नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
जीडीपी वृद्धि गरौँ !
अहिले भारतमा बिजुली निर्यात भइरहेको समाचार सुनेर धेरै नेपालीहरू खुसी भएको सामाजिक सञ्जालमा आउने टिप्पणीबाट अनुमान लगाउन सकिन्छ । नेपालमा बढी भएको बिजुली भारत निर्यात भएको भनेर भनिन्छ । तर, कति पुगेपछि नेपालमा बिजुली बढी हुन्छ, कसैले भन्दैनन् । विश्व बैङ्कको तथ्याङ्कअनुसार नेपालको ७० प्रतिशत जनसङ्ख्यामा मात्र विद्युत्को पहुँच पुगेको छ अर्थात् झन्डै १ करोड जनता अझै टुकी बत्तीको भरमा बाँचिरहेका छन् । त्यसैगरी, अझै थुप्रै उद्योगहरूले बिजुली नपाएर विदेशी मुद्रा तिरेर किनिएको डिजेल प्रयोग गरेर उद्योग चलाइरहेका छन् । तर, हामी भनिरहेका छौँ, बढी भएको बिजुली भारतमा निर्यात गछौँ । विश्वका जनताले गर्ने विद्युत् खपतसँग तुलना गर्दा नेपालीहरूले खपत गर्ने बिजुली कति कम रहेछ भन्नेबारे धेरैलाई थाहा नहुन सक्छ ।
विश्वमा सबैभन्दा बढी प्रतिव्यक्ति विद्युत् खपत गर्ने देश आइसल्यान्ड हो । त्यसपछि नर्वे र लक्जमवर्ग आउँछ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को तथ्याङ्कअनुसार २०१९ मा आइसल्यान्डमा प्रतिव्यक्ति औसत ५०४२० किलोवाट घण्टा प्रतिव्यक्ति विद्युत् खपत भएको थियो । नर्वे र लक्जमवर्गमा पनि प्रतिव्यक्ति विद्युत् खपत क्रमशः २५८५० र २५६०० किलोवाट घण्टा छ । जबकि नेपालमा अन्य देशको तुलनामा प्रतिव्यक्ति विद्युत् खपत धेरै नै कम छ । विश्व बैङ्कको तथ्याङ्कअनुसार सन् २०१९ मा नेपालको प्रतिव्यक्ति विद्युत् खपत करिब ८२८ किलोवाट घण्टा थियो । यो प्रतिव्यक्ति लगभग ३२६० किलोवाट विश्वव्यापी औसतभन्दा पनि निकै कम हो जुन विश्वको कथित दोस्रो जलस्रोतको धनी भनिएको देश नेपालको निम्ति लाजमर्दो अवस्था हो ।
बिजुली बेचेर देश धनी हुनेजस्ता हावादारी गफ पनि नेताहरूले गरिरहेकै छन् । बिजुली बेचेर देश धनी हुने होइन बरु विद्युत् स्वेदशमै खपत हुँदा देश धनी हुन्छ । यसबारे बहस कममात्र भएको पाइन्छ । विद्युत् उत्पादन र जीडीपीबिचको सम्बन्ध भनेको अर्थतन्त्रमा विद्युत्ले खेल्ने भूमिका हो । विद्युत् उत्पादन, यातायात र सेवा उद्योगहरूसहित विभिन्न उद्योग र क्षेत्रहरूको लागि एक आवश्यक आगत हो ।
विद्युत् उत्पादन औद्योगिकीकरणको एक प्रमुख घटक हो । भरपर्दो र किफायती विद्युत्को उपलब्धताले व्यवसायीहरूलाई अझ प्रभावकारीरूपमा सञ्चालन गर्न सक्षम पारेर आर्थिक वृद्धि गर्नमा मद्दत गर्छ । विद्युत्को उपलब्धताले देशको अर्थतन्त्रको समग्र प्रतिस्पर्धात्मक क्षमतालाई बढाउँछ । चुनावी भाषणमा भन्ने गरिएको नेपाली जनताको औसत आय ५ हजार पु¥याउने हो भने विद्युत् उत्पादन पनि झन्डै ५ हजार मेगावात हुनुपर्छ । यो सबै विद्युत् स्वदेशमै खपत हुनुपर्छ अनिमात्र नेपालीको औसत आय ५ हजार पुग्नेछ । अर्थात्, ५ हजार मेगावाट विद्युत् खपत हुने गरी औद्योगिकीकरण गर्नुपर्छ । अहिले नेपालीको औसत आय लगभग १ हजार अमेरिकी डलर छ । यदि बिजुली बेचेर औसत आयलाई ५ हजार पु¥याउने हो भने नेपालमा २५ हजार मेगावाट बिजुली उत्पादन गर्नुपर्छ । जबकि ५ हजार मेगावाटमात्र बिजुली स्वदेशमै खपत हुने गरी औद्यौगिकीकरण गर्न सके हाम्रो औसत आय ५ हजार पुग्नेछ । एउटा अध्ययनले देखाएअनुसार उद्योगबाट उत्पादन हुने वस्तुको लागतमा औसत झन्डै १५ प्रतिशत ऊर्जाको योगदान हुन्छ । यस हिसाबले यदि कुनै वस्तु उत्पादन गर्दा १ खर्ब लागत पर्छ भने १५ अर्ब ऊर्जाको लागि खर्च हुन्छ ।
आर्थिक वृद्धि र विकासलाई टेवा पु¥याउन विद्युत्ले महत्वपूर्ण भूमिका खेल्छ । तसर्थ, विद्युत् उत्पादनमा वृद्धि हुँदा जीडीपीलाई धेरै तरिकाले असर पार्छ । उदाहरणका लागि यदि विद्युत् उत्पादनमा वृद्धि भयो भने उत्पादन र खपत बढाएर जीडीपी बढाउन सकिन्छ । अर्कोतर्फ, विद्युत् उत्पादनमा कमी आएमा उत्पादन र उपभोगमा कमी आउन सक्छ जसले कुल गार्हस्थ उत्पादनमा नकारात्मक असर पार्छ ।
विद्युत्को प्रतिव्यक्ति खपत र प्रतिव्यक्ति आयबिच सामान्यतया सकारात्मक सम्बन्ध हुन्छ । देशको प्रतिव्यक्ति आय बढ्दै जाँदा, उनीहरूले विभिन्न विद्युतिय उपकरणहरूजस्ता विद्युत् आवश्यक पर्ने वस्तु र सेवा किन्न सक्ने क्षमता राख्ने हुँदा स्वभावैले मानिसहरूले अधिक विद्युत् खपत गर्छन् । यो सम्बन्ध धेरै देशहरूको तथ्याङ्कमा देख्न सकिन्छ, जसले प्रतिव्यक्ति आय बढेसँगै प्रतिव्यक्ति विद्युत् खपत पनि बढेको देखाउँछ ।
आयातीत तेल र ग्यासमा नेपालको निर्भरताले देशको भुक्तानी सन्तुलन बिग्रिँदा समग्र आर्थिक विकासमा नकारात्मक प्रभाव पारेको छ । यी ऊर्जा स्रोतहरू आयातको उच्च लागतले देशको बजेटमा दबाब परेको छ र अन्य लगानीको लागि उपलब्ध स्रोतहरू सीमित भएका छन् । विश्व बैङ्कको तथ्याङ्कअनुसार नेपाल ग्यास र पेट्रोलियम पदार्थ दुवैको खुद आयातकर्ता हो । २०१९मा नेपालले लगभग १ खर्ब ६० अर्ब मूल्यको ग्यास र पेट्रोलियम उत्पादनहरू आयात गर्यो जुन देशको कुल आयातको एक महत्वपूर्ण भाग हो । अहिलेको अवस्थामा कमसेकम १ खर्ब मूल्य बराबरको ग्यास र पेट्रोलियम पदार्थलाई विद्युत्ले प्रतिस्थापन गर्न सक्ने अनुमान गरिएको छ । त्यो भनेको वार्षिक ५ सय मेगावाट विद्युत् उत्पादन गर्न सक्ने रकम हो ।
विद्युत् उत्पादनबाट जीडीपीमा प्रत्यक्षरूपमा योगदान गर्नुका साथै विद्युत् क्षेत्रले अर्थतन्त्रका अन्य क्षेत्रहरूमा प्रभाव पारेर पनि अप्रत्यक्षरूपमा जीडीपीमा योगदान दिन सक्छ । उदाहरणको लागि, यदि विद्युत्को भरपर्दो र किफायती स्रोत प्रदान गर्न सक्षम छ भने यसले वस्तु उत्पादन, कृषि र सेवाजस्ता अर्थतन्त्रका अन्य क्षेत्रहरूको वृद्धिलाई टेवा पु¥याउन मद्दत गर्छ । जीडीपीमा यो अप्रत्यक्ष योगदान ‘गुणक प्रभाव’ को रूपमा चिनिन्छ । त्यसैगरी, विद्युत्को उपलब्धतामा सुधार हुन्छ भने यसले व्यवसायीहरूलाई नयाँ उपकरणहरूमा लगानी गर्न र तिनीहरूको सञ्चालन विस्तार गर्न प्रोत्साहित गर्छ जसले जीडीपीमा उच्च वृद्धि हुनेछ ।
विद्युत्को अभावले विद्युत्मा निर्भर आयातीत उपकरणहरूको उपयोगिता र दक्षता घटाउँछ जसले गर्दा त्यस्ता सामानहरू आयात हुने सम्भावना कम हुन्छ । विद्युत्लाई उत्पादनको कारकको रूपमा मान्न सकिने भएकोले ऊर्जाको आपूर्तिमा वृद्धिले निर्यात बढ्छ । ऊर्जाको आपूर्तिमा कमीले व्यापारयोग्य वस्तुहरूको उत्पादन क्षमतालाई असर गर्छ । यसको विपरीत ऊर्जाको आपूर्तिमा वृद्धिले व्यापारयोग्य वस्तुहरूको उत्पादन क्षमतामा सकारात्मक प्रभाव पार्छ । त्यसैले बिजुली बेचेर धनी हुने अव्यवहारिक सपना देख्नुभन्दा उत्पादित बिजुली स्वदेशमै खपत हुने नीति निर्माणमा सम्बन्धित निकायले बेलैमा सोचून् ।
Leave a Reply