भर्खरै :

इमानदारीको राजनीति खोइ ?

कुर्सीको निम्ति हानथाप हुँदा या कुर्सी नभइकन बस्नै नसक्ने सत्तासीन दलका नेताहरूको अहङ्कार र महत्वाकाङ्क्षाले गर्दा बन्न लागेको सरकार पनि नबन्दो रहेछ या अर्काे सरकार बन्दो रहेछ भन्ने कुरा एमालेसमेतको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएबाट पुष्टि हुन्छ । नेकाको नेतृत्वमा सरकार गठन हुनेमा ढुक्क रहेका नेकाका नेताहरू छानाबाट खसेझैँ एकाएक स्तब्ध भए । रात बितेपछि अग्राख पलाउँछ भनेझैँ नेकाको सपना चकनाचुर भएको छ र नेकाको सत्ता राजनीतिमा बज्रपात भएको छ । सत्ता नै सबथोक ठान्ने, सत्ताको निम्ति ज्यानतोड गर्ने, सिद्धान्त र विचारको ख्याल नगर्ने दलका नेताहरू एकले अर्काेलाई धोका दिन र छिनछिनमा वचन फेर्न पछि पर्दैनन् भन्ने कुरा घटनाक्रमले देखाइरहेको छ ।
सत्ताको मोलमोलाइमा फस्दा या सिद्धान्त र विचारको राजनीति नगर्दा देशको राजनीति या सत्ता समीकरणमा एकाएक फेरबदल हुने कुरा घटनाक्रमले पुष्टि ग¥यो । सत्ता गठबन्धनको सरकार बनाउन फौजदारी अभियोगमा थुनामा रहेका नेताहरूको रिहाइ गर्ने सर्त बनाउने, प्रम नभई नहुने अडानले नसोचेझैँ राजनीतिमा उतारचढाव हुने गरेको यो पहिलो घटना होइन । सत्तासीन र ठूला दलका नेताहरूको यस्तै भागबन्डा, पदमुखी राजनीतिले देशमा अस्थिरता र सङ्कट देखिएको हो । के पद नपाउँदैमा विश्वासघात गर्न मिल्छ ? पदकै निम्ति गठबन्धन तोड्ने ? इमानदारीको राजनीति खोइ ? अडान नभएको, छिनछिनमा विश्वास फेर्ने दलका नेताहरूको भरमा देश चलाउनु दुर्भाग्यकै विषय बनेको छ । प्रम को बन्ने सन्दर्भमा भइरहेको छलफल निष्कर्षमा नपुगेपछि माओवादी केन्द्रले अर्कै बाटो रोज्यो र एमालेले त्यसलाई समर्थन ग¥यो ।
विगतमा माओवादीले एमालेलाई र एमालेले माओवादीलाई हिलो छ्यापेको कुरा के सरकारको हेरफेरसँगै सेलाउँछ ? माओवादी केन्द्र आफ्नै दलका नेताको टाउकोको मूल्य तोक्ने नेकासँग एकाकार गर्नु या घाँटी जोड्नु र संविधानविरोधी एमाले भन्दै पानी बाराबारको स्थितिमा पुगेको एमालेसँग एकाएक नजिक हुनु या गला जोड्नु के दाहालको नयाँ क्रमभङ्ग हो ? पद र पैसाको निम्ति राजनीति गर्ने दलका नेताहरूको बोली वचनको कुनै ठेगान नहुने भन्ने राजनीतिक विश्लेषकहरूको ठम्याइ सत्य साबित भएको छ । नेकाको नेतृत्वमा नयाँ सरकार गठन हुने वातावरण तयार भइरहेको बेला प्रम पद नपाउने भएपछिको परिणामले देश कतातिर जाँदै छ भन्ने कुरा यसै भन्न सकिने स्थिति छैन । यी नै ठूला र सत्तासीन दलका नेताहरूको अदूरदर्शिता र बेवास्ताले देशमा कुन दिन दुर्घटना हुने हो ठेगान हुँदैन ।
सत्तासीन दलका नेताहरूको सानो गल्तीले देश र जनताको ठूलो क्षति हुने कुरा हामीले बिर्सनु हुँदैन । आर्थिक सहयोग र विचारको लोभ बाँडेर भारत र अमेरिकाजस्ता विदेशी शक्ति राष्ट्रहरू नेपाललाई कमाउनेधन्दा मात्र होइन आफ्नो मातहतमा राख्ने या नवउपनिवेश बनाउने सपना बुन्दै छन् । यसले देशलाई दूरगामी असर पु¥याउनेछ । यसकारण, सरकारमा सहभागी नहुने सबै दलका नेताहरूले सरकारले ल्याउने असमान सन्धि, सम्झौता र विधेयकको समयमै खबरदारी गर्नुपर्छ, सम्पूर्ण देशभक्त जनता मिलेर सङ्घर्ष गर्नुपर्छ, देश र जनताको पक्षमा आवाज बुलन्द गरिरहनुपर्छ । नत्र भोलि देश रहला कि नरहला ? थाहा हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *