भर्खरै :

इसाई धर्म : केही गन्थन र केही मन्थन –२

इसाई धर्म : केही गन्थन र केही मन्थन –२

ज्ञानोदय र तर्कको युग
मार्टिन लुथरको सुधार आन्दोलनले युरोपभरिको धार्मिक, सामाजिक, आर्थिक, बौद्धिक जागरण र राजनैतिक पद्धतिमा समेत प्रभाव पार्दै गयो । बेलायतका राजा हेनरी आठौंले रोमन क्याथोलिकको मातहतमा नरहने गरी आफ्नै स्वतन्त्र चर्चको (Angelical Church) स्थापना गरे । जसको प्रमुख उनी आफै हुने व्यवस्थासमेत मिलाए । आप्mनी जेठी रानीबाट छोरो नजन्मेको कारण आफ्नो वंशै नाश हुने डरले पहिलो रानीसँग पारपाचुके गरेर दोस्रो विवाह गर्न उनलाई रोमन क्याथोलिक चर्चले अनुमति दिएको थिएन । स्वतन्त्र चर्च खोल्ने हेनरी आठौँको कदमले बेलायतको राजतन्त्र प्रणाली र रोमन क्याथोलिक चर्चको नाममा रहने जग्गाजमिनको स्वामित्व हस्तान्तरणले बेलायतको राजतन्त्र आर्थिक आधारमै फेरबदल ल्याइदियो । प्रोटेस्टेन्ट धर्मको उदयले यसमा अन्तरनिहित नयाँ नैतिक मूल्य र मान्यताको कारणले त्यस धर्मावलम्बीहरूको बाहुल्यता रहेको स्थान स्कटलैन्डबाट पुँजीवादको विकास भएको निष्कर्ष जर्मन समाजशास्त्री म्याक्स वेबर (Max Weber) ले आफ्नो सोध पुस्तक ‘प्रोटेस्टेन्ट आचरण र पुँजीवादको प्राण’ (The Protestant Ethics and Spirit of Capitalism) मा प्रस्टाए । पुँजीवादको विकासको प्रमुख कारण आर्थिक शैली (Economic Mode of Production) हो भन्ने कार्ल माक्र्सको निष्कर्ष थियो । यसलाई आर्थिक नियतिवाद (Economic Determinism) भनिन्छ । माक्र्सको यही आर्थिक नियतिवादको निष्कर्षलाई विमति जनाउदै वेबरले प्रोटेस्टेन्ट आचरणसम्बन्धीको शोध अनुसन्धान गरेको देखिन्छ ।
युरोप अठारौँ शताब्दीसम्ममा ज्ञानोदयको युग (Age of Enlightenment) र तर्कको युगमा (Age of Reason) पदार्पण ग¥यो । मानव जीवन र भौतिक संसारका विभिन्न पक्षहरूका बारेमा जानकारी लिन तत्पर हुने र हरेक विचार र कथनलाई आँखा चिम्लेर विश्वास गर्नेभन्दा किन र के भनेर आलोचनात्मक दृष्टिकोणले वास्तविकतासम्म पुग्न सामान्य मानिस पनि सचेत हुन यी युगले मानिसलाई सिकायो । यही युगको परिणामस्वरूप मानिसहरूले त्यतिबेला सोच्न थाले – हामी आफ्नो आँखाले देख्न नसक्ने अमूर्त र निराकार ईश्वरको कुरा र चिन्ता किन गर्छौँ ? बरु यसको सट्टा यही धरती, जीव र जगत अनि हाम्रै आफ्नै मानव शरीरका बारेमा बढी चिन्तन र मनन किन नगर्ने ? ज्ञान र तर्कको युगले सिकाएको यही नवीन विचारले युरोपमा अझै वैज्ञानिक विचार फल्न र फुल्न उर्वर भूमि प्रदान गर्यो । यही युगले भोल्टायर, रुसो, मन्टेस्क्यु, जेरमी बेथम, डेभिड ह्यूम, आडम स्मिथ, इमायुल कान्त र थोमस जेफरसनजस्ता व्यक्तित्वहरूलाई जन्मायो । यी व्यक्तित्वहरूको विचार र चिन्तनले युरोप र पश्चिममा अर्को राजनैतिक उथलपुथलको बिजारोपण गर्यो । फ्रान्सेली राज्यक्रान्ति र अमेरिकी स्वतन्त्रता सङ्ग्राम यसको परिणति थियो । यसरी युरोप अझ विज्ञानमय भयो र धर्मप्रति झनै आलोचनात्मक भए । राज्य अमुक धर्मबाट टाढा रहनुपर्ने विचारले जन्म लियो र विस्तारै मानिसको झुकाव धर्मबाट धर्म–निरपेक्षतातिर ढल्कियो । आज पश्चिमा समाजमा इसाई धर्मप्रतिको झुकाव कम हुँदै गएको र अमेरिकामा मात्र सन् २०४० सम्ममा अहिलेको सङ्ख्यामा पचास प्रतिशतको दरले क्रिश्चियनहरू घट्ने प्रक्षेपण विभिन्न अध्ययन र अनुसन्धाले गरेको छ । (पढ्नुस् न्युयोर्क टाइम्स २४–२५ डिसेम्बर, रोस डउड्याटको आलेख)

हत्या गरिएका जापानका पूर्वप्रम सिन्जो आबे

धर्म निरपेक्षता ढांँगमात्र ?
यसरी सिङ्गो युरोप र पश्चिमा देशहरूमा अठारौँ र उन्नाइसौँ शताब्दीमा इसाई धर्मप्रतिको मोह घट्दै गयो । तर, यही धर्मलाई एसिया, अफ्रिका तथा ल्याटिन महादेशका देशहरूमा आ–आफ्नो प्रभुत्व जमाउने ज्यावल बनाउन भने पश्चिमा शासकहरूले छोडेनन् । यही सिलसिलामा दक्षिण अफ्रिकाका आर्क विसोप डेसमन टुटुले आफ्नो पुस्तक ईश्वरको हातमा (क्ष्ल न्यमुक ज्बलम) भन्ने पुस्तकमा उल्लेख गेरेको एक प्रसङ्ग साह्रै मार्मिक छ । उनले लेखे – धेरै पहिले जब गोरा क्रिश्चियन धर्म प्रचारकहरू (मिसनहरू) अफ्रिकामा आए तिनीहरूको हातमा बाइबल थियो र हामीसँग अफ्रिकाको सिङ्गो भूमि थियो । उनीहरूले हामीलाई आँखा चिम्लन लगाए र ईश्वरको प्रार्थना गराउँदै ‘आमेन’ भन्न लगाए । हामीले अनुशासित भएर आँखा चिम्लेर ‘आमेन’ भन्यौँ । तर, जब हामीले आँखा खोल्यौँ हाम्रो हातमा बाइबल थियो र उनीहरूका हातमा हाम्रो भूमि ।
आज एक्काइसौँ शताब्दीको तेस्रो दशकमा हामी पुगेका छौँ तर पश्चिमा शक्तिहरूले आफ्नो पुरानो वर्चस्व कायम गर्न फेरि उही धर्मको आडमा एसियाली देशहरूमा चलखेल गरेको देखिन्छ । विभिन्न घटनाले उनीहरू एसियाली देशहरूमा धर्म परिवर्तन गराउने अभियान चलाउने गरेकोे तथा उनीहरू आफै पनि धर्ममा कटरता देखाउने गरेको एकाध घटनाले प्रस्ट्याउँदै आएको देखिन्छ । यसको ज्वलन्त उदाहरण हो – नेपालमा नयाँ संविधान लेखिँदै गर्दा नेपाललाई धर्मनिरपेक्ष बनाउन लागिपरेका पश्चिमा शक्तिहरू । अमेरिकाका चवालिसौँ राष्ट्रपति बाराक ओबामाको पूरा नाम थियो– बाराक हुसेन ओबामा । तर, उनको सपथको बेला बाराक ओबामा मात्र भनियो । अमेरिकी परम्परामा राष्ट्रपति इसाई नै हुनुपर्छ भन्ने मान्यताले उनको नाम ‘हुसेन’ लाई जानीबुझीकनै उच्चारण गर्न नदिइएको भन्नेछ । किनभने, हुसेन शब्द इस्लामसँग सम्बन्धित छ । त्यस्तै, पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी तनकाको विवाह यहुदी मूलका व्यापारी जरेड खुस्नरसँग गराएको थियो । खुस्नरले पनि तनकाको विवाह पूर्व उनलाई इसाईबाट यहुदी धर्म परिर्वतन गराएका थिए । ट्रम्प आफै पनि सार्वजनिक कार्यक्रममा आप्mनो प्रिय पुस्तक बाइबल भएको भन्दै बाइबल प्रदर्शन गर्दै हिँड्छन् र कसैले उनलाई मनपर्ने बाइबलको श्लोक सुनाउन भन्दा पन्छिन्छन् ।

सिन्जो आबेका बाजे नोबुसुके किसी अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनसँग

आबेको हत्या र इसाई धर्म
पछिल्लो केही दशकयता नेपालमा इसाई धर्म प्रचार र परिवर्तन गराउनेमा दक्षिण कोरिया र जापान अग्रपङ्क्तिमा देखिन्छन् । दक्षिण कोरियामा इसाई धर्म अठारौँ शताब्दीको उत्तराद्र्धमा (सन् १७८० पछि) पुगेको देखिन्छ भने जापानमा सोह्र्रौँ शताब्दीको आधाआधीतिर । तर, करिब दुईसय पचास वर्षसम्म जापानमा इसाई धर्मलाई प्रतिबन्ध नै लगाएको थियो । आज कोरिया र जापानमा इसाई धर्मको सक्रियता देखिएको लामो इतिहास देखिँदैन । पश्चिमाहरूले धर्मको आडमा गर्ने राजनैतिक चालबाजीहरूका बारेमा एसियाका धेरै देशहरू भुक्तभोगी भइसकेकाले आज एसियाकै देशहरूमार्फत ती धर्म प्रचारका गतिविधिहरू अझै दोहो¥याइरहेको अनुमान हुन्छ । नेपालको कुना कन्दरा र गल्ली चोकहरूमा बाइबल बोक्दै चहार्ने आज कोरियाली, जापानी र नेपालीहरू नै देखिन थालेका छन् । पश्चिममा खिइँदै गएको इसाई धर्मको शाखलाई एसियामा पुनस्र्थापना गर्ने योजनाजस्तो पनि देखिन्छ ।
गत जुलाई महिनामा जापानका पूर्वप्रम सिन्जो आबेको हत्यापश्चात् इसाई धर्म र चर्चको चर्चा त्यहाँ एकपल्ट फेरि चुलिएको छ । तर, सर्वसाधारण नागरिक त्यसबाट बेखबर देखिन्छन् । कोरिया र जापानमा युनिफिकेसन (एकीकरण) चर्चका विभिन्न क्रियाकलाप विशेषगरी दान वा चन्दा उठाउने कुरालाई लिएर विवादमा तानिएको देखिन्छ । दक्षिण कोरियाको सिओलमा युनिफिकेसन चर्चको स्थापना सन् १९५४ मा सन म्युन मुनले गरेका थिए । नामले ‘विश्व शान्ति र एकीकरणको लागि परिवार सङ्घ’ देखिए पनि संस्थापक मुन आफैलाई दोस्रो मसिहाको रूपमा प्रस्तुत गर्दै मानव जातिलाई पापबाट मुक्ति गर्ने भन्दै हिँडे । जापानमा यसको स्थापना १९६४ मा आधिकारिकरूपमा र्गिरएको देखिन्छ । तर, स्थापना भएको चार वर्षपश्चात् १९६८ मा यसले एउटा छुट्टै राजनैतिक शाखा खोल्यो जसको प्रमुख उद्देश्य कम्युनिस्ट आन्दोलनको विरोध गर्नु थियो । साथै, राजनैतिक पार्टीलाई प्रयोग गरी राजनीतिमा आफ्नो प्रभाव पार्दै जानु हो । त्यहीबेला जापानको सत्ताधारी उदारवादी प्रजातान्त्रिक (लिबरल डेमोक्र्याटिक) पार्टीसँग गठबन्धनसमेत गर्यो । साथै अमेरिकाको कन्जरभेटिभ अखबार ‘दि वासिङटन टाइम्स’ समेत युनिफिकेसन चर्चसँग सम्बन्धित सस्थाले सञ्चालन गरेको तथ्य बाहिरिएको छ । हालका वर्षहरूमा यो युनिफिकेसन चर्चले आफ्ना पुर्खाहरूले गरेका पापलाई पखाल्न गर्ने अभियान सञ्चालन गर्दै यसका अनुयायीहरूबाट मोटो रकम सङ्कलन गर्दै आएको छ । एकीकरण चर्चको यो गतिविधि सोह्रौँ शताब्दीमा रोमान क्याथोलिक चर्चले पाप मोचन प्रमाणपत्र बेचेको घटनासँग जस्ताको तस्तै मिलेको देखिन्छ । नेपालका राजनैतिक नेता भनाउँदाहरूलाई पवित्र रक्सी ‘होली वाइन’ को चक्करमा फसाउनेहरू पनि अरू कोही नभएर यही युनिफिकेसन चर्च नै थियो ।
जापानका पूर्वप्रम सिन्जो आबेको हत्या भएपछि धेरैले यसलाई राजनैतिक घटनाको रूपमा लिए तर धेरै कमलाई मात्र जानकारी थियो यो राजनीतिसँग होइन इसाई धर्म अझ यही युनिफिकेसन चर्चसँग जोडिएको घटना थियो । उनको हत्यामा संलग्न युवा यामागामी तेत्चुयाले आफ्नो आमाले अहिलेसम्म युनिफिकेसन चर्चलाई दस करोड येन बुझाइसकेको र चर्चले गरेर आफ्नो परिवार तन्नम भएको पुलिसलाई बयान दिए । पूर्वप्रम आबे युनिफिकेसन चर्चका एक प्रमुख व्यक्ति मानिन्छ । यामागामीले यही कारण उनको हत्या गरेको स्वीकारेका थिए । आबेका आमापट्टिका बाजे नोबुसुके किसी दोस्रो विश्वयुद्धको एक युद्धबन्दी थिए । उनी कट्टर दक्षिणपन्थी र घोर कम्युनिस्टविरोधी थिए । सन् ६० को दशकमा जापानमा औद्योगिकीकरणले तीव्रता पाएपछि विभिन्न श्रमिक सङ्गठन तथा श्रमिक आन्दोलनहरू हुन थाल्यो । यस परिस्थितिमा कम्युनिस्टहरूको प्रभाव बढ्नसक्ने अवस्थालाई रोक्न अमेरिकीहरूले उनलाई जेलबाट मुक्त गरेर प्रधानमन्त्री बनाएका थिए । यसरी युनिफिकेसन चर्चको जापान र कोरियामा स्थापना गर्नुमात्र धार्मिक कारण होइन । यो कम्युनिस्टद्वेषी र राजनीतिमा दक्षिणपन्थीको वर्चस्व कायम गर्ने उद्देश्यसमेत देखिन्छ । तर, बाहिर एकल परिवार र उमेर पुगेका पाका वृद्धवृद्धाको सङ्ख्या बढी भएको जापानी समाजमा युनिफिकेसन चर्च स्वयम् एक परिवार भएको बताउँछन् । नयाँ दम्पतीहरूको सामूहिक विवाहको चाँजोपाँजो मिलाई यहाँ पारिवारिक वातावरण भएको भान दिई मानिसलाई आकर्षित गर्छन् र पाका मानिसहरू यही जालमा फसेर आफूसँग भएको सम्पत्ति चर्चलाई दान गर्न हौसिन्छन् । यही घटनाले जापानमा हाल जापानीहरूमा धर्मकर्मसँग जोडिने यस्ता विभिन्न घटनासम्बन्धी जनजागरण चलाउनुपर्ने आवाज उठ्दै छ ।


नेपालमा पनि सहरको गल्ली र टोलटोलमा र पूर्व मेचीदेखि पश्चिम महाकालीका कुनाकन्दरासम्म फैलिएका इसाई धर्मको बहुरूपसँग जनता र सरकार सजग हुन अब ढिलो गर्नु हँुदैन । नेपालका चर्चहरूको खर्च कसले र कसरी सञ्चालन गरिरहेको छ भन्ने हिसाब किताब गर्न अब ढिलो गर्नु हुँदैन । राजनैतिक पार्टीका नेताहरूदेखि नै चर्चले जालझेल गर्ने गरेको तथ्य होली वाइनको चक्करमा केही माओवादी र एमालेका नेताहरूलाई फसाएबाट प्रस्ट भइसकेको छ । भर्खरै सकेको महानिर्वाचनमा युनिफिकेसन चर्च वा अन्य पश्चिमा चर्चहरूको लगानी के कस्तो गरे भन्नेबारे ढिलो चाँडो तथ्य बाहिरिने नै छ । अन्तमा, सम्पूर्ण इसाई धर्मावलम्बीहरूलाई नयाँ वर्ष सन् २०२३ को शुभकामनासहित धर्मको नाममा कसैको परिवार नभाड्न, कसैको इमान खरिद नगर्न र गरिबीको नाजायज फाइदा उठाई धर्म परिवर्तन नगराउन जीजसले शक्ति प्रदान गरून् भन्ने कामनासहित !
१७ पुस २०७९
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *