भर्खरै :

वर्गीय समाजमा राजनीतिक आन्दोलन आवश्यक

सबै मिलेर देश विकास गरौँ, जीवनस्तर उठाऔँ भन्ने धारणा नराम्रो होइन । तर, यो वर्गीय समाजमा सबै कसरी मिल्छन् ? सबै मिल्ने वातावरण कसरी तयार हुन्छ ? सबै मिल्न बस्न नसकेरै नेपालमा ६ दर्जनभन्दा बढी दलहरू खोलेका हुन् । यो समाजमा शोषण गर्ने शोषक र थिचिएर बस्ने शोषित–पीडित छन् । यही समाजमा सामन्त, जालीफटाहा, पुँजीपति, भ्रष्टाचारी, कमिसनखोरहरू र इमानदारीपूर्वक आ–आफ्नो क्षेत्रमा बुद्धि खियाएर काम गर्ने बौद्धिक श्रमिक र शारीरिक श्रम गर्ने श्रमजीवीहरू छन् । धनी झन् धनी बन्ने र गरिब झन् गरिब हुँदै जाने यो समाजमा कसरी सँगै मिलेर बस्न सक्छ ? पक्षपात, विभेद, शोषण हुने यो समाजमा सबै जनता कसरी मिलेर बस्न सक्छ ? यही कारण यहाँ राजनीतिक लडाइँ या आन्दोलनको खाँचो परेको हो ?
कति राजनीतिक दलहरू देश जोगाउन, स्वाधीन र सार्वभौम देश बचाइराख्न लडिरहन्छन् । कति दलहरू विदेशी शक्ति राष्ट्रको उठबसमा रहेर नेपाल र नेपालीलाई भन्दा विदेशी शक्ति राष्ट्रकै पृष्ठपोषण गरेर खुसी पार्छन् । ऐस आराम गरेर बस्न चाहने, श्रमजीवी वर्गको श्रम र पसिनामा रजाइँ गर्ने चाहने पक्षका शोषक, शासक, सामन्त, पुँजीपतिहरू र उनीहरूको पक्षपोषण गर्न लेखक, बुद्धिजीवी र सञ्चारकर्मीहरू पक्कै पनि राजनीतिक आन्दोलन चाहँदैनन् । एमालेका एक लेखक एवं नेताले वर्गसङ्घर्षको बाटो लिने कुनै पनि दल कम्युनिस्ट हुनै सक्दैनन् भनी त्यसै बोलेका होइनन् । तिनीहरू अहिले कुनै पनि राजनीतिक आन्दोलन गर्ने पक्षमा छैनन् । तिनीहरूलाई कम्युनिस्टको नाउँमा पुँजीवादी बन्दोबस्तको सरकारमा रहेर देशको ढुकुटीमा रजाइँ गर्न पाए पुग्छ, भागबन्डामा अल्झेर सत्तामा बस्न पाए पुग्छ । पद र पैसा भएपछि सिद्धान्त र विचारको राजनीति छोड्ने र त्यस्ताको पछि लाग्ने लेखक, बुद्धिजीवी र सञ्चारकर्मीहरूले राजनीतिक आन्दोलन आवश्यक छैन भन्नु अस्वाभाविक होइन ।
देशमा राजतन्त्रवादी दलहरू छन् र गणतन्त्रवादी दलहरू छन् । गणतन्त्रमा पनि अहिलेको जस्तो पुँजीवादी गणतन्त्रका पक्षधर र यसभन्दा अझ प्रगतिशील समाजवादी गणतन्त्र पक्षका दलहरू छन् । देशका सामन्त र पुँजीपतिहरूको समर्थन गर्ने र बहुमत जनताको हितमा सङ्घर्ष गर्ने दलहरू छन् । कुनै दलले अल्पमत जनताको प्रतिनिधित्व गर्ने र कुनै दलले बहुमत पक्षको जनताको प्रतिनिधित्व गर्छ । सङ्कीर्ण, क्षेत्रीय र साम्प्रदायिक राजनीति गर्ने दल र वर्गीय राजनीति गर्ने दल पनि देशमा छन् । यहाँ प्रतिक्रियावादीमात्र होइन अन्यायी, अत्याचारी, अपराधी, भ्रष्टाचारी, कमिसनखोरहरू छन् भने तिनीहरूको विरोध गर्ने या न्याय, समानताका निम्ति सङ्घर्ष गर्ने राजनीतिक दल र जनता छन् । राजनीतिक आन्दोलन अन्त्य गर्न त देशमा जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवाद स्थापना गर्नुपर्छ । शोषणरहित समाज स्थापना गर्नुपर्छ । गाउँ र सहरको भेद अन्त्य गर्नुपर्छ । सबैले खान, लाउन र बस्न पाउने व्यवस्था हुनुपर्छ । योग्यताअनुसार काम र कामअनुसारको ज्याला हुनुपर्छ । वर्गविहीन, शोषणविहीन समाज हुनुपर्छ । अनि यहाँ शान्त हुन्छ, विकास हुन्छ, सरकार स्थिर हुन्छ । राजनीतिक संस्कार बन्छ । भेदभाव र पक्षपात हुँदैन । अनि राजनीतिक आन्दोलन आवश्यक पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *