भर्खरै :

ख्वप अस्पताल जनताको आफ्नै अस्पताल

  • पुष ३, २०७९
  • सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका
  • विचार विशेष
ख्वप अस्पताल जनताको आफ्नै अस्पताल

भक्तपुर नगरपालिकाको ७३ औँ स्थापना दिवसको अवसरमा यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक शुभकामना दिन चाहन्छौँ । भक्तपुर नगरपालिकालाई आजको अवस्थासम्म ल्याई पुर्याउन समाजका अगुवा र सामाजिक कार्यकर्ताहरू तथा स्थानीय जनताले धेरै मिहेनत, परिश्रम र दुःख गर्नुभयो । नगरपालिकाको हरेक काममा प्रत्यक्ष र अप्रत्यक्ष साथ र सहयोग गर्ने यहाँका तमाम नगरवासी दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक नमस्कार गर्न चाहन्छौँ ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोस्रो निर्वाचनमा भक्तपुर नगरका जनताले नेपाल मजदुर किसान पार्टीका सम्पूर्ण उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउनुभएकोमा आजको यस अवसरमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । निर्वाचन घोषणापत्रमार्फत स्वास्थ्य क्षेत्रमा हामीले ख्वप अस्पताललाई सय शøयाको सुविधा सम्पन्न अस्पतालको रूपमा विकास गर्ने, वडा–वडामा स्वास्थ्य केन्द्रहरूको विस्तार गर्ने, विशेषज्ञहरूमार्फत नियमित स्वास्थ्य शिविरहरू सञ्चालन गर्नेलगायतका प्रतिबद्धता व्यक्त गरेका थियौँ ।
२०७९ जेठ ६ गते हामीले दोस्रो कार्यकालको लागि शपथग्रहण ग¥यौँ र लगत्तै हामी निर्वाचनको बेला जनताबिच गरेका प्रतिबद्धताहरू पूरा गर्नमा केन्द्रित भयौँ । २०७९ जेठ २३ गते बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट ख्वप अस्पताल सय शøयाको स्तरोन्नति भएको पत्र प्राप्त भयो । त्यस कार्यमा धेरै मित्रहरूले सहयोग गर्नुभयो । विशेषगरी, प्रदेश स्वास्थ्य मन्त्रालय, निर्देशनालय र बाग्मती प्रदेशसभाका सदस्यहरू सुरेन्द्रराज गोसाई, सृजना सायजू, जिल्ला जनस्वास्थ्य कार्यालयलगायत प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने तमाम सहयोगी मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
भक्तपुर नगरवासीहरूको स्वास्थ्य उपचारको सहज पहुँचको लागि घरदैलो नर्सिङ सेवालाई निरन्तरता दिँदै भनपा १ सल्लाघारी, भनपा २ ब्यासी र भनपा ५ भगवतीस्थानमा चिकित्सकसहितको स्वास्थ्य केन्द्रहरू स्थापना गरी नियमित सेवा प्रदान गर्दै आएका छौँ । भनपा ९ च्याम्हासिंहस्थित ख्वप अस्पतालले दैनिक ७५० भन्दा बढी बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । यस अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहित ३६ जना चिकित्सकहरू विभिन्न तहमा गरी कूल १५६ जनाभन्दा बढी कर्मचारीहरू कार्यरत छन् । आवश्यकताअनुसार स्वास्थ्य उपकरणहरू र जनशक्ति व्यवस्थाको लागि अस्पताल व्यवस्थापन समिति प्रयासरत छ ।
यस अस्पतालले गत आ.व. २०७८/७९ मा ५० भन्दा बढी जिल्लाका १ लाख ७५ हजार ९ सत्न्दा बढी बिरामीहरूलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्यो । नगरवासीहरूलाई अझ सहज सेवा पु¥याउने उद्देश्यले हाल भनपा १० मा स्वास्थ्य केन्द्र निर्माणाधीन अवस्थामा छ भने यो वर्ष भनपा ७ खँचामा स्वास्थ्य केन्द्र निर्माणका लागि प्रक्रिया अगाडि बढाउँदै छौँ । यो वडा वडामा स्वास्थ्य केन्द्रहरू विस्तार गर्ने चुनावी प्रतिबद्धता कार्यान्वयनको सिलसिला हो । हाल वडा वडामा दम खोकीसम्बन्धी स्वास्थ्य परीक्षण शिविरहरू चल्दै छन् ।
ख्वप अस्पताल २०७५ साल फागुन ९ गते शिलान्यास भई झन्डै ३ वर्ष १० महिनामा आज उद्घाटन हुँदै छ । यस भवन निर्माणका लागि प्रारम्भिक ल.इ. ७६ करोड भएकोमा नेपाल सरकारको तर्फबाट ६ करोड, जिल्ला समन्वय समितिबाट १ करोड ५० लाख आर्थिक सहयोग प्राप्त भयो भने बाँकी सबै नगरपालिका कोषले व्यहोरेको हो र बाँकी कामको लागि आवश्यक बजेट नगरपालिकाले नै व्यहोर्ने छ । स्वास्थ्य उपकरणको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट आईसीयूका लागि २ करोड ७९ लाख र एचडीयूको लागि १ करोड २८ लाख ८४ हजार तथा बाग्मती प्रदेश सरकारबाट रु. १ करोड प्राप्त भएको थियो । त्यसैगरी, भक्तपुर नगरपालिकाको भगिनी सम्बन्ध भएको जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतको शान्नान सहरबाट पहिलो पटक २०७८ जेठ ३० गते भेन्टिलेटर १ थान, अक्सिजन कन्सन्टे«टर ३२ थान, अक्सिजन सिलिन्डर (४० लिटरका) १०० थान र बेड ५० वटा तथा दोस्रो पटक २०७९ साउन ८ गते भेन्टिलेटर १ थान, ओटी टेबुल १ थान र ओटी लाइट सहयोग प्राप्त भएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट नेपाल मजदुर किसान पार्टीलाई प्राप्त स्वास्थ्य सामग्रीहरूमध्ये १५ हजार थान एन ९५ मास्क र ५ थान हाइड्रोजन अक्सिजन जेनेरेटर पार्टी सचिव प्रेम सुवालबाट २०७८ जेठ २४ गते ख्वप अस्पताललाई प्राप्त भयो । पछिल्लो चरणमा चीन सरकारको तर्फबाट रु. १ करोड बराबरको रकम प्राप्त भएकोमा स्वास्थ्य उपकरण खरिद प्रक्रिया चलिरहेको छ ।
हामीलाई थाहा छ, नेपालमा स्वास्थ्य सेवा अत्यन्त महँगो छ । गरिब जनता उपचारविना मर्नुपर्ने अवस्थामा छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लु.एच.ओ.) का अनुसार नेपालमा स्वास्थ्य उपचारको कारण हरेक वर्ष ५ लाख मानिसहरू गरिबीको रेखामुनि झर्छन् । नेपालजस्तो विकासोन्मुख देशले प्रतिव्यक्ति स्वास्थ्यमा ८६ अमेरिकी डलर खर्च गर्नुपर्ने भनिए पनि नेपाल सरकारले प्रतिव्यक्ति १७.३ डलरमात्रै खर्च गरिरहेको उल्लेख छ । राज्यको कूल बजेटको १० प्रतिशतभन्दा माथि स्वास्थ्यमा लगानी गर्नुपर्ने मान्यता रहे पनि आ.व. २०७९÷८० मा ६.८७ प्रतिशतमात्रै लगानी भएको तथ्याङ्क छ । यस अर्थमा अहिले पनि नेपाली जनता झन्डै ८० प्रतिशत निजी क्षेत्रमा गएर सेवा लिनुपर्ने बाध्यता छ । सरकारी अस्पतालहरूमा सुधार नगर्ने र बिरामीहरू उपचारको लागि निजी अस्पतालहरूमा गइरहनुपर्ने बाध्यताको अन्त्य गर्न सकेनौँ भने जनता स्वास्थ्यकै कारण घर खेत बेच्न बाध्य हुनुपर्ने र ऋणको पासोमा परेर अकाल मृत्यु वरण गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछैन । हामी जनतालाई त्यो अवस्थाबाट मुक्त गर्न चाहन्छौँ ।
त्यसको निम्ति हामीले २०३० सालदेखि सञ्चालित च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रलाई २०७८ साल वैशाख १७ गतेबाट ख्वप अस्पतालको रूपमा सञ्चालन ग¥यौँ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट २०७३ सालमै २५ शøयाको स्वीकृति पाएका थियौँ । कोभिड महामारीबिच ख्वप अस्पताल सञ्चालन गर्दा हाम्रासामु कोभिड बिरामीहरूको जीवन रक्षा, ठाउँको समस्या, स्वास्थ्य सामग्रीहरू र जनशक्तिको अभावजस्ता थुप्रै चुनौतीहरू थिए । तर, जनप्रतिनिधिहरूमा इच्छा शक्तिमा कुनै कमी थिएन । अत्यन्तै प्रतिकूल अवस्थामा पनि स्थानीय जनतासँग हातेमालो गरी निरन्तर जनताको सेवामा अगाडि बढिरह्यौँ । जनताको साथ र सहयोग भयो भने हरेक क्षेत्रमा सफलता हासिल गर्न सम्भव छ भन्ने एउटा उदाहरण बन्यो भक्तपुर नगरपालिका ।
विश्वव्यापी महामारीको रूपमा कोरोना फैलिएको बेला जनता अत्यन्तै त्रसित थिए । अक्सिजनको अभावमा विभिन्न ठाउँका जनताको अकाल मृत्यु हुन थालेपछि भक्तपुरवासी जनताको जीवनरक्षालाई हामीले पहिलो प्राथमिकतामा राख्यौँ र निर्माणाधीन ख्वप अस्पतालमा अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा पुग्यौँ । अक्सिजन प्लान्ट र अन्य स्वास्थ्य उपकरण खरिद गर्न विपद् व्यवस्थापन कोष खडा गरी आर्थिक सहयोग सङ्कलन ग¥यौँ । छोटो अवधिमै ६ करोड २६ लाखभन्दा बढी सहयोग सङ्कलन भयो । कोरोनाका बिरामीहरू र आइसोलेसनमा बस्नुभएका तमाम सङ्क्रमित दाजुभाइ तथा दिदी बहिनीहरूको निःशुल्क सेवा ग¥यौँ । त्यतिबेला ४५५ भन्दा बढी कोरोनाका बिरामीहरूलाई भर्ना गरी निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्यौँ ।
अक्सिजन प्लान्ट राख्न नगरवासीमात्रै होइनन्, देश र विदेशमा बस्ने धेरै मित्रहरूले आर्थिक र स्वास्थ्य उपकरण सहयोग गर्नुभयो । त्यही सहयोगले आज भक्तपुरका जनताले निःशुल्क अक्सिजन पाउनुभएको छ भने अन्य नागरिकहरूले न्यून शुल्कमा अक्सिजन पाउनुका साथै सारा जनताले सस्तो र सहज उपचार पाइरहनुभएको छ । उहाँहरूको उच्च मूल्याङ्कन गर्दै रु. ५ लाखभन्दा बढी सहयोग गर्ने सहयोगी दाताहरूलाई आजका दिन कदरपत्र दिने व्यवस्था गरेका छौँ ।
कोभिड रोकथाम र नियन्त्रणको क्रममा जात्रा पर्वहरूलाई औपचारिकतामा सीमित गर्ने, कीटनासक औषधि छर्ने, राहत वितरण, घरघरमा गएर कोभिड सङ्क्रमितहरूको सेवा गर्ने तथा जनतालाई स्वास्थ्यसम्बन्धी जानकारी दिन नियमितरूपमा सूचना प्रवाह गर्ने काम ग¥यौँ । कोरोना महामारीबिच भक्तपुर नगरपालिकाले गरेको कामको उच्च मूल्याङ्कन गर्दै बाग्मती प्रदेश सरकारले भक्तपुर नगरपालिकालाई प्रदेश राजधानी हेटौडामा २०७९ असार ३० गते विपद् सेवी पदकबाट सम्मान गर्यो । यहाँका जनताले गरेका कामको उच्च मूल्याङ्कन भएकोमा हामी खुसी छौँ ।
कामको सिलसिलामा हाम्रा थुप्रै कमी कमजोरीहरू भए होलान् तर जनताको सेवा गर्ने भावना नै हाम्रो मुख्य उद्देश्य हो । आज ती सबैको विवरण सङ्ग्रहित पुस्तक ‘कोरोना नियन्त्रणमा भक्तपुर नगरपालिका’ पुस्तक नेमकिपाका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँबाट सार्वजनिकीकरण भयो । भनपाले कोभिडमा जनतासँग मिलेर कसरी काम ग¥यो भन्ने कुरा त्यस पुस्तकबाट यहाँहरूले जानकारी पाउनुहुनेछ ।
ख्वप अस्पताल स्थान अभावको कारण अन्तरङ्ग विभाग ब्रह्मायणीको भवनमा सञ्चालन हुँदै आएकोमा अब क्रमशः नयाँ भवनमा सार्नेछौँ । ब्रह्मायणीको भवनलाई प्रसूति केन्द्रको रूपमा विकास गर्ने योजना छ । त्यसको लागि हामी तयारी गर्दै छौँ ।
भनपाले श्वासप्रश्वास पुनःस्थापना केन्द्र र नगरस्तरीय आयुर्वेदिक उपचार केन्द्रहरू व्यवस्थापन गरी स्वास्थ्य क्षेत्रमा जनताको सेवा गर्दै आएको छ । तिलगङ्गा आँखा प्रतिष्ठानसित समन्वय गरी नगरपालिकाकै व्यवस्थापनमा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएकोमा उक्त केन्द्रबाट गत आ.व.२०७८÷७९ मा २३,०३७ जनाको उपचार गरिएकोमा मोतिबिन्दुको ३९० वटा अपरेसन भएको थियो । कोभिड १९ रोकथाम र नियन्त्रणका लागि खोप नै भरपर्दो उपाय भएको चिकित्सकहरूको कुरालाई ध्यानमा राखी व्यापक खोप अभियान चलायौँ । त्यस क्रममा ख्वप अस्पतालबाट कोभिशिल्ड १८,२४४, भेरोशिल्ड १,१७,७९२, जोन्सन एन्ड जोन्सन ३,८९२, मोर्डना २६,५४५ र फाइजर १३,८५६ गरी कूल १,८०,३२९ डोज खोप लगाउन सफल भयौँ ।
जनताको सहज पहुँचका लागि हरेक दिन बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म दैनिक ११ घण्टा ओपीडी सेवा, शनिबार र कुनै पनि सार्वजनिक बिदाको दिन बन्द नहुने गरी वर्षको ३६५ दिन नै ओपीडी सेवाको व्यवस्था मिलाएका छौँ । गुणस्तरीय स्वास्थ्य उपचारको लागि थप स्वास्थ्य उपकरण र आवश्यक जनशक्ति जुटाउन प्रयासरत छौँ ।
उपचारविना कुनै पनि नागरिकले मृत्युवरण गर्न नपर्ने अवस्थाको लागि हाम्रो अधिकत्तम प्रयास जारी रहनेछ । नेपाल सरकारको विशिष्टिकृत अस्पतालहरू भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त अङ्ग प्रत्यारोपन केन्द्र भक्तपुरमै छन् । बाग्मती प्रदेशअन्तर्गतको जनरल अस्पतालको रूपमा भक्तपुर अस्पताल छ । भक्तपुर देशकै सानो नगरपालिका भए पनि यहाँ चार वटा महत्वपूर्ण सरकारी अस्पतालहरू छन् । बाल बच्चा र आमाहरूको लागि सिद्धि स्मृति अस्पतालले सेवा दिइरहेको छ । भक्तपुरका जनता उपचारको लागि भक्तपुर बाहिर जान नपर्ने व्यवस्थाको लागि हाम्रो प्रयास निरन्तर रही आएको छ । यी अस्पतालहरूले राम्रो सेवा दिन सकेमा व्यापारका लागि खोलिएका महँगा महँगा निजी अस्पतालहरूमा गएर उपचार गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।
अन्त्यमा, ख्वप अस्पतालमा बरोबर निरीक्षण गर्नु भई सुधारको निम्ति सधैँ हामी जनप्रतिनिधिहरूलाई प्रेरणा दिइरहने नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ । अस्पतालको विकासको निम्ति सहयोग गर्ने प्रेम सुवालप्रति पनि हार्दिक आभार व्यक्त गर्दछौँ । कोरोनाको समयमा आफ्नो जीवन दाउमा राखेर अहोरात्र खट्नुभएका जनप्रतिनिधि, कर्मचारी, राजनैतिक कार्यकर्ता, स्वयम्सेवक, चिकित्सकलगायत आर्थिक र भौतिक सहयोग गर्ने तमाम जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । हाम्रा गतिविधिहरू प्रचारप्रसार गरी सुसूचित गर्ने पत्रकार मित्रहरू पनि धन्यवादका पात्र हुुनुहुन्छ । ख्वप अस्पताल जनताको आफ्नै अस्पताल हो भन्ने भावनालाई मनन गर्दै विगतका दिनहरूमा झैँ निरन्तर सहयोगको अपेक्षा गर्छौँ । यहाँहरूको नैतिक सहयोग नै हाम्रो निम्ति जनताको सेवा गर्ने उत्प्रेरणाको स्रोत बन्नेछ ।
(भक्तपुर नगरपालिकाको ७३ औँ स्थापना दिवसको अवसरमा ख्वप अस्पताल उद्घाटन समारोहमा प्रमुख सुनिल प्रजापतिको मन्तव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *