भर्खरै :

सांसदहरू मन्त्री हुन नपाउने व्यवस्था गर्ने हो कि !

संसदीय राजनीतिमा फोहरी खेल हुन्छ भन्ने कुरा नयाँ होइन । सत्ताको निम्ति फोहरी खेलमा हामफाल्दा सत्तासीन नेताहरू आफ्नो राजनीतिक चरित्रको ख्याल गर्दैनन् । शासक दलका नेताहरूको यस्तै फोहरी खेलदेखि वाक्कदिक्क भएका जनता शासक दलका नेताहरूप्रति जनताको वितृष्णा बढेको हो । सत्तासीन दलहरूको अधिकांश समय सरकार गठन, मन्त्रिमण्डल विस्तार र भागबन्डामा अल्झिएको छ । पदकै निम्ति गठबन्धनभित्रकै दलहरूबिच हुने अन्तर्घात, विश्वासघात, विवादास्पद कुराले राजनीतिक अस्थिरता निम्तिएको हो, राजनीतिक अन्योल र सङ्कटले निरन्तरता पाइरहेको हो । बहुदल स्थापनापछिको देशको राजनीति यसरी नै घस्रिरहेको देखिन्छ ।
देशको संसदीय राजनीतिमा भइरहेको यस्तै अन्योल, सङ्कट, घात, अन्तर्घात, भागबन्डाको निम्ति पार्टी छाड्ने, पार्टी फोड्ने र सांसद किनबेचसमेत भएको घटनाको मूल्याङ्कन गर्दै नेमकिपाले निर्वाचित सांसदहरू मन्त्री बन्न नपाउने व्यवस्थाको माग गरेको थियो । देश चलाउनको निम्ति सम्बन्धित मन्त्रालयको विज्ञ आवश्यक हुन्छ । निर्वाचित सबै सांसदहरूमा त्यो गुण, क्षमता, सीप या अनुभव हुँदैन । मन्त्रीमा कला र संस्कृतिसम्बन्धी कुनै जानकारी छैन, कला र संस्कृतिको महत्व बुझ्दैन भने यहाँको सम्पदा कसरी संरक्षण र संवद्र्धन हुन्छ ? कला र संस्कृतिले भरिपूर्ण भक्तपुर सहर अहिलेसम्म सांस्कृतिक नगर घोषणा नहुनु पनि यस्तै कारणले हो । यो त प्रतिनिधि घटनामात्र हो । यही कारण नेमकिपाले देशको निम्ति आवश्यक जनशक्तिअनुसार विज्ञहरूको सरकार गठन हुनुपर्छ भन्ने माग उहिल्यै गरेको थियो ।
२०४८ सालदेखिको संसदीय र प्रधानमन्त्रीय बन्दोबस्तमा रहेर देशमा पटकपटक अस्थिर सरकार बन्यो । पटकपटक सरकारको नेतृत्व हेरफेर भयो । ठूला र सत्तासीन दलका नेताहरूमा सांसद भएपछि मन्त्री बन्ने र मन्त्री बन्न भागबन्डा गर्ने स्वार्थले सांसद र मन्त्रीहरू शुभलाभमा पल्के । शासक दलका नेताहरूले बहालवाला सरकार ढाल्ने र आफ्नो सरकार बनाउने क्रम जारी राखे । यो क्रम अहिले पनि दोहोरिरहेको छ । यसकारण, नेमकिपाले संविधानसभाको निर्वाचनमा राष्ट्रपति प्रत्यक्ष निर्वाचनबाट बहाल हुनुपर्ने, सांसदहरू मन्त्री हुन नपाउने र राष्ट्रपतीय शासनको व्यवस्थाको माग गरेको थियो । राष्ट्रपतिले आफ्नो सुविधाको निम्ति आफैप्रति उत्तरदायी हुने बुद्धिजीवीहरूको एक सानो मन्त्रिपरिषद् बनाउने सुझाव नेमकिपाले दिएको थियो । यसबाट सांसदहरू बारम्बार सरकार ढाल्ने र बनाउने ‘सत्ताको कुकुर झगडा’ र ‘फोहरी खेल’ मा लाग्न नपर्ने विश्वास नेमकिपाको हो ।
विजोग त कम्युनिस्ट भनिने ठूला र सत्तासीन दलहरूको भागबन्डाको हो । सत्तामा रहेका कम्युनिस्ट पार्टीहरू लाजशरम छोडेर, विदेशी शक्ति राष्ट्रको बुइँ चढेर विस्तारवादी र साम्राज्यवादी शासकहरूको पृष्ठपोषणमा लागेर देशलाई कङ्गाल बनाउनेतर्फ किन उन्मुख भएका हुन् ? सत्ताका लागि जे पनि गर्ने, जे गरे पनि मान्य हुने देशका शासकहरूको कस्तो राजनीति ! प्रधानमन्त्री पद नै सबथोक ठानेर राजनीति गर्ने दलहरू कस्ता ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *