भर्खरै :

थाथुचास्थित कृष्ण मन्दिर शिलान्यास

थाथुचास्थित कृष्ण मन्दिर शिलान्यास

भक्तपुर, २३ मङ्सिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. ३ थाथुचास्थित कृष्ण मन्दिरको शुक्रबार शिलान्यास गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख प्रजापतिले विदेशीको सहयोगविना विगत ५ वर्षमा भक्तपुर नपाले १२४ वटाभन्दा बढी सम्पदा पुनःनिर्माण र जीर्णोद्धार भएको अवगत गराउँदै ती सबै काम स्थानीय जनताबाट गठित उपभोक्ता समितिमार्पmत नै गरिएको बताउनुभयो ।
उपभोक्ता समितिबाट काम गराउँदा कम खर्चमा गुणस्तरीय निर्माण हुने, जनताको अपनत्व हुने, आफ्नै स्रोत र साधनको प्रयोग हुने र मौलिक प्रविधिको संरक्षण हुने बताउँदै उहाँले कृष्ण मन्दिर पुनःनिर्माणमा पनि उपभोक्ता समितिका पदाधिकारीहरूले इमानदारीपूर्वक काम गरी समयमै निर्माण सम्पन्न गर्न अनुरोध गर्नुभयो ।
उहाँले पर्यटकहरू भक्तपुरका मूर्त अमूर्त सम्पदा अवलोकन गर्न आउने हुँदा भक्तपुर नपाले सम्पदा पुनःनिर्माणलाई विशेष जोड दिई कार्य अगाडि बढाउँदै आएको बताउँदै उहाँले लोप हुने अवस्थामा रहेका सांस्कृतिक एवम् पुरातात्विक महत्व भएका सम्पदाहरूलाई पुनःजीवन दिने काममा नपा अग्रसर रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले कृष्ण मन्दिरको पुनःनिर्माण प्राप्त प्रमाणका आधारमा मौलिक शैलीमा उपभोक्ता समितिमार्फत पुनःनिर्माण गरिने जानकारी गराउनुभयो ।
शिलान्यास कार्यक्रममा नेमकिपा भक्तपुर नपा वडा नं. ३ का पार्टी इन्चार्ज रामसुन्दर खाताखो, वडा सदस्य कृष्णगोपाल चौगुठी, वडा सदस्य सुनिता अवाल र कृष्ण मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष कमलनारायण धुख्वाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *