आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
‘मजदुर’ का अबका केही अङ्कमा जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिनेछ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
डिसेम्बर १ मा ब्युनस आयर्समा जी–२० को सम्मेलन भयो । दुईपक्षीय बैठकमा मार्केलले ट्रम्पसँग रुसले सन्धि उल्लङ्घन गरेकोमा आफू सहमत भएको तर दुई पक्षबीच राजनीतिक तहमा छलफल नै नगरी सन्धिबाट बाहिरिनु हुँदैन भनिन् । बोल्टन टसकोमस भएनन् । त्यसपछि मर्केलले आफूलाई तीन महिना दिए अमेरिकी कदमको समर्थन गर्ने बताइन् । बोल्टनले दुई महिना मात्र दिन सकिने बताए । ट्रम्पले जर्मनी र अन्य देशको अनुरोधमा ६० दिनपछि ‘आइएनएफ’ सन्धि छोड्ने घोषणा गर्ने भए ।
डिसेम्बर ४ मा अमेरिकाले योजना अनुसार घोषणा ग¥यो । १ फेब्रुअरी २०१९ मा अमेरिकाले बाहिरिने औपचारिक पत्र पठायो । प्रतिक्रियामा रुसले अन्य सम्झौताहरू स्थगित ग¥यो । यसलाई बोल्टनले फोकटको लाभ भनेका छन् । यो ‘सफलता’ पछि बोल्टनले अन्य सन्धि पनि यसरी नै तोड्ने सपना देख्न थाले । ट्रम्पले पेरिस सम्झौता तोड्दा पनि उनी खुसी भएका थिए । पछि अमेरिकाले ‘ओपन स्काई’ सम्झौता पनि तोड्ने तयारी चलायो । बोल्टन विस्तृत आणविक परीक्षण निषेध सन्धिबाट अमेरिकालाई निकालेर थप आणविक परीक्षणहरू गर्न चाहन्थे ।
चुनाव र साइबर हमला
सन् २०१६ को अमेरिकी निर्वाचनमा रुसको साइबर हस्तक्षेपलाई बोल्टनले अमेरिकी संविधानमाथिको हमला भनेका थिए । त्यसलाई युद्धको रूपमा चित्रण गरेका थिए । पुटिनले यस्ता आक्षेपहरूलाई सधैँ अस्वीकार गरे ।
सुरक्षा सल्लाहकारको जिम्मेवारी लिएपछि उनले ओबामाका रक्षात्मक साइबर नीतिलाई आक्रामक नीतिमा बदल्नुपर्ने आवश्यकता देखे । रुस, चीन, उत्तर कोरिया, इरान र अन्य देशहरूसँग साइबर स्पेसमा लड्नुपर्ने उनको विचारमा कर्मचारीतन्त्र सहमत भएन । यसमा उनले कर्मचारीतन्त्रको जड सोचाई र आपसी तानातानालाई दोष दिएका छन् । यो मानसिकता चिर्न बोल्टनले दुई पाइला चाले । एक, ट्रम्प सरकारको बलियो साइबर रणनीति बनाउने । दुई, ओबामाको शासनकालको भद्दा संरचना हटाएर निर्णय निर्माणको चुस्त संरचना बनाउने । सेप्टेम्बर २० मा ट्रम्प सरकारको साइबर नीति बन्यो । म्याटिसले नोभेम्बरसम्म उनलाई रोक्न खोजेका थिए । यसलाई बोल्टनले रक्षामन्त्रालय र गुप्तचर निकायले आफूप्रति इष्र्याभाव राखेको अर्थमा बुझे ।
बोल्टनकै अग्रसरतामा नयाँ आदेश गयो । सो आदेश अनुसार निर्वाचनमा हस्तक्षेप गर्ने बाह्य देशमाथि सजिलै नाकाबन्दी लगाउन सकिने भयो । यसरी आफूले सन् २०१८ नोभेम्बरको निर्वाचनलाई विश्वसनीय बनाउन भूमिका खेलेको बोल्टन लेख्छन् ।
सन् २०१७ मा क्रिमियाको घटनाको निहुँ झिकेर ट्रम्प सरकारले रुसमाथि नयाँ आर्थिक प्रतिबन्धहरू लगाएको थियो । यसअघि ओबामा सरकारले सान फ्रान्सिस्को र सियाटलस्थित रुसी वाणिज्य दूतावास बन्द गरेको थियो । कूटनीतिज्ञको आवरणमा लुकेका ६० गुप्तचरहरूलाई निकाला गरेको थियो । ट्रम्प सरकारले अनेक बहानामा रुसको इन्टरनेट अनुसन्धान एजेन्सीमाथि प्रतिबन्ध लगायो । त्यस्तै अमेरिकाले सिरियामाथि लगाएको नाकाबन्दी उल्लङ्घन गरेको निहुँमा तीन दर्जन रुसी अधिकारीहरूलाई प्रतिबन्धित ग¥यो ।
प्रतिबन्धको विषयमा ट्रम्पले सधैँ दोधारे विचार राखे । कहिले उनी त्यसको श्रेय लिन्थे त कहिले उनी यस्ता प्रतिबन्धले आफ्नो व्यक्तिगत सम्बन्ध बिगार्ने पनि सोच्थे । मलेसियामा किम जङ उनका दाजु मारिएपछि अमेरिकाले रासायनिक हतियारको प्रयोग गरेको भनेर कोरियामाथि नाकाबन्दी थप चर्कायो । यसबाट ट्रम्प खुसी भएनन् । उनी नाकाबन्दी चर्काउनु हुन्न भन्दै थिए । बोल्टन र उनका सहकर्मीहरूले ट्रम्पलाई रासायनिक र जैविक हतियार छ कि छैन भनी उत्तर कोरियाले अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई छानबिन गर्न दिए नाकाबन्दी हटाउन सकिने सन्देश पठाउन उक्साए । (इराक हमला यस्तै ‘छानबिन’ बाट सुरु भएको थियो ।) ट्रम्पले मानेनन् ।
ट्रम्पका समर्थक सांसद ¥यान्ड पाउल मस्को भ्रमण गए । रुसलाई अमेरिकी प्रतिबन्धहरूप्रति असन्तुष्टि जनायो । पाउल चिन्तित भए । त्यस्तै अमेरिकाले नयाँ प्रतिबन्धहरू लगाउँदै जाँदा अर्थमन्त्री मनुचिनले आफूसँग सल्लाह नगरेको गुनासो गरे । ट्रम्प आफैले पनि अमेरिका रुसप्रति बढ्ता कठोर भएको बताए । एकदिन ट्रम्पले सार्वजनिक रूपमा रुसजस्ता देशको आलोचना नगर्न बोल्टन लगायत अधिकारीहरूलाई आदेश दिए । यी घटनाहरूप्रति बोल्टन निर्मम हुन्छन् । ट्रम्पले विदेशी नेताहरूसँगको आफ्नो सम्बन्ध बिग्रिन्छ भनेर राष्ट्रपतिको दायित्व दाउमा राखेको उनी आरोप लगाउँछन् । उनी निजी सम्बन्ध र औपचारिक सम्बन्ध फरक हुन्छ भन्छन् र ट्रम्पको नमिल्दो दृष्टिकोणको आलोचना गर्छन् । यस्तो माहोलमा अमेरिकाका निस्क्रियताका दिन सक्किएको र साइबर स्पेसमा मित्र देशलाई ढाडस दिन अघि सरेको उनी निष्कर्ष निकाल्छन् । ट्रम्पको ढुलमुले धारणा छिचोल्दै अमेरिकी निर्वाचनलाई रुस लगायत देशको साइबर हमलाबाट सुरक्षित गरेको बोल्टनको दाबी छ ।

टर्कीका इर्दोगान
डोनाल्ड ट्रम्प अरबमा हुने ‘अन्त्यहीन युद्धहरू’ रोक्न चाहन्थे । तर, त्यसो गर्ने प्रभावकारी कार्ययोजना उनीसँग थिएनन् । त्यसैले त्यहाँबाट अमेरिकी सेना फर्काउनुलाई उनी ‘हजारौँ माइल टाढा’ को काम भन्थे । ट्रम्पको कार्यकालमा सोही बाटोको काँडो बनेर टर्कीका इर्दोगान देखापरे ।
इर्दोगान कट्टर इस्लामी हुन् । ट्रम्पलाई ‘मुसलमानविरोधी’ भन्ने गरिन्छ । तैपनि सुरुसुरुमा ट्रम्पले इर्दोगानसँग राम्रो मित्रता कायम गरेका थिए । एउटा घटनाले उनीहरूको मित्रता भाँड्यो ।
सन् २०१६ मा राष्ट्रपति इर्दोगानविरुद्ध असफल सैन्य विद्रोह भयो । इसाई पादरी एन्ड्रयू ब्रुनसनले इस्लामी शिक्षक फेतुल्लाह गुलेनसँग मिलेर सो विद्रोहमा सघाएको आरोपमा इर्दोगानले ब्रुनसनलाई पक्राउ गरे । ट्रम्पसँगको फोनवार्तामा इर्दोगानले अर्को विषय पनि उठाए । टर्कीको सरकारी बैङ्क हल्क बैङ्कमार्फत इर्दोगान परिवारले सरकारी धनमा हिनामिना गरेको आरोप थियो । आफ्ना ज्वाइँलाई वित्तमन्त्री बनाएर त्यसो गरिएको हल्ला थियो । त्यसैले अमेरिकाले बैङ्कका अधिकारी मेहमेत एतिल्लामाथि छानबिन चलाइरहेको थियो । इर्दोगानले ट्रम्पसँग सो मुद्दा खारेज गर्न अनुरोध गरे । नगरे संसद्मा अमेरिकी युद्धविमानको सट्टा रुसी हतियार किन्ने सङ्केत गरे ।
ट्रम्पले ब्रुनसनलाई छिटो रिहा गर्न भने । ब्रुनसनमाथिको छानबिनले अमेरिकी जनता रिसाएको उनको तर्क थियो । इर्दोगानले मुसलमान जनता पनि रिसाएको बताए । ट्रम्पले संसारका सबै जनतालाई रिसाउनलाई छुट छ भने । यसरी कुराकानी फासफुस भयो । तर, ट्रम्पले ब्रुनसनलाई नछोडे अमेरिकाले टर्कीमाथि कडा आर्थिक प्रतिबन्ध लगाउन आफ्ना अधिकारीहरूलाई आदेश दिए । अगस्ट २ मा अमेरिकाले टर्कीका न्यायमन्त्री र गृहमन्त्रीमाथि प्रतिबन्ध लगायो । त्यसको जवाफमा टर्कीले अमेरिकाका न्यायमन्त्री र गृहमन्त्रीमाथि प्रतिबन्ध लगायो । चिढिएका ट्रम्पले टर्कीका मालसामानमाथि ५० प्रतिशत भन्सार कर ठोके । यो देखेर अमेरिकी अर्थमन्त्रालयका कर्मचारीहरूसमेत रन्थनिएका थिए । ट्रम्पले आफ्नो कार्यकालमा सन् १९६२ को व्यापार विस्तार ऐनको भाग २३२ को अचाक्ली प्रयोग गरेका थिए । यसरी उनले संरक्षणवादी व्यापार नीति अवलम्बन गरेका थिए ।
टर्कीमा मुद्रास्फीति बढ्न थाल्यो । आर्थिक समस्याले आत्तिएर टर्कीले समाधानको सूत्र खोज्न थाल्यो । उसले ब्रुनसेनको रिहाइको बदलामा हल्कबैङ्कमाथिको छानबिन रोक्नुपर्ने विचार राखे । हल्कबैङ्कले अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दीको दुरूपयोग गरेर २० अर्ब डलरभन्दा बढीको कारोबार गरेको आरोप थियो । मुद्दालाई थाती राख्नेमा बोल्टन, पोम्पेओ र अर्थमन्त्री मनुचिन सहमत भए । कुनै बेला ट्रम्पका अनन्य मित्र इर्दोगान ट्रम्पका शत्रु बनिसकेका थिए । यो देखेर बोल्टनले एक दिन सी चिनफिङ, किम जङ उन र अन्य ‘साथीहरू’ ले पनि सक्कली रङ देखाउने सपना देख्न थाले ।
इर्दोगानलाई बोल्टन तानाशाह भन्छन् । कमाल पाशाले टर्कीलाई धर्मनिरपेक्ष राज्य बनाएका थिए । इर्दोगान त्यसलाई उल्ट्याउँदै थिए । उनले मुस्लिम ब्रदरहुड र मध्यपूर्वका हमास, हेजबुल्लाहजस्ता सङ्गठनलाई भित्रभित्र सहयोग गरेको बोल्टन लेख्छन् । इर्दोगानले इजरायलप्रति कठोर नीति लिएको र इरानलाई अमेरिकी नाकाबन्दीको सामना गर्न सघाएको उनको आरोप छ । अगस्ट १० मा ट्रम्पले ट्वीटमार्फत टर्कीको आल्मुनियम र स्टीलमाथि थप भन्सार कर लगाए ।
अमेरिका आफै पनि अब टर्कीसँग कुरा गर्ने मुडमा पुग्यो । यसको लागि राष्ट्रपतिका ज्वाइँ कुस्नरले टर्कीका वित्तमन्त्रीलाई फोन गरे । कुस्नरले मित्रताको हात बढाए । यसबिच अगस्ट २० मा टर्कीको राजधानी अङ्कारास्थित अमेरिकी दूतावास नजिकै गोलाबारी भयो । टर्कीका राजदूतलाई ‘अमान्य’ घोषित गर्ने कि भन्ने छलफल चल्यो । फेरि नाकाबन्दी चर्काउनेमै जोड दिइयो । टर्की प्रत्यक्ष विदेशी लगानीमा आश्रित देश थियो । त्यसैले ब्रुनसेनलाई रिहा गर्ने हल्ला चल्यो । तर, टर्कीको अदालतले उनलाई गुप्तचरी र त्यससँग सम्बन्धित अपराध गरेकोमा दोषी करार ग¥यो ।
अमेरिकी आर्थिक दबाबसामु टिक्न नसकेर कालान्तरमा टर्कीले ब्रुनसनलाई रिहा ग¥यो । जर्मनीको बाटो हुँदै ब्रुनसन अमेरिका गए । ह्वाइट हाउसमा उनको भव्य स्वागत भयो ।

टर्कीका राष्ट्रपति इर्दोगानसँग डोनाल्ड ट्रम्प
सिरिया तनाव
सिरिया युद्धले गर्दा पश्चिमोत्तर सिरियामा हजारौँ शरणार्थीहरू थुप्रिएका थिए । तिनीहरू टर्की पस्लान् भन्ने इर्दोगानको चिन्ता थियो भने अमेरिकीहरू तिनलाई युरोप वा अमेरिकामा राख्ने पक्षमा थिएनन् । ती शरणार्थीहरूमध्ये कतिपय ‘आतङ्कवादी’ हुनसक्ने उनीहरूको अनुमान थियो । इजरायल सिरियामा सक्रिय थियो । उसले इरानी र आतङ्कवादीहरूलाई मार्ने भन्दै रुसलाई चित्त बुझाएको थियो । (इजरायल सिरियामा रुसले राखेको हतियारबाट नतर्सेको भने होइन । त्यस्तै गल्तीवश इरानी हमलामा परी रुसी सैनिकहरू मारिएकोमा रुस इरानसँग अलि चिढिएको थियो ।) सन् २०१८ अप्रिलमा अमेरिकी अधिकारीहरू पनि सिरियाको (हुँदै नभएको) रासायनिक हतियारको प्रतिकार गर्न सेनालाई तम्तयार रहन भने ।
सेप्टेम्बरमा इराकस्थित अमेरिकी दूतावास, वाणिज्य दूतावाससामु बमबारी र हमलाहरू भए । विदेशमन्त्री पोम्पेओले सेप्टेम्बर २८ मा इराकको एउटा वाणिज्य दूतावास बन्द गर्न लगाए । तर अमेरिकाले ठूलो प्रतिवाद गरेन । बोल्टनहरू प्रतिवाद गर्नुपर्ने पक्षमा थिए । ती हमलाहरूमा इरानको हात भएको उनीहरूको जिरह थियो । रक्षामन्त्री म्याटिस त्यस्तो कुनै प्रमाण फेला नपरेकोले प्रतिवाद गर्नु जायज नहुने तर्क गर्दै थिए ।
यी नै घटनापछि ट्रम्पले टर्कीप्रति अर्कै व्यवहार गर्न थाले । डिसेम्बर १ मा ब्युनस एयर्समा सम्पन्न जी–२० देशहरूको सम्मेलन भयो । त्यहाँ ट्रम्पले इर्दोगानसँग कुराकानी गरे । भेटमा ट्रम्पले हल्कबैङ्क पूर्णतः निर्दोष भएको बताए । उसले इरानमाथिको प्रतिबन्ध उल्लङ्घन नगरेको उनको दाबी थियो । अदालतमा आफ्नाभन्दा पनि ओबामाका मान्छेहरू हुनाले आफूले केही गर्न नसकेको ट्रम्पले इर्दोगानलाई बताए । ट्रम्पले इर्दोगानसामु आफूलाई स्वेच्छाचारी देखाउन यस्तो टिप्पणी गरेको बोल्टनको दाबी छ ।
टर्कीको मामिलामा यसरी ट्रम्पविपरीत बिन्दुमा पुगे । उनले इर्दोगान र टर्कीमाथि खराब आइनलाग्ने बताए । यसको लागि आफूले कडा मिहिनेत गर्ने उनले वचन दिए । इर्दोगानले सिरियाका कुर्द सैन्य दलको कुरा झिके । ट्रम्पले केही भनेनन् । बरु गुलेनलाई टर्की सुपुर्दगी गरे एकै दिनमा अल्लाहका प्यारा हुने बताए । जवाफमा इर्दोगानले टर्कीमा मृत्युदण्डको व्यवस्था नभएको बताए ।
यसबिच युरोपले उत्तरपूर्वी सिरियामाथि टर्कीले गरेको आक्रमणमा रुचि लिँदै थियो । त्यहाँ सिरियाका कुर्द विपक्षीहरूले अड्डा जमाएर बसेका थिए । केही भागमा हजारौँको सङ्ख्यामा अमेरिकी सेना पनि थियो । उनीहरू ‘आइएसआइएस’ का लडाकुहरूको ‘जरा उखेल्दै’ थिए । (बिन लादेनको ‘तालिबान’ जस्तै ‘आइएसआइएस’ अमेरिकाले नै हतियार र तालिम दिएर बलियो बनाएको सङ्गठन थियो । हिलारी क्लिन्टनले ‘हामीले नै तालिम दिएर तयार पारेको तालिबानसँग अहिले हामी लड्दै छौँ’ भनेकी थिइन् । ‘आइएसआइएस’ का हकमा पनि सोही भनाइ लागू हुन्छ । ‘हामी लड्दै छौँ’ भन्ने कुरा सही वा झूट जे पनि हुनसक्छ ।) बोल्टन ओबामाको इराक नीतिकै कारण ‘आइएसआइएस’ फस्टाएको दाबी गर्छन् । यसबीच ‘आइएसआइएस’ मध्यपूर्वभरि छरिएको थियो । अमेरिकालाई खेल्न दिन नै यसो गरिएको सम्भावना नकार्न सकिन्न ।
इर्दोगानले ‘आइएसआइएस’ र उसको खिलाफत आन्दोलनको मुलोच्छेदन गर्ने विषयमा रुचि लिए । तर, उनी कुर्द सैन्य दललाई प्रमुख शत्रु ठान्थे र ती लडाकुहरूले कुर्दिस्तान मजदुर पार्टी (पीकेके) सँग साठगाँठ गरेको उनको ठहर थियो । अमेरिकाले ‘पीकेके’ लाई आतङ्कवादी घोषणा गरेको थियो । यसबाहेक ओबामा सरकारले ‘आइएसआइएस’ मा बढी ध्यान दिनाले सिरियामा इरान हाबी भएको बोल्टन आरोप लगाउँछन् । त्यसैले सिरियामा अमेरिकाका सहयोगी कुर्दहरूमात्र भए र उनीहरू अमेरिकाप्रति बफादार थिए ।
Leave a Reply