न्हुदँ ११४७ को कार्यक्रममा सहभागी हुन तः मुंज्याको आग्रह
- कार्तिक १६, २०८३
भक्तपुर, १३ पुस । सेवा निवृत्त शिक्षक समाज, भक्तपुरले नेपाल मजदुर किसान पार्टीबाट ४ मङ्सिरको निर्वाचनमा निर्वाचित सङ्घीय सांसद तथा बाग्मती प्रदेशसभाका सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रम बुधबार सम्पन्न गरेको छ । सङ्घीय सांसद प्रेम सुवाल, बाग्मती प्रदेशसभाका सदस्यहरू सुरेन्द्रराज गोसाई, सृजना सैँजू र गीता काफ्लेलाई समाजका अध्यक्ष अम्बिकामान मानन्धरले पुष्पगुच्छासहित खादा ओढाई सम्मान गरिएको उक्त कार्यक्रममा नवनिर्वाचित सांसद सुवालले शासक दलहरूमा राजनीतिक इमानदारी नभएका कुरा नयाँ सत्ता समीकरणमा देखिएको विचार व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपा संसद्मा प्रखर प्रतिपक्षमा रहन्छ । प्रखर प्रतिपक्षको अर्थ पुँजीवादी पार्टीको अराजकताको तत्काल वा सटिक विरोध गर्ने भन्ने हो† हामी त्यही भूमिका निर्वाह गर्छाैँ । राजनीति सबै नीतिको मूलनीति हो । तर, यहाँ शासक दलहरू बेइमान गर्ने मौका नपाएसम्म मात्र इमानको कुरा गर्दा रहेछन् भन्ने अहिले पुष्टि भएको छ ।”
निर्वाचन अवधिभर एमालेको विरोध गर्दै काङ्ग्रेससँग मिलेर जनताका बिचमा गएको माओवादी अहिले उही एमालेसँग मिलेर काङ्ग्रेसलाई प्रतिपक्षमा पारेर सत्ता समीकरण गरेको सन्दर्भमा उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो ।
विद्यालय शिक्षा निःशुल्क र अनिवार्य एवम् विश्वविद्यालय शिक्षा निःशुल्क गर्नुपर्ने, स्वास्थ्य सेवा निःशुल्क गर्नुपर्ने, देशको सीमा सुरक्षा र सार्वभौमिकता रक्षालाई प्राथमिकताका साथ संसद्मा आवाज उठाउने विचार व्यक्त गर्दै उहाँले भर्खरै सम्पन्न पार्टीको ३४ औँ केन्द्रीय परिषद्मा शिक्षाको बजेट २४ प्रतिशत हुनुपर्ने र ख्वप विश्वविद्यालयको विधेयक पारित गराउन निरन्तर जोड दिने प्रस्ताव पारित भएको बताउनुभयो ।
शिक्षा र खेलकुदमा जति बजेट बढ्छ† त्यति नै स्वास्थ्यमा बजेट घट्ने विचार राख्दै उहाँले अब्बल दर्जाका नयाँ पुस्तालाई शिक्षण पेशामा आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो ।
जनताको बचत सङ्कलन गरी सहकारीका सञ्चालकहरू भागेको देखिएको हुँदा त्यतातर्फ सबै सचेत हुनुपर्ने भन्दै उहाँले त्यस्ता भगुवा सञ्चालकलाई पक्रेर जनताको रकम असुलउपर गर्नुपर्ने बताउनुभयो ।
निर्वाचनको बेला प्रम देउवाले मतदातालाई ५–५ हजार रकम बाँडेको सञ्चारमा आएकै हो, भृकुटी मण्डपको ६० रोपनी जग्गा बहालमा भ्रष्टाचार आरोपित व्यक्ति पनि निर्वाचन जितेको, सरकारी सवारी साधन दुरुपयोग भएको, सिक्टर सिँचाइमा भ्रष्टाचार गरेका, हत्या आरोपमा फरार व्यक्तिलाई समेत निर्वाचनमा उठाउने शासक दलहरू दोषी नै हुन् भन्दै उहाँले नवनियुक्त गृहमन्त्रीले निर्मला पन्तको हत्यारा पत्ता लगाई कारबाही गर्ने प्रतिबद्धता जनाउनु पुराना मन्त्रीहरूकै सिलसिलाभन्दा खासै फरक नभएको टिप्पणी गर्नुभयो ।
देशमा जति धेरै विदेशी पुँजीको प्रवाह बढ्छ त्यति नै नेपाली पुँजी कमजोर हुन्छ भन्दै उहाँले यस्तो अवस्थामा विदेशी उपनिवेशको स्थिति उत्पन्न हुन्छ भन्नुभयो ।
कार्यक्रममा बाग्मती प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईले निर्वाचनमा गर्नुभएको सहयोगको लागि धन्यवाद दिँदै सेवा निवृत्त शिक्षकहरूको विनाथकानको सक्रियताको लागि आभार व्यक्त गर्नुभयो । संसद्मा उठाउनुपर्ने विषयको लागि पनि आवश्यक सल्लाहसुझाव निरन्तर पाउने अपेक्षा व्यक्त गर्दै उहाँले असैद्धान्तिक सत्ता गठबन्धनबाट सकारात्मक परिणामको अपेक्षा नगर्न अनुरोध गर्नुभयो ।
नवनिर्वाचित प्रम प्रचण्डले पहिलो अन्तर्वार्ता हिन्दी च्यानललाई हिन्दी भाषामा दिएर पहिलो विदेश भ्रमण भारतमै गर्ने वचनले सत्ता समीकरण भारतबाट मिलाइदिएको सङ्केत मिल्छ भन्दै उहाँले सार्वभौम जनताको मतको अवमूल्यन गरेर सत्ताको लागि जे पनि गर्नु एउटा अपराधै हो भन्नुभयो ।
नयाँ पुस्तालाई विचारशून्य बनाउने राजनीति विदेशी विचार लाद्ने खेल हो भन्दै उहाँले त्यसबाट राजनीतिमा थप विसङ्गगति बढ्ने हुँदा सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्यद्वय सृजना सैँजु र गीता काफ्लेले निर्वाचन घोषणापत्रअनुसार काम गर्ने वचनबद्धता व्यक्त गर्नुभएको थियो ।
समाजका अध्यक्ष अम्बिकामान मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष रामगोपाल कर्माचार्य, कोषाध्यक्ष विश्वराम कवां र सदस्य ज्ञानसागर प्रजापतिले पनि बधाई एवम् शुभकामना मन्तव्य दिनुभएको थियो ।
Leave a Reply