलायतको लागि हानिकारक थियो, तर यसले बेलायतलाई अस्थिर पार्न सकेको थिएन ।
अहिले भने अमेरिकी नीतिहरू युरोपलाई अस्थिर तुल्याउनसक्ने बनिसकेका छन् । युक्रेनलाई नेटोमा ल्याउने खतरा यस खालको पहिलो नीति थियो । यसो गरेमा रुसलाई सिधै सैन्य टक्कर दिन सकिन्छ भन्ने संरा अमेरिकाले बुझ्यो । यो नै युक्रेन युद्धको खास कारण हो । अमेरिकाले सिधै रुसलाई कमजोर बनाउने नीति लियो । यस क्रममा उसले जर्मनीलाई रुसको सस्तो ग्यासको सट्टा अमेरिकाको महँगो ग्यास जबरजस्ती किन्न लगायो । साथै उसले चीनसँगको रुसको सुमधुर सम्बन्ध बिगार्न सक्दो प्रयास ग¥यो । राष्ट्रिय हितलाई हेरेर रुसले अमेरिकाको यो प्रहारको प्रतिवाद ग¥यो । यसरी अमेरिकी नीतिले युरोपमा सन् १९४५ यताकै सबैभन्दा ठूलो युद्ध जन्मायो ।
दोस्रो कुरा, युरोपलाई आक्रान्त पारिरहेको मुद्रास्फीति संरा अमेरिकाले नै जन्माएको हो । अमेरिकी मुद्रास्फीति ०.१ प्रतिशत (मे २०२०) बाट बढेर ७.५ प्रतिशत (जनवरी २०२२) पुगेको छ । यो युक्रेन युद्धअघिको मुद्रास्फीति हो । अमेरिकाको सोही मुद्रास्फीति ३ महिनापछि युरोपमा सरेको हो ।
चिनियाँ आर्थिक वृद्धिसँग काँध जुधाउने असफल प्रयत्नमा भड्किला नीतिहरू ल्याउनाले अमेरिकामा मुद्रास्फीति बढेको हो । यो वर्ष अमेरिकामा मुद्रा प्रवाह २७ प्रतिशत पुगेको छ । जब कि वर्तमान सरकारी खर्च जीडीपीको २६ प्रतिशत पुगेको छ । यसले गर्दा माग बढ्यो । सन् २०१९ (अन्तिम चौमास) देखि सन् २०२२ (तेस्रो चौमास) मा अमेरिकी उपभोग ३४३६ खर्ब डलर बढ्यो । यसबीच पूर्तिको स्थिति भने खस्कियो । कूल लगानीमा ५२ खर्ब डलर गिरावट आयो । माग बढ्ने र आपूर्तिमा कुनै बढोत्तरी नहुने स्थिति भयो । यसले अमेरिकी मुद्रास्फीति ४० वर्षयताकै सबैभन्दा चर्को भयो । यही मुद्रास्फीति युरोपमा फैलेको हो ।
बेलायत सरकार अमेरिकी विदेश नीतिबाट मुक्त हुन मान्दैन । युक्रेनमा बेलायत अमेरिकाको सबैभन्दा ठूलो प्रशंसक बन्यो । यिनै यावत कारणले अमेरिकालाई मुद्रास्फीतिले छोप्नेबित्तिकै बेलायती अर्थतन्त्र र जनताले कष्ट भोग्नुप¥यो । बेलायतको सरदर आयु घट्दै छ । आगामी २ वर्षमा बेलायतको सरदर आम्दानी ७ प्रतिशतले घट्ने सरकारी आकलन छ । बेलायतको ऐतिहासिक निपुणतालाई राजनीतिक अराजकताले विस्थापित गर्ने निश्चित छ ।
अमेरिकी नीतिहरूले युरोपमा मच्चाइरहेको अराजकताको पहिलो पीडित बेलायत बनेको छ । तर, युरोपका अन्य सरकारहरूले अमेरिकी नीतिबाट मुक्त हुने मनस्थिति नदेखाए बेलायत एक्लो पीडित भने रहनेछैन ।
(ग्लोबल टाइम्सबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *