नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
सङ्घीय गणतान्त्रिक संविधान जारीपछिको दोस्रो महानिर्वाचनको परिणाम आइसकेको छ । सङ्घीय संसद्मा बहुमत कुनै दलको नआएकोले सरकार गठनको लागि जोडघटाउ सुरु भइसकेको छ । पहिलो महानिर्वाचनबाट प्रतिपक्षको जनादेश पाएको नेका कार्यकालको अन्ततिर सत्ताधारी हुन पुग्यो । दोस्रो महानिर्वाचनबाट ठूलो दल बनेको नेकाले ‘पाँच वर्ष संसद्लाई जीवित राख्न’ बहुमत खोजिरहेको छ । काम चलाउ नेकाको सरकारले एउटा अध्यादेश ल्याएर ‘राजनीति’ को नाममा फौजदारी मुद्दाका अपराधीहरूलाई माफी दिन खोज्दै छ । संसद्को ठूलो दल नेकाको यो कार्यलाई देशका कानुनविद्, संविधानविद्ले आलोचना र विरोध गरेका छन् । स्वच्छ र स्वस्थ राजनीतिका हिमायती नेता र दलहरूले पनि नेकाको कार्यलाई गलत भनिरहेका छन् । अराजनीतिक र असंवैधानिक कार्य नै नेकाको पहिलो पाइला भएको छ । आगामी दिनमा नेकाले देश र जनताको हित र प्रजातन्त्र, कानुनीराजलाई संस्थागत गर्ने आशामा अहिले नै पानी खन्याएको छ ।
सरकार गठनको लागि बहुमत पु¥याउने नाममा अपराध र अपराधीलाई हौस्याउनु नेकाको निकृष्ट राजनीतिको परिचय हो । बहुमत नपुगे पनि ठूलो दलको हैसियतले अल्पमतको सरकार गठन गर्न सकिने सम्भावना जीवित छ । सत्तामा जानै नपाए पनि अपराध र अपराधीलाई काँधमा बोक्नु हुँदैनथ्यो । तर, नेकाले त्यस्तै वैशाखी टेकेर आपराधिक राजनीतिलाई प्रश्रय दिन खोजेको छ । यो अँध्यारो भविष्यको सूचक हो ।
नेकाको यस्तै चरित्र र संस्कार बुझेरै संसद्बाट महाअभियोग लगाइएका प्रधानन्यायाधीश चोलेन्द्रको निलम्बनको फुकुवा एक सचिवले गरे । सार्वभौम संसद्को अधिकार क्षेत्रलाई एक सचिवले उल्लङ्घन गर्नु अराजकता र कुशासनको पराकाष्ठा हो । त्यसो त नेकाको शासनमा यस्ता बेथिति र विसङ्कतिको हिसाब गरेर कहिले साध्य भएको थियो र अहिले होस् ।
जनता अहिले कसको नेतृत्वमा कस्तो सरकार गठन होला भनी अनुमान गरिरहेको बेला नेकाको कामचलाउ सरकारको अध्यादेशले सबै झसङ्क भएका छन् । अदालतले दोषी ठह¥याइसकेका गैरराजनीतिक अपराधीहरूको जगमा सरकार गठन हुने देखिएको छ । नेकाको सङ्कल्पपत्रबाट, सिद्धान्त र विचारबाट निर्वाचित स्वतन्त्र सांसदहरूलाई विश्वासमा लिन नसकेरै अपराधीहरूलाई काखी च्याप्न बाध्य भएको देखिन्छ । यसको अर्थ नेकाको सिद्धान्त, विचार र सङ्कल्पपत्रको कुनै मूल्य नभएको पनि प्रमाणित गर्छ । मूल्यहीन सिद्धान्त, विचार र घोषणापत्र बोकेको नेकाको सरकारले देशलाई कता डो¥याउने होला ? प्रजातन्त्रलाई कुन खाल्डोमा जाक्ने होला ? सर्वत्र चिन्ताको विषय भएको छ ।
यदि भोलि अपराध र अपराधीको वैशाखी टेकेर दक्षिणपन्थी–वामपन्थी गठबन्धनको सरकार गठन भएमा त्यसलाई अपराधी सरकारको संज्ञा दिँदा अन्यथा होला ?
मजदुर