भर्खरै :

मधेसको महक

मधेसको महक

जनकपुर पुगेको साँझ सहर विश्व कप फूटबलको फाइनल हेर्ने चटारोमा थियो । जानकी मन्दिरबाट गङ्गासागर हुँदै रेलवे स्टेसन जाने बाटोको व्यस्तता रात्रिकालीन उज्यालो र सडक छेउछाउका ठेलापसलहरूले अझ बढाइरहेको थियो । वर्षौँपछि तराई पुग्दा एकातिर तराईको महकले मोहित गरिरहेको थियो भने अर्कोतिर जनकपुरबारे सीके लालका लेखहरूमा वर्णित दृश्य र भाव खोजिरहेको थिएँ ।
गत २० पुसमा मात्र ‘द काठमाडौँ पोस्ट’ मा उनले जनकपुर सहर ‘व्यथित र क्लान्त’ देखिएको टिप्पणी गरेका थिए । यो वर्ष भएका स्थानीय र संसदीय निर्वाचनमा मधेसवादी दलहरूको पराजय र ‘काठमाडौँको राजनीतिक संरक्षणत्व र आर्थिक आडभरोसा प्राप्त दलहरू’ विजयी हुँदा जनकपुरको स्वशासनको चाह क्लान्त बन्दै गएको र जनकपुरलाई शैक्षिक र सांस्कृतिक केन्द्र बनाउने मधेसी बौद्धिकहरूको सपना मलिन बन्दै गएको उनले लेखेका छन् । कुनै बेला कृषिमा आधारित मधेसको अर्थतन्त्रको खाँबो क्रमशः अन्यत्र स्थानान्तरण हुँदै गएको छ । सिङ्गो देशजस्तै मधेसको अर्थतन्त्रले पनि रेमिट्यान्सको भर पर्नु परेको छ र मधेसका बजारलाई जीवन्त बनाउन रेमिट्यान्सले नै भूमिका खेलिरहेको छ । जनताको अग्रसरता नहुँदा व्यापारी, ऋण लगाउने साहु, ठेकेदार र राजनीतिक दलका मान्छेबिचको सम्बन्ध बलियो बन्दै गएको छ । विकास निर्माणको नाममा सार्वजनिक कोषमाथि हिनामिना भइरहेको छ ।
केही समयअघि उनै सीके लालले जनकपुरमा बढ्दो गेरुकरण (स्याफ्रोनाइजेसन) बारे गम्भीर चिन्ता पोखेका थिए । नेपालसँग सीमा जोडिएका भारतका राज्यहरूमा हिन्दूवादी भारतीय जनता पार्टीको राजनीतिक प्रभाव जनकपुरजस्ता नेपालका सीमावर्ती सहरहरूमा देखिन थालेको उनको लेखको मूल सार थियो । जनकपुर पस्ने ढोकामा बनेको रामवाण आकृतिको विशाल द्वार र मूल सडकमै बनेको सहिद स्मृति द्वारबिच तुलना गर्दै उनले हिन्दू अतिवादको जोखिममाथि चर्चा गरेका थिए । भारतमा हिन्दूवादी लहर उर्लेसँगै नेपाली सहरका भित्ता र घरका रङ्ग पनि क्रमशः गेरु रङ्गका हुन थालेको विषयमा अध्येता सविन नङ्लेखुलगायतका अनुसन्धानकर्ताहरूले समाजशास्त्रीय अनुसन्धान गरेका छन् । उनीहरूले भारतको बनारस र नेपालको जनकपुर सहरका घरका रङ्गमा देखिएको परिवर्तनलाई बढ्दो गेरुकरणको सङ्केत मानेका छन् ।
जनकपुरमा म यस्तै यस्तै केही भाव र सङ्केत खोज्दै थिएँ ।
xxx

जाडो त तराईमा पनि बढेको छ । उष्ण गर्मीयाममा छाया खोज्दै हिँड्ने मानिसहरू हिजोआज केही बेर भए पनि घाम तापिरहेका भेटिन्छन् । यस्तै एउटा समूहमा मानिसहरू मधेसकै राजनीतिको कुरा गरिरहेका थिए । संसारमा सबभन्दा बढी राजनीतिको विषयमा कुराकानी हुने देशमा नेपाल पनि पर्छ । यो विषयमा सबभन्दा अगाडि भने पाकिस्तान पर्छ रे । दुई जना मान्छे भेला हुन पाएको हुँदैन, राजनीतिका हजार कुरा गर्छन् पाकिस्तानीहरू पनि । जनकपुरमा ती मानिसहरू पनि राजनीतिक र प्रशासनिक बेथितिप्रति दिक्दारी पोखिरहेका थिए ।
“जनता विचरा के गरून् । चुनावमा सबै पार्टीले भोज बोलाउँछन् । जान्नँ भन्न नपाइने ¤ भोजमा नगए यसले हामीलाई भोट हाल्दैन भनेर कुनै पनि बेला अप्ठ्यारोमा पार्न सक्ने । जनता नचाहेर पनि चुनावमा भोज खान बाध्य छन्”, चुनावी चर्चाकै बिच सुनियो ।
उनीहरूमा भने मधेसी दलले भोगेको पराजयप्रति कुनै सन्ताप देखिएन । “सब बदमास छन् । बदमासबिच सबभन्दा असल बदमास को भनेर छान्ने प्रक्रिया नै चुनाव हो”, मैथली लवज मिसिएको नेपाली भाषामा भनेको सुनियो । स्थायी सरकारको बिँडो ठामेर बसेका ती मानिसहरूमा देशमा केही राम्रो होला भन्नेमा किमार्थ विश्वास भएजस्तो लागेन । उपभोक्ता समितिको नाममा तराईमा राजनीतिक दलले गर्ने भ्रष्टाचारको उनीहरूसँग निकै तीता अनुभव छन् । त्यही भएर उपभोक्ता समितिको असल प्रयोगबारे कसैले कुरा गर्दा उनीहरूलाई अपत्यारिलो लाग्छ र सीधै निस्कर्षमा पुग्छन्, “यो केही होइन । पार्टीहरूले आफ्ना कार्यकर्ता पाल्न लगाएको काइदामात्र हो ।”
देशका अधिकांश ठाउँमा उपभोक्ता समितिमार्फत खर्च गर्न पाउने तोकिएको रकम नक्कली वा आफ्नै आसेपासेलाई जम्मा गरेर उपभोक्ता समिति बनाई कुम्ल्याउने विकृति व्यापक छ । तराईका जिल्लाहरूमा यसले अझ व्यापकता पाएको छ । सरकारी कर्मचारीहरूको गोलोमा यस्ता अनुभव सुनाउन नमिल्ने कथा र गाउन नमिल्ने गीत बनेको छ ।
xxx

सवारी चालक रवीन्द्रकुमार झा निकै टाठा थिए । गाडीमा बसेको केही मिनेटभित्रै उनले आफ्नो घरपरिवार र कामको बारेमा धेरै कुरा सुनाइसकेका थिए । स्टेरिङ घुमाउँदै उनी बाटोछेउ साना ठूला कुनै मन्दिर देख्नासाथ औँलाले निधार छुन्थे ।
महोत्तरीतिर गाडी हुइँकिँदै गर्दा बाटामा कुनै असजिलो कुरा देखिने बित्तिकै उनी भन्थे, “मधेस प्रदेश हो नि सर । यहाँ जे पनि हुन सक्छ ।” सङ्घीयता आएपछि रवीन्द्रले देखेको परिवर्तन भनेको बाटोघाटो फराकिलो र पिच हुनु हो । एसियाली विकास बैङ्कको ऋण सहयोगमा मधेस प्रदेशका मुख्य सडकहरूको अवस्था सुधारिएको छ । जनकपुरबाट जलेश्वर पुग्न केही समयअघि एक घण्टा लाग्थ्यो । तर, हिजोआज २०–२५ मिनेटमा आरामसँग पुगिन्छ ।

युगौँ युगदेखिको समस्या र विकृतिको ‘अगिनसको तबेला’ सफा गर्न हुटहुटी बोकेका दलहरूबिना मधेसको महक खुल्न सक्नेछैन । जनताको जीवनमा आउने स–साना परिवर्तनले नै समृद्धि र संस्कृति खुल्दै जाने हो । त्यस्ता साना तर असाध्यै महत्वपूर्ण परिवर्तन गर्न नेपालका शासक दलहरू गम्भीर हुँदा मधेसभित्र लुकेका सम्भावना अझ उजागर हुन पाउनेछ ।

त्यसबाहेक उनले पनि जताततै लुटपाटमात्र देखेका छन् । “बाटोबाहेक तपाईँको जीवनमा सङ्घीयताले के परिवर्तन ल्याएको अनुभव गर्नुभयो ?”, यो प्रश्नको उत्तर दिन उनी अनकनाए । ठ्याक्कै भनिहाल्न मिल्ने कुनै कुरा थिएन उनीसँग । “सङ्घीयता आएपछि मधेसमा त छोरीहरूले साइकल र ल्यापटप पाए नि होइन र ?” मधेस सरकारले एसईई उत्तीर्ण गर्ने छात्रालाई साइकल दिने र त्योभन्दा माथिल्लो तह उत्तीर्ण गर्नेलाई ल्यापटप दिने निर्णयको प्रसङ्ग कोट्याउँदै गरिएको प्रश्न भुईँमा खस्न नपाउँदै रवीन्द्र च्याँठिएर बोल्यो, “त्यो सब झूट हो सर । सब भ्रष्टाचार । त्यस्तो थर्ड क्लास साइकल ल्याएर जनताको पैसामात्र कुम्ल्याउने काम भयो । ल्यापटप त कसैले पाएको सुनेको छैन । अख्तियारमा मुद्दा चलेपछि सब सकियो ।”
महिला र छोरीहरूको बारेमा सुनाउन बरु रवीन्द्र आफैसँग भने रोचक कथा रहेछ । उनकी छोरी अहिले दिल्लीमा डिप्लोमा इन्जिनियरिङ पढ्दै छिन् । छोरी दस कक्षा पढ्दै गर्दा रवीन्द्रकी श्रीमती रानी कक्षा आठमा भर्ना भएकी थिइन् । संयोगवश हामी रवीन्द्रसँगै महोत्तरी जाँदै गर्दा ह्वाट्सएपमा रानीले आफू प्लस टु उत्तीर्ण भएको सर्टिफिकेट पठाएकी थिइन् । जीवनका धेरै रङ्ग देखेका रवीन्द्र झालाई रानीको सर्टिफिकेटको रङ्ग सबभन्दा मनपरेको रङ्ग हुनुपर्छ । छोरीलाई दहेज दिने चलन तराईमा कम हुँदै गएको छ । रवीन्द्र पनि छोरीलाई दहेज दिनुपर्ने चिन्ताबाट मुक्त छन् । अझै पनि केही समुदायमा दहेजको चलन भए पनि त्यस्तो चलन अहिले मुर्झाइसकेको छ ।
रवीन्द्रको दाजु जलेश्वरको हनुमान मन्दिरका पुजारी हुन् । पुजारी कर्मसँगै दाजु जनता समाजवादी पार्टीको राजनीति पनि गर्छन् । तर, रवीन्द्रलाई भने मधेसी दलहरूप्रति खास आकर्षण छैन । उनी मधेसी दलहरू पनि काङ्ग्रेस, एमाले र माओवादीभन्दा कति पनि फरक नभएको अनुभव सुनाउँदै थिए । “मधेसी दलहरूले मधेसलाई अझ नराम्ररी लुटे,” उनी भन्दै थिए ।
मन भएसम्म गाडी चलाउने अनि केही वर्षपछि आसामको मन्दिरमा पुजारी भएका बुबाको बिँडो ठाम्न जाने सोचमा छन् रवीन्द्र ।

xxx

मधेस प्रदेशको राजधानी जनकपुर सहर जीवन्त हुनुका धेरै कारण छन् । जानकी मन्दिर, नेपालकै एकमात्र रेलवे सेवा, मिथिला कला, मिथिला थाली, पाइलैपिच्छे विशाल पोखरीहरू, आदि । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म चल्ने नेपाल रेल वे सेवाको जनकपुर स्टेसनमा बिहानै पुग्दा छेउको मन्दिरमा चर्को आवाजका हिन्दी गीतको धार्मिक रिमिक्स बज्दै थियो । रेलको लिक पारि हाट बजार लागेको थियो । स्टेसनका भित्तामा बनाइएका मैथली कलाले स्टेसनलाई सुन्दर बनाए पनि वरपरको फोहोर र भत्किन थालेका कमसल संरचनाले स्टेसनको तेज खोसिरहेजस्तो देखिएको थियो ।
जानकी मन्दिरकै आडको गङ्गासागरमा हरेक साँझ हुने आरती आन्तरिक र भारतीय पर्यटन प्रवद्र्धनको सुन्दर प्रयास हो । त्यसले त्यो विशाल पोखरीलाई जीवन्त बनाएको छ । पोखरी, ताल वा तलाउलाई जीवन्त बनाउन मर्मत सम्भार र जीर्णोद्धारसँगै सांस्कृतिक सक्रियता पनि आवश्यक हुने गर्छ । तर, विशाल पोखरी वरपरको अव्यवस्थित अवस्थाले पोखरी विकृति पनि बन्दै गएको देखियो ।
काठमाडौँमा सरकार बनाउन शासक दलबिच तानातान चल्दै गर्दा जनकपुर पनि नयाँ प्रदेश सरकार बनाउने तयारीमा थियो । मलिन बनेका मधेसी दल, कुनै मात्रामा पुरानो तेज फर्काएका शासक दल र नवोदित जनमत पार्टीलाई मधेसको वास्तु निर्माणको जिम्मेवारी जनताले चुनावी परिणाममार्फत दिएका छन् । सीके लालहरूले जनकपुरजस्ता तराईका सहरलाई लिएर देखेका सपना पूरा गर्न राजनीतिले अहम् भूमिका खेल्छ नै । त्यसकारण, उनीहरू बारम्बार मधेसका दलहरूलाई कहिले झपार्ने त कहिले सपार्ने कर्म गरिरहेका हुन्छन् ।
उत्पादनका साधनको प्रचुरता र सम्भावनाका हजार बाटा भएर पनि मधेसी जनताले भोग्नुपरेको विपन्नताको कहर बुझ्न त्यहाँका शासक दलहरू असफल छन् । अझै पनि मधेसमा व्याप्त बेरोजगारी, अशिक्षा, रुग्न स्वास्थ्य अवस्था, सहजता हुँदा पनि बन्न नसकेका र बनेर पनि झेल्न नसकेका पूर्वाधार आदि कैयौँ समस्या समाधान गर्न मधेसको नाममा राजनीति गर्नेहरू गम्भीर छैनन् । सत्ताको फोहोरी रोग सिंहदरबारमा जस्तै जनकपुरमा पनि उस्तै गन्हाउँछ । राम्रा नारा दिएर नराम्रा काम गर्ने शासक र प्रशासकलाई ठेगान नलगाउँदा त्यो सुन्दर भूमिले काँचुली फेर्ने दिन नजिक आउनेछैन ।
युगौँ युगदेखिको समस्या र विकृतिको ‘अगिनसको तबेला’ सफा गर्न हुटहुटी बोकेका दलहरूबिना मधेसको महक खुल्न सक्नेछैन । जनताको जीवनमा आउने स–साना परिवर्तनले नै समृद्धि र संस्कृति खुल्दै जाने हो । त्यस्ता साना तर असाध्यै महत्वपूर्ण परिवर्तन गर्न नेपालका शासक दलहरू गम्भीर हुँदा मधेसभित्र लुकेका सम्भावना अझ उजागर हुन पाउनेछ ।

नीरज लवजू

Leave a Reply

Your email address will not be published. Required fields are marked *