नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
अनिश्चित भविष्य र अगाडिको बाटो
(सन् २००२ देखि २००६ सम्म नेपालमा कार्यरत भारतका राजदूत रन्जित रेका संस्मरण ‘काठमाडौँ डेलिमा – रिसेटिङ इन्डिया नेपाल टाइज् नामक पुस्तकको भावानुवाद सान्दर्भिक भएको हुँदा यहाँ प्रस्तुत गरिएको छ । धारावाहिकरूपमा हामीले १४ भागसम्म प्रकाशित गरिसकेका छौँ । त्यस चौधौँ भागमा पुस्तकका दसौँ अध्यायका कुराहरू समावेश भएको थियो । पन्ध्रौँ भागमा पुस्तकको अन्तिम अथवा पुच्छारको अध्यायको भावानुवादको सारांशलाई प्रकाशित गरिएको छ । अन्तमा, लेखकका विचारमाथि प्रस्तुतकर्ताको आफ्नै आलोचनात्मक टिप्पणी पनि समावेश गरिएको छ । – सम्पादक)
राजदूत रन्जित रे अगाडि बढ्नुहुन्छ, “वर्तमानको उथलपुथलकारी परिवर्तनले संसारका समाज र समुदायमा ठूलो प्रभाव पारिरहेको छ । नोबेल पुरस्कार विजयता थोमस फ्रिडम्यानको भाषालाई सापत्ति लिएर भन्नुपर्दा प्रविधि र अन्य सूचनाको विकासले संसारलाई समतल बनाइदिएको छ । यसले मानवीय व्यवहार, हामी कसरी सोच्छौँ, हामी के गर्छौँ र हामी एक अर्कामा कसरी अन्तरक्रिया गर्छौँ भन्ने कुरामा व्यापक परिवर्तन ल्याइदिएको छ । कम्प्युटरको माउस चलाएको भरमा संसार तपाईँको आँगनमा आइपुग्ने समय हो यो । संसारभर वस्तु, सेवा र पुँजीको निर्वाध आवतजावत तथा केही हदसम्मको मानवीय स्रोतसाधनको कारणले लाखौँ लाख मानिसहरूलाई गरिबीको चपेटाबाट निस्कन सक्षम तुल्याएको छ । तर, यही भूमण्डलीकरणका केही दुर्बल पक्षहरू पनि देखिए । एकातिर असमानता बढ्दो छ भने अर्काेतिर तीव्रगतिले प्रविधिमा आएको परिवर्तनले परम्परागत धेरै सीपहरूलाई असान्दर्भिक र काम नलाग्ने तुल्याइदिएको छ । विकसित भनिएका देशहरूमै पनि बेरोजगारीको समस्या र असन्तुष्टीहरू व्याप्त छन् । पुराना पर्खालहरू भत्किए पनि नयाँ नयाँ पर्खालहरू निर्माण हुँदै गरेको देखिन थालेका छन् । ट्रम्पकालीन अमेरिकाले विश्वसामु आफ्नो जिम्मेवारीबाट पछि हटे भने बाइडेनले ‘अमेरिका फक्र्यो’ भन्ने नारा लिएर आएको घोषणा गर्यो । युरोपेली समूहबाट बेलायतको बहिर्गमनले (ब्रेक्जीट) सीमारहित युरोपको परिकल्पनामा तुषारापात भएको आभास दिलायो ।”
यता भारतसमेत क्षेत्रीय आर्थिक सहकार्यबाट पछि हटेर ‘भारत पहिलो’ र ‘आत्मनिर्भर’ को नयाँ नीति लिएर अगाडि बढेको देखिन्छ र राष्ट्रपति सी चिनफिङ दुई सय वर्षसम्म पश्चिमाले गरेको अपमानको चोटबाट तङ्ग्रिएर ‘चिनियाँ सपना’ को कुरा गर्दै विश्वको कुनाकाप्चा पुग्दै छ । ‘राष्ट्रवाद’ पुरानै लयमा फर्केको आभास हुँदै छ । पुराना संरचना र ढाँचाहरू प्रभावहीन र काम नलाग्ने भएका छन् । हिजोको निश्चितता आज अनिश्चितता र तरलतामा परिणत हुँदै छ । जलवायु परिवर्तनजस्तो भीमकाय समस्या र कोभिड महामारीको अनुभवले नयाँ विश्व व्यवस्थाको आकार कस्तो हुन्छ भन्ने निर्धारण हुने सङ्केत गरेको छ । विश्वका शक्ति राष्ट्रहरूको बिचमा नयाँ ध्रुवीकरणहरू पनि देखिँदै छ । ‘क्वाड’ र ‘एससिओ’ यसका परिणति हुन् । आउँदो विश्व व्यवस्था दुइ ध्रुवीय छायाँमा बहुध्रुवीय हुने हो वा बहुध्रुवीय छायामा दुई ध्रुवीय हुने हो या पहिलेजस्तै दुई ध्रुवीय मात्र हुने हो अझै यकिन भइसकेको छैन । आर्थिक शक्तिको आधारमा अमेरिकालाई उछिन्ने तर्खरमा चीन पुगेको आकलन गरिएको छ । तर, यी दुई देशबिच आर्थिक, सांस्कृतिक र प्रभावको प्रतिस्पर्धाले अन्य कुनै मुलुकहरू अछुटो नहुने स्पष्टै देखिन्छ । यस्तो अवस्थामा, भारत र चीनको सम्बन्धले पनि क्षेत्रीय तथा वैश्विक परिदृश्यमा प्रभाव पर्ने निश्चित नै छ ।
अझै स्पष्ट आकार लिइनसकेको यस नयाँ विश्व व्यवस्थाको परिदृश्य र पृष्ठभूमिमा नेपाल र भारतको सम्बन्धलाई अगाडि लैजाने चुनौती हामीसामु छ । भारतको ‘सबका साथ, सबका विकास और सबका विश्वास’ को नीति र नेपालको ‘समृद्धि नेपाल र सुखी नेपाल’ को परिकल्पनालाई कहाँ र कसरी जोड्न सकिन्छ भन्ने विषय पनि अनुतारित छ ? नेपाल हिजोको भारतको सुरक्षा छातामुनिको अवधारणाबाट बाहिर निस्कने चाहनासाथ नयाँ आशा र उमङ्गले अगाडि बढ्न चाहन्छ । उसले भारतमा आफ्ना नागरिकहरूले पनि भारतीयहरूकै समकक्षीको समान व्यवहारको आशा गरेका छन् । चीनलाई उसले पहिलाजस्तो भारतको विकल्पको छिमेकको रूपमा मात्र प्रस्तुत गर्न छोडेर उसको आर्थिक शक्तिबाट आफू पनि लाभान्वित हुने प्रयासमा बीआरआई सम्झौतामा प्रवेश गरेको देखिन्छ । यता, चीनलाई विशेषतः लडाखको झडपपछि भारतले एउटा ठूलो खतराको रूपमा लिएको छ । अर्कोतिर भारत र पाकिस्तानको वैमनस्यतको कारणले गतिहीन बन्न पुगेको सार्कको विकल्पको रूपमा उपक्षेत्रीय सहकार्य संयन्त्रजस्तै बीबीआइएन (बङ्गलादेश, भुटान, भारत र नेपाल सम्मिलित) र बिम्स्टेक (बङ्गलादेश, भुटान, भारत, नेपाल, श्रीलङ्का, इन्डोनेसिया र म्यानमार) लाई अगाडि बढाउनुपर्ने देखियो । भारत वचनमात्र दिने तर चीन साँच्चिकै काम गरेर देखाउने भन्ने छिमेकहरूको गुनासोबाट अब भारत सजग हुनुपर्छ । भारत र नेपालबिच भएका यस्ता विकास परियोजनाहरूका बारेमा कुरा गर्दा कामहरू समयमै सम्पन्न भएको देखिन्छ । अन्तरदेशीय तेल पाइपलाइन निर्माणका आयोजनाहरूजस्तै अमलेखगञ्जदेखि मोतिहारी, रक्सौल – वीरगञ्ज, विराटनगर – जोगबनी, नेपालगञ्ज – रूपैदिया र सुनौली – भैरहवामध्ये पहिलोले सेवा सुरु गरिसकेको छ । दुई देशबिच रेलमार्गका कार्यहरू पनि सुरु भइसकेको छ । जलस्रोत नेपालको सबभन्दा महत्वपूर्ण सम्पत्ति हो । यस अथाह सम्पत्तिको सही दोहनले दुबै देश लाभान्वित हुनसक्छ । यसको लागि विभिन्न जलविद्युत् आयोजनाहरू पनि अगाडि बढिरहेको छ । पञ्चेश्वर, माथिल्लो कर्णाली र अरूण तेस्रो यस्तै महत्वपूर्णमध्येका हुन् । पर्यटन क्षेत्रको कुरा गर्दा बुद्धिस्ट, हिन्दू र रामायण सर्किटलाई प्रवद्र्धन गर्न सकिन्छ । सीमा सुरक्षा र दुबै देशका नागरिकहरूलाई आवतजावतमा सहज गर्न सशस्त्र सीमा बललाई (एसएसबी) विशेष तालिमको खाँचो हुनसक्छ ।
नेपालमा क्रिकेटको क्रेज बढ्दै छ जहाँ नेपाललाई भारतले सहयोग गर्नसक्छ । त्यस्तै बलिउड भारतको ठूलो नरम शक्ति हो र यसको प्रभाव जताततै देखिन्छ । हो, पहिला नेपाल र भारतका नेताहरूबिच पर्याप्त संवादहरू हुन्थे, आज त्यसमा करिब करिब ताल्चा लागिसकेको छ । नेपाल र भारतका संसदीय क्रियाकलापहरूबिच पनि आदानप्रदान हुनुपथ्र्यो जसले दुई देशबिच शङ्का–आशङ्का न्यून हुने र विश्वास बढ्ने अवस्था हुन्थ्यो र नेपालमा भारतविरोधी भावनामा कमी आउँथ्यो । दुई देशका सेनाबिच पनि सैहार्दपूर्ण मैत्रीभाव हुनुपर्छ जुन सन् २०१५ को भूकम्पपछि नेपालका प्रधानसेनापति गौरव शमशेर जबरा र भारतका समकक्षी दलबीर सिं सुहागनले देखाउनुभएको थियो ।

नेपाल र भारतको सम्बन्धमा कुनै न कुनै तरिकाले चीन र भारतको सम्बन्धमा आउने उतारचढावले प्रभाव पार्ने गरेको छ । नेपालमा दुई छिमेकीको प्रभावबारेमा कुरा गर्दा भारतको नरम शक्तिको कारण भारत नै अगाडि देखिन्छ । अहिले चीन रुचाइने एउटै कारण छ उसको आर्थिक क्षमता । उसको अधिनायकवादी राजनैतिक पद्धतिप्रति भने बढ्दो विकर्षण छ । सांस्कृतिकरूपले जति भारतको सम्बन्ध र प्रभाव नेपाल र यस क्षेत्रमा छ चीनको सम्बन्ध नगण्य छ । हरेक भारतीय कूटनीतिज्ञले नेपालमा कार्यरत हुनुलाई जटिल र चुनौतीपूर्ण एवं आफू पुरस्कृत भएको ठान्दो रहेछ । हाम्रो सान्निध्यता, ऐतिहासिक तीतामीठा कुराहरूले, भौगोलिक निकटताले र एउटै नदी नालाहरू र पहाडहरूले जोडिएको कारणले होला दुई देशबिचको सम्बन्ध कहिले अति जटिलमोडमा पनि पुग्छ । यस्तो अवस्थामा उज्ज्वल भविष्यको लागि शान्त र परिपक्व भएर यसको समाधानको खोजी गर्नुबाहेक हामीसँग अरू विकल्प छैन ।
कोभिडको महामारीले नराम्ररी गाँजेको देशमा भारत पनि हुन गयो । यस अवस्थामा अरू छिमेकीलाई समेत सहयोग गर्न ऊ सक्षम भएन । तर, यस्तो बेला चीनले छिमेकलाई सहयोग गर्यो । यतिबेला हाम्रा छिमेकमा अब भारतले उसका छिमेकलाई कहिल्यै सहयोग गर्न नसक्ने हो कि भने आशङ्का पनि ग¥यो । तर, हामीलाई विश्वास छ महामारीको सङ्कटपछि दोस्रो अङ्कको आर्थिक वृद्धिका साथ भारत फेरि अगाडि दौडिनेछ । छिमेकले भारतको बहुलवाद, विधिको शासन र बहु–सांस्कृतिक विशेषतालाई निकै आशा र भरोसाले हेरेको छ । भारतलाई एउटा देशको रूपमा मात्र होइन बरु यसलाई अनुपम सभ्यताको थलो, बहुजातीयता र बहु–सांस्कृतिक मिलन बिन्दुको रूपमा पनि लिएका छन् जहाँ सबैले आफ्नो छुट्टै पहिचान भेटाउँछन् । भारतमा वशुधैव कुटुम्बकम् अथवा विश्व नै एक परिवारको भावना तरङ्गित हुन्छ र गुरुदेव रवीन्द्रनाथ टैगोरले विश्व भारतीको अवधारणालाई अगाडि सार्नुभयो जसले भारत विश्वकै साझा स्थल हो भने भावलाई फैलायो ।”

लेखकको विचारमाथि हाम्रो आलोचनात्मक टिप्पणी :
१. विश्व परिदृश्यमा शक्तिराष्ट्रहरूको क्षमता र भूमिकामा भइरहेको बदलावलाई लेखकले सारांशमा पस्कनु त भयो तर नयाँ विश्व व्यवस्थामा भारतको स्थान र उसले खेल्नसक्ने भूमिकाको बारेमा प्रस्ट चित्र प्रस्तुत भएको देखिँदैन । नेपालका दुई छिमेकीहरू चीन र भारत आजको एक्काइसौँ शताब्दीमा सोह्रौँ र सत्रौँ शताब्दीकै जस्तै आर्थिकरूपमा अब्बल अवस्थामा फर्कने क्षमताको बारेमा विश्वले आकलन र सङ्केत गरिरहेको बेला भारत भने सानो चित्त लिएर छिमेकहरूसँगै झिनामसिना कुराहरूमा अल्झिरहेको प्रतीत हुन्छ । आफूले हेप्न नसक्ने छिमेकहरू पाकिस्तान र चीनसँगको सीमा विवादलाई कहिल्यै नटुङ्गिने मुद्दा बनाएर अङ्ग्रेजहरूकै ताबेदारी गर्दै बस्छ र आफूले हेप्न सक्ने कमजोर छिमेकलाई नानाभाँति दुःख दिइरहन्छ । नेपालमाथिको ताजा हेपाइ महाकाली नदीको धार नेपालतिर फर्काइ एकपक्षीयरूपमा महाकालीमा तटबन्ध बनाउँदै गरेको घटना हो । पाकिस्तानसँगको उसको तिक्तताको मूल्य सबै सार्क राष्ट्रहरूले चुकाउनु परिरहेका छन् । पाकिस्तानसँग एउटै मञ्चमा बस्न नसक्ने भारतले विश्व रङ्गमञ्चमा राम्रो भूमिका खेल्नेमा शङ्का गर्ने ठाउँ यथेष्ट छ ।
नयाँ विश्व व्यवस्थामा चीनलगायत अन्य क्षेत्रीय शक्तिहरूको भूमिका बढ्ने र पश्चिमा शक्तिहरूको प्रभाव क्रमशः घट्ने आकलन विभिन्न अध्ययनले देखाउँदै आएको हो । ब्रेक्जिट, ट्रम्पकालीन विदेश नीति तथा युरोपीय देशहरूबिचको मतभेद आदिले पश्चिमा शक्ति उँधो लागेको सङ्केत गरेको हो । बदलिँदो विश्वको यो परिदृश्यमा न भारतले चीनसँग र उसका छिमेकहरूसँगको सम्बन्धलाई नयाँ रङ्ग दिन सक्यो न अमेरिकाको पुच्छर छोड्न सक्यो । उल्टै ‘आइपीएस’ र ‘एसएसपी’ जस्ता चीनविरोधी अमेरिकी मोर्चाबन्दीमा आफूलाई संलग्न गर्दै आइरह्यो ।
२. भारतलाई लेखकले वशुदैव कुटुम्बकम्को आदर्श भावनासँग दाँज्ने प्रयास गर्नुभयो ! तर अफसोच, मोदीको विगतको फासीवादी नीतिले हिन्दूइतर जातजाति र धर्मावलम्बीहरूलाई किनारा लगाउने र निम्ट्यान्न पार्नेसम्मका कार्यहरूले यस भावनालाई धुलोमा मिलाउने कार्यमात्र भइरहेको प्रस्ट भयो । यस नीतिको विरोधमा भारतका जनता सजग हँुदै गरेको पछिल्लो उदाहरण हो काङ्ग्रेसको १५० दिनको कन्या कुमारीदेखि कश्मीरसम्मको पदयात्रा । जसमा मुसलमानदेखि अन्य हिन्दू इतरहरूको सहभागिता र सद्भाव राम्रै भएको मानिन्छ । लेखक चीनको तुलनामा भारतको नरम शक्ति यस क्षेत्रमा प्रभावकारी भएको तर्क गर्छन् । तर, हरेक छिमेक श्रीलङ्का र माल्दिभ्सदेखि नेपालसम्मले चीनसँगको सम्बन्ध बलियो बनाउने आर्थिक र अन्य कूटनैतिक सम्बन्धलाई हरेकपल्ट भाँजो हाल्ने कार्य पनि गर्दै आएको तथ्यसँग सबै छिमेकीहरू भुक्तभोगी छन् ।
३. लेखकले पुस्तकमा धेरैपल्ट उठाएको मुद्दा भनेको नेपालमा भारतविरोधी भावना ब्याप्त रहेको भन्ने हो । यस अध्यायमा पनि पहिलाजस्तो दुई देशका शीर्ष नेताहरूको बिचमा संवाद हुन नसकेको अवस्था र अन्य संसदीय क्रियाकलाप र विभिन्न समूहहरूको माझ दोहोरो – तेहोरो भ्रमण र छलफल हुननसक्नुले दुई देशबिच शङ्का–आशङ्का तथा भारतविरोधी भावनामा वृद्धि भएको भन्ने तर्क लेखकले गरेका छन् । तर, नेपालमा भारतविरोधी भावनाको अङकुरण गर्ने प्रमुख कारक तत्व हामी फेरि पनि भन्छौँ– भारत सरकारको हेपाहा प्रवृत्ति नै हो । अहिले कर्णालीको धार नेपालतिर धकेलेर पारिपट्टि एकपक्षीयरूपमा तटबन्ध निर्माण गर्ने काम भारतीय पक्षले गर्दा त्यसको स्थानीयवासीले विरोध सुुरु गरेका छन् । यसरी नेपालको सीमा मिच्ने र सिमानामा बलमिच्चाइ गर्ने भारतीय सरकार र प्रशासनको निरन्तरको क्रियाकलापले नेपालमा भारतविरोधी भावनामा तीव्रता आउनु स्वाभाविक नै हो । नेपालको क्रिकेटमा लगानी बढाएर वा नेपाली युवालाई फकाएर भ्रष्ट र दलाली गर्ने नेताहरूले जस्तै भारतको बलमिच्चाइलाई देशभक्ति नेपालीले मौन समर्थन गर्लान् भने भारतको सपना कहिल्यै पूरा हुनेछैन ।
४. नयाँ विश्व व्यवस्थामा चीनलगायत अन्य क्षेत्रीय शक्तिहरूको भूमिका बढ्ने र पश्चिमा शक्तिहरूको प्रभाव क्रमशः घट्ने आकलन विभिन्न अध्ययनले देखाउँदै आएको हो । ब्रेक्जिट, ट्रम्पकालीन विदेश नीति तथा युरोपीय देशहरूबिचको मतभेद आदिले पश्चिमा शक्ति उँधो लागेको सङ्केत गरेको हो । बदलिँदो विश्वको यो परिदृश्यमा न भारतले चीनसँग र उसका छिमेकहरूसँगको सम्बन्धलाई नयाँ रङ्ग दिन सक्यो न अमेरिकाको पुच्छर छोड्न सक्यो । उल्टै ‘आइपीएस’ र ‘एसएसपी’ जस्ता चीनविरोधी अमेरिकी मोर्चाबन्दीमा आफूलाई संलग्न गर्दै आइरह्यो । आफू गुजरातको मुख्यमन्त्री हँुदा चीनकै पुँजीको लगानीमा संरचना निर्माणमा वाहवाही कमाएका मोदीले अमेरिका र युरोपका विदेश नीतिले उनीहरू आफैभित्र खुम्चिन थालेको सङ्केत गर्दा चीन बीआरआईको परियोजना लिएर संसारका सबै देशले उसको आर्थिक र नयाँ प्रविधिको क्षमताबाट फाइदा लिन सकोस् र दुबैलाई फाइदा हुने ‘जीत– जीतको’ नीतिलाई प्रस्ताव गर्दै अगाडि बढ्दा पश्चिमाहरूको चीनको ‘ऋणपासोको’ हल्लाकै पछि दौडिँदै भारत आज चीनकै खेदो खन्नमा तल्लीन हुँदा भोलि उसले नेतृत्वकारी भूमिका खेल्नेमा हामी विश्वस्त हुन सक्नेछैनौँ ।
समाप्त
Leave a Reply