भर्खरै :

जिल्लाव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न

जिल्लाव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न

भक्तपुर, १ पुस । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवस (मङ्सिर २२) को अवसरमा विद्यार्थी हित समिति भक्तपुर जिल्ला समितिको आयोजनामा जिल्लाव्यापी वक्तृत्वकला प्रतियोगिता आस्था थियटरमा सम्पन्न भयो ।
प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले सरकारले शिक्षा क्षेत्रमा बजेट कटौती गरेको कारण शैक्षिक अवस्था राम्रो नभएको हो भन्नुभयो ।
उहाँले काम गरी खाने कामदार वर्गका छोराछोरीको पढ्न पाउने अधिकारबाट वञ्चित हुने अवस्था हटाउनको लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउँदै त्यो समाजवादी शिक्षा व्यवस्थामा मात्र सम्भव हुन्छ भन्नुभयो ।
उहाँले विद्यार्थीहरूले आफ्नो पाठ्यक्रमसँगसँगै माक्र्सवादी साहित्यको अध्ययन गर्नुपर्ने र विद्यार्थीहरूले नबुझे पनि बुझेजस्तै गरी बस्न नहुने बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले आन्दोलनको नाममा शासक दलका विद्यार्थी सङ्गठनहरूले विद्यालय बन्द गराउनेजस्ता विकृतिको विरुद्धमा नेक्राविसङ्घ लागेको स्मरण गराउनुभयो ।
विद्यार्थीहरूले शैक्षिक पाठ्यक्रमसँगसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकार हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले विद्यार्थीहरूमा देशभक्तिपूर्ण भावनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
नेक्राविसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष विलम सुवालले स्थापना दिवसको अवसरमा विहिसले विविध रचनात्मक गतिविधि गर्दै आएकोमा प्रशंसा गर्दै निरन्तरता दिन भन्नुभयो ।
विद्यार्थी हित समिति भक्तपुर जिल्ला समितिका अध्यक्ष दीक्षा बाटीको सभापतित्वमा भएको कार्यक्रममा इम्प्रेस सुवालले पनि बोल्नुभएको थियो ।
‘विद्यार्थी राजनीतिको महत्व’ र ‘सामाजिक क्रियाकलापमा विद्यार्थीको भूमिका’ विषयमा भएको वक्तृत्वकला प्रतियोगितामा पारागन एकेडेमीका एन्जेल खड्का, वागीश्वरी माविका प्रकाश रोकाया, बाल विकास ई.स्कूलका सुरभी लाखा क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभएको थियो । प्रतियोगितामा विजयीहरूलाई अतिथि प्रकाश गुरुङ र ज्ञानसागर प्रजापतिले पुरस्कार वितरण गर्नुभएको थियो । उपस्थित सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *