भर्खरै :

सिद्धान्तच्युत राजनीतिमा सच्चाइ नहुने

देश र समाजमा आमूल परिवर्तन ल्याउन या एक आदर्श समाज स्थापना गर्न दर्शन र सिद्धान्तको आधारमा राजनीतिक दल स्थापना भएको हुन्छ । निश्चित आदर्श समाज या शोषणरहित समाज स्थापना गर्न राजनीतिक दलहरूले कुनै न कुनै एक वर्गको प्रतिनिधित्व गरेका हुन्छन् । कुनै धर्म, जाति, भाषा र क्षेत्रका जनताको हित सुनिश्चित गर्न स्थापना गरिएको दलले कुनै एक सम्प्रदायको मात्र प्रतिनिधित्व गरेको हुन्छ । आमूल परिवर्तन गरेर आदर्श समाज स्थापना कसैले गर्जेर भाषण गर्दैमा, जनताको ताली पाउँदैमा हुने होइन । दल र दलका नेताहरूको चिन्तन, विचार श्रमजीवी वर्गको पक्षमा हुनुपर्छ, त्यसअनुसार काम गर्नुपर्छ ।
आमूल परिवर्तन गर्न व्यापक जनतालाई शिक्षित र दीक्षित गर्नुपर्छ । जनतालाई शिक्षित र दीक्षित गर्ने उपाय भनेको प्रचार प्रसार नै हो । त्यसको लागि नताको घर आँगनमा सिद्धान्त र विचार पु¥याउनुपर्छ । जनताको समस्या र आवाज सडक र सदनमा पु¥याउनुपर्छ । प्रचार प्रसार गर्ने एउटा भरपर्दो आधार निर्वाचन हो । जनताको घर–आँगनमा सिद्धान्त र विचार पु¥याएर सचेत र सङ्गठित गर्नुपर्ने बेला निर्वाचनमा आर्थिक लोभ देखाउने, आश्वासन बाँड्ने काम गरेर उल्टो जनतालाई भाँड्ने, विवाद उत्कर्षमा पु¥याएर फाटो ल्याउने काम पो सत्तासीन दलका नेताहरूले गरिरहेका छन् ।
व्यापक जनताको समस्या समाधान गर्न राजनीतिक दलले कुनै लक्ष्य बोकेको हुन्छ । लक्ष्य पूरा गर्न पार्टीको विधान, घोषणापत्र तथा कार्यक्रम बनाएको हुन्छ । ती नै दलको विधान, घोषणापत्र र सरकारी नीति तथा कार्यक्रम बनाइएको हुन्छ । नेमकिपा कुनै लेनदेन, राजनीतिक अनैतिकता र सिद्धान्तच्युत राजनीति गर्दैन । बरू नेमकिपाले यसको विरोध गर्छ, विरोध गरिरहेको छ । नेमकिपाले भागबन्डा, भ्रष्टाचार र अनियमितताको विरोध गरिरह्यो । देशका उद्योग, व्यापार, सेवा र प्राकृतिक स्रोतहरू देशी वा दिवेशी कम्पनीलाई दिने काम सरकारले ग¥यो । यसको पनि नेमकिपाले विरोध ग¥यो ।
नेमकिपा देश अहित हुने सरकारको कुनै पनि सन्धि र सम्झौताको विरोध गर्छ । नेमकिपा सदनमा एक सचेत प्रतिपक्षको रूपमा देश र जनताको हितमा काम गर्छ । नेमकिपा सरकारको कुनै पनि गैरप्रजातान्त्रिक र गैरसंवैधानिक कदमको विरोध गर्छ । समान दर्शन र सिद्धान्तका राजनीतिक दलहरूबिच कार्यगत एकता गर्न, संयुक्त हुनु स्वाभाविक हो । दर्शन र सिद्धान्त नमिलेका अझ आकाश–पाताल फरक भएका राजनीतिक दलहरू बढी सिट जित्न, सरकारमा सामेल हुन या सरकारको नेतृत्व गर्न मिल्नु अर्को पक्ष हो । देशको विकास र जनताको सेवा गर्न मिल्नुपर्ने दलहरू आ–आफ्नो स्वार्थ पूरा गर्नको निम्ति शत्रु र मित्र एकै ठाउँमा बस्छन्, मिल्छन् । यो दलहरूको आदर्श र सिद्धान्तविपरीत हो । तर, विडम्बना ! सत्तासीन र ठूला दलका नेताहरूले यही काम गरिरहेका छन् । यो सिद्धान्तच्युत राजनीति हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *