भर्खरै :

देश र जनतालाई धोका दिने सांसदहरूबाट जनता सचेत हुनुपर्ने

काठमाडौँ, ११ पुस । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काठमाडौँ–दैलेख सम्पर्क समितिको आयोजनामा १२९ औँ माओ जयन्तीको अवसरमा अभिभावक भेटघाट कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा जिल्ला समिति दैलेखका अध्यक्ष जग्यबहादुर शाहीले निर्वाचित सांसदहरू देश र जनताप्रति जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
देश र जनतालाई धोका दिने सांसदहरूबाट जनता सचेत हुनुपर्ने विचार व्यक्त गर्दै विद्यार्थीहरू सङ्घको उद्देश्य नभुली लगनशील भएर लाग्नुपर्छ भन्नुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य बजिर सिंह विकले अध्ययनले मानिसलाई परिपक्क बनाउने विचार व्यक्त गर्दै चिनियाँ नेता माओले देशका सामन्त र प्रतिक्रियावादीहरूलाई ठेगान लगाएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङले माओवादीहरू माओ त्सेतुङ विचारविपरीत गइरहेको चर्चा गर्दै देशको वस्तुस्थिति तयार नहुँदै गरिएको जनयुद्ध बलिदानमा ढुङ्गिएको विचार व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्ष सुरेश परियारले सानो किसान परिवारको घरमा जन्मे हुर्केका व्यक्तिको नेतृत्वमा व्यवस्था बदल्न सक्छ भन्ने कुरा माओले देखाइदिएको स्मरण गर्नुभयो ।
शम्भु जाउलाको सभापतित्वमा भएको सो कार्यक्रममा नेक्राविसङ्घ दैलेख –काठमाडौँ सम्पर्क समितिका उपाध्यक्ष विनय सिजापति र सचिव निरु विश्वकर्माले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *