नेपालीहरू भारतविरोधी होइनन् – १
- कार्तिक ११, २०८३
दैलेख, २७ मङ्सिर । नेपाल मजदुर किसान पार्टी कर्णाली प्रदेश संयोजक एवम् केन्द्रीय सदस्य सरोजराज गोसाईंले निर्वाचनलाई नेमकिपाले वर्गसङ्घर्षकै शिलशिलाको रूपमा उपयोग गर्न सफल भएको बताउनुभयो ।
मङ्गलबार दैलेखको डुङ्गेश्वर गाउँपालिकामा सम्पन्न निर्वाचन समीक्षा बैठकमा संयोजक गोसाईंले देशघाती एमसीसी सम्झौता तथा नागरिकता विधेयक पारित गर्ने देशद्रोही शासकहरूको विरोधमा नेमकिपाले गाउँ गाउँमा व्यापक जनतालाई सचेत बनाएको स्पष्ट पार्नुभयो । नेमकिपाले उठाएको आवाजलाई समर्थन गर्दै सचेत मतदाताले मतदान गरेको कारण विगतमा भन्दा यसपटक समानुपातिकमा मत बढेको उल्लेख गर्दै संयोजक गोसाईंले कसैलाई लोभलालच नदेखाई, कसैलाई डरत्रास नदिई नेमकिपाको सिद्धान्त, नीति र दृष्टिकोणको आधारमा प्राप्त मतको कारण शासक दलहरू तिलमिलाएको छ भन्नुभयो ।
बैठकमा नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले आफ्नै विचार, दृष्टिकोण र घोषणापत्रको आधारमा नेमकिपाले मात्र निर्वाचन लडेको बताउँदै शासक दलहरूले अवाञ्छित चलखेल नगरेका भए नेमकिपालाई कसैले हराउन सक्दैनथ्यो भन्नुभयो । निर्वाचनमा जितेका र हारेका शासक दलहरूका उम्मेदवारहरूले पैसाको खोलो बगाएको चर्चा बाहिर आएको उल्लेख गर्दै अध्यक्ष शाहीले गठबन्धन वा तालमेलको नाममा शासक दलहरू पाँचसात वटा दल मिले पनि कसैले बहुमत ल्याउन सकेनन् भन्नुभयो ।
नेमकिपा डुङ्गेश्वर गाउँ समितिका अध्यक्ष जगत ओलीको अध्यक्षतामा सम्पन्न बैठकमा नेमकिपाका पूर्वकेन्द्रीय सदस्य उदयजङ्ग शाही, केन्द्रीय सदस्य नर्मा गुरुङ, हरिसुन्दर वासीलगायत गाउँ समितिका पदाधिकारीहरूले मङ्सिर ४ गते सम्पन्न निर्वाचनबारे आ – आफ्नो अनुभव सुनाउनुभयो ।
यसैगरी सोमबार साँझ राकम कर्णालीमा आठबीस नगरको निर्वाचन समीक्षा भेला सम्पन्न भयो । उक्त भेलामा नेमकिपा कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईं निर्वाचन सकिए पनि पार्टी कार्यकर्ताहरू अझ बढी सक्रिय भएर देश र जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका कार्यकर्ताहरू हरेक विषयमा जानकार हुनुपर्ने चर्चा गर्दै विद्यालय र स्वास्थ्य केन्द्रका सेवाहरू प्रभावकारी बनाउन कार्यकर्ताहरू जागरुक हुनुपर्छ भन्नुभयो । भौतिक विकासमात्र विकास नभई जनताको सांस्कृतिक स्तर उठाउनु महत्वपूर्ण विषय भएको हुँदा पार्टी कार्यकर्ताहरू गम्भीरतापूर्वक लाग्नुपर्ने चर्चा गर्दै संयोजक गोसाईंले नेमकिपाले निर्वाचन जित्नैको लागि मात्र भाग लिएको नभई जनताको राजनीतिक चेतनास्तर उठाउन उपयोग गरेको स्पष्ट पार्नुभयो ।
नेमकिपाका पूर्व केन्द्रीय सदस्य उदयजङ्ग शाहीले निर्वाचन प्रचारको क्रममा जनताको घर दैलो गर्नेबेला एक दिन र एक पटक पनि कसैबाट नेमकिपाको आलोचना सुन्नुनपरेको अनुभव सुनाउनुभयो । नेमकिपा पुँजीवादी सरकारमा जाँदैन भन्ने जनताले बुझिसकेको उल्लेख गर्दै पूर्व केन्द्रीय सदस्य शाहीले नेमकिपाले उठाएको देशभक्तिपूर्ण मुद्दामा व्यापक जनताले समर्थन गरेका छन् भन्नुभयो ।
नेमकिपा आठबीस नगर समितिका अध्यक्ष जयबहादुर बडुवालको अध्यक्षतामा सम्पन्न समीक्षा भेलामा नेमकिपाका केन्द्रीय सदस्य बजिरसिंह बिक, नविन सिजापतिलगायतले नेमकिपालाई मतदान गर्ने मतदाताहरूलाई धन्यवाद दिनुभयो ।
………
Leave a Reply