भर्खरै :

माक्र्सवादीहरू वर्गसङ्घर्ष त्याग्दैनन्

नेका, लोसपा, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीहरू सरकारमा सामेल हुनु अस्वाभाविक होइन । तर, कम्युनिस्टहरू पुँजीवादी बन्दोबस्तको सरकारमा जान या नेतृत्व गर्न अनेक पासा खेल्नु, धोका दिनु गठबन्धनभित्रका दललाई मात्र होइन जनतालाई पनि विश्वासघात गर्नु हो । मजदुर र किसान या बहुमत जनताको हित हुने व्यवस्था ल्याउन वर्गीय सङ्घर्षको आधार तयार गर्नुपर्ने कम्युनिस्टहरू सत्ता प्राप्तिको राजनीतिमा लागेपछि कसरी कम्युनिस्टको उद्देश्य पूरा हुन्छ ? देशमा आमूल परिवर्तन गर्ने वातावरण कसरी तयार हुन्छ ? कामदार जनताको स्वर्ग समाजवाद ल्याउन नेमकिपाझैँ एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पनि जनतालाई राजनीतिक, वैचारिक, सैद्धान्तिक र सांस्कृतिकरूपले सचेत र सङ्गठित गर्न लाग्नुपर्ने हो, सिद्धान्त र विचारको राजनीति गर्नुपर्ने हो, वर्ग शत्रु र वर्ग मित्र चिनेर आन्दोलन अगाडि बढाउनुपर्ने हो । तर, त्यस्तो कुनै गतिविधि भइरहेको छैन ।
अहिले भइरहेको सत्तारुढ दलहरूको सबै गतिविधि सिद्धान्त र विचारमा होइन भागबन्डामा केन्द्रित छ । माक्र्सवाद आफ्नो दलको मार्गनिर्देशक सिद्धान्त हो भने त्यसलाई देश, काल र परिस्थितिअनुसार लागु गर्न ती दलहरू अघि सर्नुपर्ने हो । कम्युनिस्टको सिद्धान्त र विचार देखाएर जनताको मत लिने तर सिद्धान्त र विचारअनुसार काम नगर्नु अर्काे बेइमानी हो । कम्युनिस्ट सिद्धान्त र विचारअनुसार राजनीति गर्दैन भने दलको नाम कम्युनिस्ट किन राख्ने ? दल ठूलो बनेर के गर्ने ? दल सरकारमा गएरै के गर्ने ? माक्र्सवाद वर्गसङ्घर्षमा आधारित समाजको सर्वहारा वर्गीय आमूल परिवर्तनको सिद्धान्त हो । देशका ठूला र सत्तामा पुगेका कम्युनिस्ट पार्टीले माक्र्सवाद र लेनिनवादलाई आत्मसात गरेका छैनन् ।
सत्तासीन कम्युनिस्ट पार्टीहरू सरकारमा नअल्झिकन नेता तथा कार्यहरू बस्ती–बस्तीमा पसेर या घर–आँगन पुगेर जनतालाई सुसूचित र सङ्गठित गरेका भए सङ्घर्षको निम्ति वातावरण तयार हुन्छ, जनता सचेत र सङ्गठित हुन्छन् । पुँजीवादी व्यवस्था र समाजवादी व्यवस्थाको विभेदबारे थाहा हुन्छ । यसले समाजवादी व्यवस्था स्थापना गर्न टेवा पु¥याउँछ । कम्युनिस्टहरू पुँजीवादी व्यवस्थामा रहेर रमाउने होइन, मलजल गरेर पुँजीवादी व्यवस्थालाई बलियो बनाउने होइन बरु पुँजीवादी व्यवस्था अन्त्य गर्न लाग्नुपर्ने हो । पुँजीपति वर्ग या पुँजीवादी पार्टीले गर्ने काम कम्युनिस्टहरूले किन गर्ने ? सरकार टिकाउने र बलियो बनाउने नाउँमा कम्युनिस्टहरूको नेतृत्वमा बनेको सरकारमा राजावादी दललाई हुल्याएर कम्युनिस्ट पार्टीको उद्देश्य कसरी पूरा हुन्छ ?
कम्युनिस्टहरू पुँजीवादी व्यवस्थाको सत्तालोलुपमा फस्न नहुने हो । संसारमा कम्युनिस्टहरू बिग्रिनुको कारण अवसरवादी र संशोधनवादी नीति हो । दीर्घकालको सेवा सुविधा नहेरी अगाडिको स्वार्थ हेर्ने दलगत र व्यक्तिगत स्वार्थ नै देशका ठूला र सत्तासीन कम्युनिस्टहरूको कमजोरी हो । ठूला र सत्तासीन कम्युनिस्ट पार्टी र पार्टीको नेतृत्व तहले गरेको गल्तीको कुनै समीक्षा नगर्ने, जसले जस्तो गलत र सिद्धान्त र विचारविरोधी, जनविरोधी निर्णय गरे पनि आलोचना नगर्ने, आलोचना गर्न डराउने, आलोचना गरेपछि कारबाही गर्ला भन्ने चिन्तामा डुब्ने नेता तथा कार्यकर्ताहरूको कारणले पनि सत्तासीन र ठूला दलले दिशानिर्देश गर्न नसकेको हो । देशको कम्युनिस्ट आन्दोलन अघि नबढेको हो । सत्तासीन कम्युनिस्ट पार्टीले या त दलको मार्गनिर्देशक सिद्धान्त छोड्नुप¥यो या त त्यस दर्शनअनुसार राजनीति गर्नुप¥यो । मार्गनिर्देशक एउटा काम कारबाही अर्काे भएपछि देशमा कसरी आमूल परिवर्तन हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *