भर्खरै :

बहुला कुकुरले भुक्दैमा बहुला हुने होइन

बहुला कुकुरले भुक्दैमा बहुला हुने होइन

कथा
‘अब थाहा हुन्छ त्यो गोपालले, बाबुआमाको सम्पत्ति बेच्ने हो कि जेलमा बस्ने हो, १२ लाख कसरी तिर्छ’ भन्दै सभासद् स्यमालाल र वकिल सानुलाल जिल्ला अदालतबाट आइरहेका थिए ।
दायाँबायाँ गार्ड राखेर मुसुमुसु हाँस्दै फाइँफुइँ गरेर आइरहेका ती दुवैको मुख नाङ्लो जत्रो थियो । उनीहरूको स्वर ठूलठूलो थियो ।
जिल्ला विकास र नगरपालिकामा कामको सिलसिलामा आइरहेका मानिसहरूले उनीहरूको कुरा सुने । उनीहरूको स्वर सुनेर कतिले कान ठाडो पारे । कतिले के कराउँदै आएको हो, खुस्क्यो कि क्या हो भनेर एकले अर्काको मुख हेराहेर गरे ।
फसि देवलमा बसिरहेका मानिसहरूको पनि एक अर्काबिच कानेखुसी भयो– “तिनीहरू किन कराउँदै आएका हुन् ? घरखेत स्वाहा हुने भो रे ! जेल जाने भो रे !”
अदालतमा कर्मचारीहरूबिच पनि चिया खाँदै त्यही कुरा भइरहेको थियो ।
अदालतमा एक कर्मचारीले अर्को कर्मचारीलाई भन्यो, “सभासद् स्यमालालको इज्जतमा धक्का पु¥यायो रे !”
इज्जतमा असर पर्ने गरी समाचार छापेको हुँदा मुद्दा राखेको रे ! १२ लाख रूपैयाँ क्षतिपूर्ति नलिई कहाँ छोड्ने रे ! यही कुरा जिल्ला प्रशासन कार्यालय र जिल्ला विकासमा पनि प्रचार भयो ।
उनीहरू भुनभुनाउँदै आ–आफ्नो घरतर्फ लागे । उनीहरूलाई बटुवाहरूले कस्ता खुस्केका मान्छे भन्दै हेरिरहे – एकले अर्काको मुख हेरेर ।
कुनै दुःख कष्ट नगरी सभासद् भएका स्यमालाललाई अर्को पार्टीको कार्यकर्ता भड्काउने सर्तमा मनोनीत गरेको कुरा टोल–टोल र गाउँ–गाउँमा पहिल्यै प्रचार भएको थियो ।
सानुलाल रिसाएर आएको साँढेझैँ राँगोको जत्रो आँखा पारेर हिँड्डुल गरिरहेको गोपालले धेरैपटक देखे उनलाई कहीँ कतै भेट हुँदा हालखबर के छ भन्न पाउँदैन “मलाई अहिले टेन्सन छ, जीउ थरथर कामिरहेको छ, कुरा गर्ने फुर्सद छैन” भनी हेर्दै नहेरी जाने गरेको गोपालले धेरैपटक चाल पाइसकेका थिए ।
पहिले पहिले भेट भयो कि एक एक घण्टा दिक्क नमानी कुरा गर्न पछि नपर्ने सानुलाल चुनाव नजिकिँदै आएदेखि अभिमानीको मात चढेको सबैजसोलाई थाहा थियो ।
उनको मुटु किन काम्यो उनलाई किन टेन्सन भयो, बोल्ने फुर्सद छैन भनेर मात्तिएर हिँडेको कुरा झ्याली नपिट्दै टोल–टोलमा पुग्यो ।
एकदिन चोर्चा टोलमा गोपाल र सानुलालको भेट भयो । हतार–हतारमा स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै आइरहेको सानुलाललाई गोपालले आज कता हो के भनेका थिए उनले डराएको मुद्रामा भने, “आज स्वतन्त्र बुद्धिजीवीहरूको सम्मान र पार्टीको भण्डाफोर कार्यक्रम छ ।”
सानुलाल दत्तात्रयतर्फ लागे । गोपाल पनि आफ्नो बाटो लागे ।
दत्तात्रयमा मञ्च बनाइरहेको ठाउँमा मञ्च नजिकै बैङ्कमाफिया, ठूलो पार्टी भनी तर्साएर सम्पत्ति नदिने भाइमारा, उद्योग चलाउन लिएको ऋण दिन नपर्ने गरी मुद्दा राखेका व्यक्तिहरूको जमघट भइरहेको गोपालले देखे । सानुलाल त्यहीँ ठाउँमा जाने कुरा गोपालले चाल पाए । चीलले च्यापेको कुखुराको झैँ जीउ थरथर कमाउँदै गएको देखेर गोपालको मनमा कुरो खेल्यो– नत्र ‘बोक्सी’ आएको महिलाको झैँ जीउ किन थरथर काम्छ र ?
सानुलालको गतिविधि हेरेर सुकुलढोकाको चिया पसलमा चिया खाँदै दुईजना व्यक्ति कानेखुसी गर्दै थिए– आजकल सानुलाल त परालको त्यान्द्रो देख्यो कि सर्प सम्झेर खुट्टा उचाल्छ रे ! तर्सेरमात्रै उनको दिमाग सन्तुलनमा छैन रे ! उत्ताउली उनको पत्नीले गर्दा उनी बिग्रेका रे !
गोपालले यता आफूलाई मुद्दा राखेदेखि झन् भ्रष्टाचारी, कालाबजारीहरूको छापामार्फत विरोध गरिरहे । आफ्नो पत्रिकामा उनले कहिल्यै भ्रष्टाचार, कमिसन र कालाबजारीहरूको विरोध गर्न छोडेनन् ।
भण्डाफोर कार्यक्रममा बैङ्कमाफिया, सानुलाल र चरणकाजीलाई सम्मान गरेको रहेछ । उनीहरूलाई सम्मान के गरिएको थियो । त्यस दिनदेखि आफूलाई खुब बुद्धिजीवी ठान्ने चरणकाजीको फूर्ति स्यमालाल र सानु लालको भन्दा खपिनसक्नु छ ।
रिसाउने स्वभावका चरणकाजीलाई छरछिमेकहरू फन्टुस नम्बर एक भन्छन् । बुद्धिजीवीहरूले उनलाई हावादारी भन्छन् । भएको कुरा नभन्ने, बढाइचढाइ गर्ने कुरौटे भएकाले उनलाई धेरैले हावादारी भनेका रहेछन् । कोही कोही त उनलाई ‘ध्वाँस’ भन्दारहेछन् ।
आफूलाई जतिसुकै जान्ने बुझ्ने भन्ठाने तापनि उनको बानी र आचरण गधाको जस्तो स्वभावको थियो । उनले आफूझैँ अरूलाई पनि गधा बनाउने यत्न गरिरहे । अरूलाई गधा बनाउन पाँच, छ, सात आठ महिना आफ्नो भएभरको बुद्धि र शस्त्रअस्त्र प्रयोग गरे । तर, उनको काम सफल भएन । आफ्नो काम सफल नभएपछि दिमाग ठीक नभएको मान्छेझैँ रिसाउने र झर्कने उनको बानी आफ्नो मातापितालाई राम्ररी थाहा थियो ।
स्वतन्त्र बुद्धिजीवी भएदेखि उनले जहाँसुकै गए पनि, बसे पनि भुक्ने काम गरिरहेकाले कतै ‘चरणकाजी बहुला कुकुर त भएन’ भन्थे । कतिले उनलाई रेविज रोगविरुद्ध सुई दिनुपर्यो भनी व्यङ्गय गर्थे ।
सर्वसाधारणलाई राम्ररी थाहा छ– बहुला कुकुरले भुक्दैमा अरू बहुला हुँदैन । हो, बहुला कुकुरले हामीलाई टोक्न दिनुहुँदैन । समाज बिगार्न, भड्काउन टोल–टोलमा बहुला कुकुरहरू छोड्न सक्छ, बहुला कुकुरले भुकाएर तर्साउन सक्छ, बहुला कुकरले टोकाउन अनेक जालहरू बुनेको हुनसक्छ । त्यसैले पलपल र क्षणक्षणमा हामी चनाखो र सतर्क हुनुपर्छ ।
दिन बित्दै गयो । कुकुरले झैँ भुक्ने काम उनीहरूले छोडेनन् । पहिलेको पार्टीमा दस वर्षमा नगरेको काम अहिले दुई तीन महिनामा गरेँ भनी फूर्ती गरे, सान देखाए । तर, उनीहरूको काम विरोधको निम्ति विरोधमात्र होइन, हावादारी भएको हुँदा कसैले टेरपुच्छर गरेनन् । त्यत्रो ‘ठूलो’ काम गरे पनि ठूलठूलो पोष्टमा नराखेको हुँदा उनीहरूको अनुहार चहकिलो पनि थिएन । कहिलेकाहीँ आफूले आफूलाई धिक्कार्थे ।
सानुलालको कानुन आयोगमा र चरणकाजीको प्रज्ञाप्रतिष्ठानमा बस्ने आशा हावाले उडायो । आफ्नो सपना चकनाचुर भयो ।
मन परेर पनि ठाउँमा नपु¥याइएको हो या उनीहरूको चालामाला ठीक नभएर नपु¥याइएको हो ? पार्टीभित्र छलफल भयो । पार्टी बैठकमा कार्यकर्ताबिच कचमच र झगडा भयो । “ज्यानको बाजी राख्ने, रगतको खोलो बगाउने एकथरी, कुनै दुःखकष्ट नै नगरी जुङ्गा मुसार्ने अर्को होइन ?’ भन्ने कुरामा विवाद भएको जानकारी बाहिर आयो । कार्यकर्ता भड्काउने सर्तमा स्यमालाललाई सभासद् गर्न मिल्छ ? त्यो त नामझैँ काम पनि बिग्रेको भएन र ! भन्ने खबर यत्रतत्र फैलियो ।
लास बेपत्ता भएका नागरिकहरूको खैखबर अझै पत्ता लगाउन सकेको छैन । गोली लागेर जीवनमरणको अवस्थामा रहेका देशभक्तहरू छटपटिरहेका छन् । खोइ ‘क्रान्तिकारी’ भन्ने सरकारले के गर्न सक्यो ? पार्टीभित्र भएका र उठेका यस्ता विवादका कुराहरू एक कान दुई कान हुँदै मैदान भयो ।
आजकल पार्टीलाई पनि मान्छे भए पुग्छ । पार्टी ठूलो भए पुग्छ । चोर, लुटाहा, फन्टुस, भ्रष्टाचारी जो गए पनि पार्टीमा भित्याइन्छ, सम्मान गरिन्छ । मिल्छ मिल्दैन, सही खराबको कुनै मतलब राख्दैन । त्यस्तो मानिसले के पार्टीलाई राम्रो गर्ला ? देश र जनताको सेवा गर्ला ? त्यहीँ भएर त हो नि ठूलो पार्टी र ‘क्रान्तिकारी’ सरकारले देश र जनताको निम्ति केही गर्न नसकेको भनी टोल–टोल र गाउँ–गाउँमा प्रचार भइरहेको हुन्थ्यो ।
दत्तात्रयमा सम्मान गरेको भोलिपल्ट सूर्यमढीमा पनि हल्ला भयो– ए ! बैङ्कमाफियालाई सम्मान ? कालाबजारीलाई पार्टी सदस्यता ? सम्मान र भण्डाफोर कार्यक्रमलाई त साँच्चै मान्नुपर्ने रहेछ । यो पनि उनीहरूको ‘चमात्कार’ र ‘क्रमभङ्ग’ नै होला होइन र ! आदि ।
जगतवीरको उक्त कुराको समर्थन गर्दै कृष्णहरिले भने, “कहाँ जगतवीर । तिमीलाई याद छ कि छैन ? मञ्चको चार कुनामा बसिरहेका व्यक्तिहरू कोही मूर्ति चोर, कोही गाँजा चरेस खाने त कोही शाहीकालमा मनोनीत वडाध्यक्षहरू ।
अर्को मित्रले पाखुरा देखाउँदै व्यङ्गय गर्दै भने, “अग्रगामी पार्टीको करामत र चमत्कार भनेको यही त हो नि ‘नयाँ देश’ बनाउन नयाँ मान्छे चाहिँदैन ?”
‘नयाँ देश’ बनाउने पार्टीले चोर, फटाहाहरूलाई नयाँ बुहारी भित्याएर देश बनाउन सक्ला ? सहिदको रगतमा होलि खेल्ने नकच्चराहरूले जनताको सेवा गर्लान् ? सहिदको रगतमा होलि खेल्नु के उनीहरूलाई सुहाउँछ ? इज्जत नभएका नकञ्चराहरू ! नजिकै बस्ने अर्को साथीले भन्यो ।
“चोर, फटाहा र लुटाहाले तपस्या गर्दैमा, पार्टीभित्र पसेर सम्मान गर्दैमा, के कोही मानिस सन्त महन्त हुन्छन् ? के उनीहरू देवता हुन्छन् ?,” जगतवीरले भने ।
अस्ति गोपाललाई मुद्दा राख्यो रे ! पत्रिकामार्फत भ्रष्टाचारी र कमिसनखोरहरूको विरोध ग¥यो रे ! बैङ्कमा राखेको रकम तिर्न नपर्ने गरी सभासद् स्यमालालले बैङ्कमा दबाब दिएको समाचार छाप्यो भनेर मुद्दा राखेको रे ! त्यही भएर वकिल सानुलाल र स्यमालाल फाइँफुइँ गरेर लम्किरहेका रे ! उनीहरूको फूर्ति त हावाहुरीभन्दा सहन गा¥हो छ । यही कुरो अरू टोल–टोलमा पनि भयो ।
एक दिन उनीहरूको पार्टीभित्रको गोप्य कुरा एक व्यक्तिले गोपाललाई सुटुक्क भन्यो– गोपाललाई अनावश्यक मुद्दा राख्यो रे ! मुद्दा राखेको कसैलाई मन परेन, हेर्न चाहेन रे ! मुद्दा राखेपछि पार्टीकै बदनाम भयो रे ! पार्टीभित्रको त्यो कुरा सुनेर स्यमालाल, सानुलाल र चरणकाजी रुखबाट खसेको चराझैँ भयो रे ! उनीहरूलाई मुद्दा फिर्ताको आदेश दिएपछि स्यमालालले के जिब्रो तोकेको थियो घाउ नै भयो रे !
मुद्दा दर्ता गरेको १५ दिनपछि स्यमालाल स्वाँस्वाँ र फ्वाँस्वाँ गरी अदालततिर गइरहेका थिए । लाय्कुमा पुग्न लागेकै बेला अदालतबाट आइरहेको एक कर्मचारीको भेट भयो ।
अनुहार जुधेपछि स्यमालालले ऊसँग सोधे, “ए भाइ कहाँ ?”
“अँ, त्यही पत्र गोपाललाई दिन जान लागेको,” कर्मचारीले जवाफ दियो ।
“पख पख पत्र नदिनू । छलफल गर्नुपर्ने एउटा कुरा छ । जाऊ फर्कौँ,” स्यमालालले उसलाई फर्काएर सँगै लगे । दुवै सँगसँगै अदालततर्फ लागे ।
पत्र दिन आएको कर्मचारी अचम्मित भयो । “मुद्दा फिर्ता लिने हो कि फेरि अर्को मुद्दा राख्ने हो यो स्यमालालले ?” उसको मनमा कुरो खेलिरह्यो ।
दुई दिनपछि गोपालको मुद्दा फिर्ता लिएको चर्चा भयो । मुद्दा फिर्ता लिएदेखि नाङ्लो जत्रो अनुहारका सभासद् स्यमालाल र चरणकाजीको मुख मुसाको जस्तो सानो देखियो ।
स्वतन्त्र बुद्धिजीवीहरूको भेट भएपछि के गर्ने भन्दै जिब्रो टोकेर बस्ने स्यमालालको बानीजस्तै भइसक्यो ।
एक दिन अदालतको कर्मचारीले गोपालको घरमा आएर मुद्दा फिर्ता लिएको खबर सुनायो ।
कर्मचारीलाई धन्यवाद दिँदै गोपालले भने, “उनीहरूले जस्तै मुद्दा राखे चरणकाजी र स्यमालाललाई एकसय बीसभन्दा बढी पुग्छ ? उनीहरूसँग क्षतिपूर्ति मागे लाख, करोड होइन खर्ब पनि पुग्दैन ।”
“भो बाबा । अब युद्ध गर्दैनौँ” भनी सरकारलाई बन्दुक बुझाउने उनीहरू नै हुन् नि । हाम्रो ‘जनयुद्ध’ सफल भएन भनी आत्मसमर्पण गर्ने त हो नि उनीहरू । अहिले पनि उनीहरूको फूर्ति खप्न गा¥हो छ । मनपरी हल्ला गर्छ, कराउँछ ।
गोपालको कुरा नसक्दै ल दाइ मेरो अर्को काम छ, अहिले जान्छु भनी ऊ घरबाट निस्क्यो ।
एकदिन गोपाल सदाझैँ अफिस गइरहेको बेला साथी दयारामको भेट भयो ।
उनले भने, “ए दयाराम । चरणकाजी र सानुलाल त आजभोलि देखिँदैन नि !”
दयारामले भने, “क्या हो ! तिमीलाई थाहा छैन । अस्थिर मन भएका मानिसहरू कहाँ हुन्छन् ? उनीहरूको दिमाग कुहेको फर्सिझैँ बिग्रियो भनेर मानसिक अस्पतालमा भर्ना गरेको सात दिन भयो ।”
“ए ! हो र ! त्यसो भए उनीहरूलाई मानसिक रोग लाग्यो ?” अचम्मित हुँदै गोपालले भने ।
होइन त ? भन्दै दुवै जनाले आ–आफ्नो बाटो तताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *