भर्खरै :

विश्व शान्ति वर्ष बनाऔँ

हामीले भन्नु त स्वाभाविकै हो । यहाँ त उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसमेत विनालज्जा भन्न थाले राष्ट्रिय गौरवका आयोजना नै लज्जाको बिम्ब बने भने । नवगठित मन्त्रिमण्डलको एकजना उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री नै त्यसो भन्छन् भने अरुले भन्यो भनेर किन छक्क पर्नु र ? पूर्वाधार विकास आयोजनाहरूलाई लथालिङ्ग पार्ने ठेकेदारहरूलाई कारबाही गर्नुपर्नेमा उल्टै राजनीतिक संरक्षण दिने गरिएको रहेछ । एक–दुई पटकमात्र हो र ? आठ पल्टसम्म म्याद थपिदिने मात्र हो र ? लागत नै बढाइ दिइँदो रहेछ । यो यस्तो हुन नहुने काम किन हुन्छ ? हाम्रो गम्भीर प्रश्न छ सरोकारवालाहरूलाई । यस्तो कुरा सुनिँदा उपप्रधानमन्त्री नारायणकाजी द¥है मान्छे हुन् । अब हेर्नु छ द¥हा हुन् कि लुलो ? मान्छे निर्णायक ठाउँमा पुगेपछि मात्र परीक्षा हुन्छ । वास्तमा द¥हो कि कि लुलो ? अब थाहा हुन्छ उनी केही गर्न सक्छन् कि भन्नमात्र सक्छन् । भन्न भने सक्ने गर्न भने नसक्ने धेरै पात्र व्यहोरिसके नेपाली जनताले । तसर्थ, अब भन्नमात्र होइन गर्न पनि सक्ने पात्र चाहिएको छ नेपाली जनतालाई । कैयौँ नेता जसको काठमाडौँ खाल्डोमा घर छैन । त्यस्ता नेता ती समयमा काम पूरा नगर्ने ठेकेदारहरूको घरभाडामा लिई बस्छन् । अनि कहाँबाट कारबाही हुनु समयमा काम सम्पादन नगर्ने ठेकेदारलाई । यो वास्तविकता स्वयं नारायणकाजीलाई थाहा छ । अब समयमा काम सम्पन्न नगर्ने ठेकेदारहरूलाई कारबाही हुन्छ कि रकमसमेत बढाइ ठेक्काको अवधि बढाइन्छ ? कि ठेक्का तोडिन्छ ? जनता प्रतीक्षामा छन् ।
यो गति, प्रगति, अगति के ?
ठूला केही आयोजनाका नामैसमेत किटी समाचार प्रकाशित भएका छन् । मध्यपहाडी लोकमार्ग निर्माण थालिएको १५ वर्ष भएछ । सडक बनेछ ६५.२५ प्रतिशतमात्र । लागत अनुमान रहेछ ३३ अर्ब ३६ करोड रुपियाँ भनिएकोमा ८४ अर्ब ३३ करोड रुपियाँ पुगेछ । त्यो रकम ५९ अर्ब ६९ करोड रुपियाँ खर्च भइसक्यो रे ¤ अब अर्को राष्ट्रिय गौरवको राजमार्ग हो हुलाकी राजमार्ग । यसको लागत अनुमान रहेछ रु. ४७ अर्ब २४ करोड । अब त्यो रकम बढेर ६५ अर्ब २० करोड रुपियाँ पुगेछ । अब प्रगति कति भयो भन्दा १३ वर्षमा ८१.४८ प्रतिशतमात्र । काठमाडौँ–तराई मधेस द्रुतमार्ग । नेपाली सेनाले थालेको हो २०७४ सालबाट । सो द्रुतमार्ग आउँदो वर्ष सकिनुपर्ने हो । तर २१.६३ प्रतिशतमात्र प्रगति छ रे ! अर्को सडक छ नारायणगढ–बुटवल सडक । २०७५ पुसमा भएको सम्झौताबमोजिम गरेको साउन २२ भित्र निर्माण सकिनुपर्ने हो । तर, प्रगति २० प्रतिशत पनि गुगेको छैन रे । अब मदन भण्डारी लोकमार्ग कोट्याउँ । ७४० किलोमिटर सडकको २६१ किलोमिटर कालोपत्र भएको छ रे ! ४ वर्षमा ३८ प्रतिशत बन्यो रे ! पाँच वटा सडक निर्माणको कथा सुन्दा कसको पो टाउको नदुख्ला र ?

धुलोमा रत्तिन्छन् कि भाग्छन् ?
अर्को सडक जसलाई उत्तर–दक्षिण (मालढुङ्गा–कोरोला) कालीगण्डकी कोरिडोर पनि भनिन्छ । यो सडक सुरु भएको ६ वर्षभित्र २०८०/८१ मा सकिनुपर्ने हो । तर, यसको अहिलेसम्मको प्रगति ७२ प्रतिशतमात्र छ रे ! अर्को उत्तर–दक्षिण कोरिडोर हो उत्तर–दक्षिण कोसी कोरिडोर । यो आयोजना १४ वर्ष पुरानो भयो । अब एक वर्षमा सकिनुपर्ने । तर, अहिलेसम्मको प्रगति हेर्दा ४५ प्रतिशतमात्र छ रे । अर्को सडक गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक । ५२ प्रतिशतमात्र प्रगति छ रे ? अझ मैलुङ–स्याफ्रबेसी खण्डको काम १ वर्षदेखि ठप्प रे ! यही हो हाम्रोको कामको गति । अब कुन धैर्यले काम गर्नु प्रश्न उठ्दैन ? हामी छेउमा बसेर, कुरा सुन्नेहरूको त टाउको चर्कन्छ भने सरोकारवालाहरूको के होला ? कतिवटा सडक त सम्पन्न गरिएका सुरका भाग भत्किसकेका हुन्छन् । हुलाकी सडक भत्किसक्यो । सहयोगका रकम निकासा हुने आफ्नै पद्धति र विधि छन् । निकासा गराउनै कठिन । पछि फछ्र्योट गर्न उस्तै । जति जति समयमा सडक बन्दैन लागत उति उति बढ्छ । यो निकासा पुकासाको ८४ घुम्दा हुने कष्ट भोग्नेले मात्र बुझ्छ । यो पढ्नेले बुझ्दैन । अब नारायणकाजी यी सबै सङ्कट बुझेर सडक बनाउन लाग्छन् कि भाग्छन् ? अहिल्यै भविष्यवाणी नगरौँ । केही मन्त्री त्यो रकमबाट धुलो झर्न थालेपछि त्यसैमा रमाउन थाल्छन् । केही भाग्छन् । समयमा थाहा भइहाल्छ अहिले प्याच्च नबोलौँ ।
केही न केही त गरौँ ?
ए ! अस्ति आइतबार त ईस्वी संवत्अनुसार नयाँ वर्ष लाग्यो । २०२२ सकियो र २०२३ लाग्यो । यो वर्षलाई शान्तिको वर्ष मनाउन पाए कति सुखको वर्ष हुँदो हो । कतै बन्दुक नपड्कियोस्, बारुदको दुर्गन्ध नआवस् । सि चिन फिङ, पुटिन, जो बाइडेन, नरेन्द्र मोदी एउटै कोठामा लहरै बसून् । विश्व शान्तिका लागि एउटा नाटक लेखियोस् । त्यो नाटक हेरून् । नाटक आ–आफ्नो भाषामा प्रदर्शन होस् । बन्दुक र बारुदमा खर्च हुने रकमबाट एक नगण्य झिकी अलिकति सेतो कपडा र रातो गाढा रातो मसी किनियोस् । त्यही मसीले हरेक राष्ट्रले आ–आफ्नो भाषामा शान्ति शब्द लेखून्, प्रदर्शन गरून् । एक एक कफी खाऊन् र विश्व शान्तिको नारा गगनभेदी नारा लगाऊन् । मुसुक्क हाँसेर हात मिलाऊन् । संयुक्त राष्ट्र सङ्घले यो कार्यक्रमको आयोजना गरोस्, युद्धको, बारुदको विरोधमा लेखहरू लेखिऊन् । लौन हो ! यो कुरा यसो कल्पना गर्दा नै मन प्रफुल्ल हुन्छ भने साँच्चै कार्यान्वयन नै गर्दा कस्तो होला । कहाँ आयोजना गर्नेभन्दा मलाई रोज्न दिने हो भने जापानको नागासाकी रोज्छु । लौन हो यो भूगोललाई मान्छे बस्न लायक बनाऊँ । यसो गर्न सकिँदैन । ? नत्र आजको विश्व कति समय टिक्छ ? यो भन्न सक्छ ? आजको यो सुन्दर, कोमल संसार हिउँ आँधीले सिद्धिने हो कि ग्लोबल वार्मिङले सिद्धिने हो के भन्न सक्छ ? साँच्चै यो सन् २०२३ लाई एउटा विशेष वर्ष बनाऊन् । यसो गर्दा कसको के पो बिग्रिएला र ? केही गरौँ न ? बाँच्न कसलाई मन लाग्दैन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *