भर्खरै :

वागीश्वरी कलेजद्वारा शैलुङमा तीनदिने अध्ययन शिविर आयोजना

वागीश्वरी कलेजद्वारा शैलुङमा तीनदिने अध्ययन शिविर आयोजना

भक्तपुर, ११ पुस । वागीश्वरी कलेजमा अध्ययनरत समाजशास्त्रका विद्यार्थीहरूको तीनदिने सामुदायिक अध्ययन शिविर दोलखाको शैलुङ गाउँपालिकाको ढुङ्गेबजारलाई केन्द्रबिन्दु गरी सम्पन्न भयो ।
दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्ने दोरम्बा गाउँपालिकास्थित शिवलिङ्गेश्वर मा.वि.मा विद्यालयका प्रधानाध्यापक खड्गबहादुर शाक्यले विकट मानिएको गाउँ शैलुङमा सामाजिक सांस्कृतिक पक्ष तथा समसामयिक विषयमा अध्ययन हुनुले विकट स्थानले पनि महत्व पाएको आभास दिलाएको कुरा प्रस्ट पार्नुभयो ।
आधुनिकताको नाममा गाउँका विद्यार्थीहरू सहर पसिरहेको सन्दर्भमा नगरका विद्यार्थीहरू गाउँतिर आई अध्ययन अवलोकन गर्न आउनु सहरानीय पक्ष रहेको तथ्य आँैल्याउँदै उहाँले वागीश्वरी कलेजको अध्ययनले शैलुङको सकारात्मक परिवर्तनमा देन पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
वागीश्वरी कलेजका समाजशास्त्रका शिक्षिका सुशीला कर्माचार्यले व्यवहारिक सिकाइ दीगो हुने र जीवन्त सिकाइले समाजमा व्यवहारिकता कायम गर्ने र समाजको एकतामा जोड दिने भएकोले सामुदायिक शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले सामुदायिक शिविरले दुई भूगोललाई सामाजिक र सांस्कृतिकरूपमा एक बनाउनमा मद्दत गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षक अम्बर श्रेष्ठले कार्यक्रमको औचित्य प्रस्ट्याउँदै कार्यक्रम तालिका र योजनाबारे स्पष्ट पार्नुभएको थियो ।
शिविरको दोस्रो दिन प्रभातकालीन कार्यक्रमअन्तर्गत शैलुङ डाँडाको भौगोलिक, सांस्कृतिक तथा धार्मिक अध्ययनको लागि पदयात्रा कार्यक्रम सम्पन्न भयो । दिवा सत्रअन्तर्गत शैलुङ्ग गाउँपालिकाको मेहेले फलाँटे, काँडे, चित्रे, बोटले, लहरे, वालसार्पा क्षेत्रमा दाइजो प्रथाले सिर्जित ‘सामाजिक चुनौती र महिला हिंसाको परिवर्तित रूप’ शीर्षकमा सामाजिक सर्वेक्षण सम्पन्न भएको थियो । उक्त अध्ययन क्षेत्रका २ सय घरलाई नमुना छनोटको रूपमा लिइएको थियो । सोही क्रममा सहभागी विद्यार्थीहरूले आ–आफ्नो अनुभव आदानप्रदान गरेका थिए ।
शिविरको तेस्रो तथा अन्तिम दिनको बिहानी सत्रमा स्थानीय लालीगुराँस महिला समूहको सहयोगमा ‘पित्तृसत्तात्मक सोच, व्यवहार र सामाजिक परिणाम’ विषयमा अन्तक्र्रिया सम्पन्न भयो ।
सो कार्यक्रममा संस्थाका अध्यक्ष दिलमाया तामाङले पित्तृसत्तात्मक सोच केही हदसम्म कायम रहे पनि पहिलेभन्दा धेरै सुधार भएको बताउनुभयो । अर्का एक सहभागीले गाउँको महिलाहरूले उपचारको सुविधा नभएको कारण आफ्नो रोग लुकाउने गरेको बताउनुभयो । बालविवाह तामाङ समुदायमा बढ्नुको कारण भागी विवाह हुने गरेको कार्यक्रममा सहभागी सरिता तामाङले बताउनुभयो ।
सोही दिन सांस्कृतिक कार्यक्रमसहित शिविरको समापन गरिएको थियो । सो कार्यक्रमका शिक्षासेवी सुन्दर खड्काले वागीश्वरी कलेजको शिविरले गाउँको शैक्षिक जगतमा एक इँटा थप्ने काम गरेको बताउनुभयो । ढुङ्गे सामुदायिक स्वास्थ्य एकाइका प्रमुख नागेन्द्र यादवले शिक्षालाई व्यवहारसँग जोड्ने शिविरको निरन्तरताको कामना गर्नुभयो ।
कलेजका प्राध्यापक सुशीला कर्माचार्यले विद्यार्थीहरू स्थानीय जनताको माया र सहयोगबाट प्रभावित भएकोमा खुसी व्यक्त गर्नुभयो । शिक्षक अम्बर श्रेष्ठले शिविरको सफलताको लागि सम्पूर्ण सहयोगीलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा सर्वेक्षणको सङ्क्षिप्त प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रम कलेजका विद्यार्थी र स्थानीय विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रफूल कर्माचार्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा रोशना सुवाल र सरिना दुमरुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *