भर्खरै :

नेपाल मजदुर किसान पार्टीको केन्द्रीय परिषद् सुरु

नेपाल मजदुर किसान पार्टीको केन्द्रीय परिषद् सुरु

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा
भक्तपुर, ८ पुस । नेपाल मजदुर किसान पार्टीको ३४ औँ केन्द्रीय परिषद् शुक्रबार भक्तपुरमा सुरु भएको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा भएको बैठकमा मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको समीक्षा गरिएको छ ।
बैठकमा नेमकिपाका अध्यक्ष बिजुक्छेँले निर्वाचनको नतिजालगत्तै भारतीय र संरा अमेरिकी गोटीको रूपमा नेका, एमाले, माओवादी केन्द्रलगायत शासक दलका नेताहरू राष्ट्रपति र प्रधानमन्त्रीको दौडमा लागेको हँुदा आउने दिनमा पनि देश र जनताको हितमा काम नहुने विचार राख्नुभयो ।
भारतीय र अमेरिकी दूतावासहरूको अनुचित सक्रियतातर्फ इङ्गित गर्दै उहाँले भन्नुभयो, “देशमा यसअघि यति तरल स्थिति आएको थिएन ।” शासक दलका नेताहरूको धाकधककुका पछाडि कुनै न कुनै विदेशी शक्ति रहेको बुझ्नुपर्ने उहाँले चर्चा गर्नुभयो ।
नेमकिपालाई सरकारमा नजाने दल भनी आक्षेप लगाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकारमा गएका दलहरू पनि हारिरहेका छन् किनभने उनीहरूलाई जाने मत उनीहरूको होइन ।” अध्यक्ष बिजुक्छेँले निर्वाचनमा मत यताउति गर्ने भूमिगत गिरोहहरू नै सक्रिय हुने गरेको बताउनुभयो ।
उहाँले देशघाती शासक दलहरूलाई उदाङ्ग्याउँदै नेपाल मजदुर किसान पार्टीको सङ्गठन विस्तारमा कार्यकर्ताहरू लागिपर्नुपर्नेमा जोड दिनुभयो । फ्रान्सको उपनिवेश रहेको पहाडी र विभिन्न जातजातिको देश लाओसका देशभक्त नेताहरूले अमेरिकी साम्राज्यवादको धम्कीसामु नझुकेको स्मरण गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “जनताबिच जग हाले विदेशी शक्तिहरूले केही गर्न सक्दैनन् ।”
परिषद्मा अध्यक्ष बिजुक्छेँले पार्टी कार्यकर्ताहरू निर्वाचनमा मात्र केन्द्रित हुन नहुने र देशघाती पार्टीहरूलाई सैद्धान्तिकरूपले खण्डन गर्न सक्ने गरी सचेत हुन कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।
उहाँले कार्यकर्ताहरूमा देखिने व्यक्तिगत महत्वाकाङ्क्षा पुँजीवादी र संशोधनवादी विचार हुने हँुदा कार्यकर्ताहरू पार्टी गतिविधि तथा पार्टी सङ्गठन विस्तारमा निरन्तर लाग्नुपर्ने र आफै खट्नुपर्नेमा जोड दिनुभयो ।
परिषद्मा जिल्ला–जिल्लाको प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम सुरु भयो । बैठक आइतबारसम्म जारी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *