भर्खरै :

नेपाल क्रान्तिकारी किसान सङ्घ कैलालीको दोस्रो जिल्ला सम्मेलन

नेपाल क्रान्तिकारी किसान सङ्घ कैलालीको दोस्रो जिल्ला सम्मेलन

कैलाली, २२ पुस । नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्ली प्रसाद काफ्लेको आतिथ्यमा नेपाल क्रान्तिकारी किसान सङ्घ कैलालीको दोस्रो जिल्ला सम्मेलन शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि काफ्लेले राजनीति भनेको निःस्वार्थरूपमा देश र जनताको सेवा गर्ने हुनुपर्नेमा शासक दलहरूले व्यक्तिगत र दलगत स्वार्थ पूर्ति गर्ने साधनको रूपमा राजनीति गरिरहेको बताउनुभयो ।
माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधारा नेमकिपाको मार्गनिर्देशक सिद्धान्त भएको चर्चा गर्दै उहाँले देशमा समाजवादी व्यवस्था गर्न नेमकिपा सङ्घर्षरत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जमिन जोत्नको हुनुपर्ने माग नेमकिपाको हो । सम्पत्तिको सीमाङ्कन, सिंचाइको व्यवस्था, बीउको व्यवस्था, मलको व्यवस्था र उत्पादित कृषि वस्तुको उचित मूल्यको व्यवस्था गर्ने दायित्व सरकारको हो ।”
पार्टीका अर्का केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले समाजवादी राज्य व्यवस्थामा मात्र कामदार जनताले सम्मानपूर्वक जीवन जिउन पाउँछन् भन्नुभयो ।
शिक्षा–स्वास्थ्य निःशुल्क, योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, उत्पादनका मुख्यमुख्य साधन र सेवा सामाजिकीकरण, ज्येष्ठ नागरिकलाई आदर निकेतनको व्यवस्था, शोषणविरूद्धको हकजस्ता विशेषता समाजवादी राज्य व्यवस्थाको भएको उहाँले बताउनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले राजनीति राम्रो नभएसम्म देश विकास नहुने भएकोले सचेत भएर राजनीति गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ कैलालीका अध्यक्ष लक्ष्मी पुनले गर्भवती महिलालाई बच्चा जन्मनुभन्दा तीन महिना अगाडि र बच्चा जन्मेको तीन महिना पछिसम्म तलबी बिदा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सदस्य ज्ञानेन्द्र चेपाङले कृषिप्रधान देशले अर्बौँको खाद्यान्न बाहिरबाट ल्याउनुपर्ने स्थिति आउनुमा शासक पार्टीहरू दोषी रहेको बताउनुभयो । उहाँले युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष गजबहादुर दर्लीमगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ज्योति बडुवाल, गुप्तबहादुर शाही, रोजित महर्जन, भक्तिप्रसाद जैशी र जानकी सिजापतिले पनि बोल्नुभएको थियो ।
सम्मेलनको बन्दसत्रबाट गजबहादुर दर्लामीको अध्यक्षतामा १५ सदस्यीय नेपाल क्रान्तिकारी किसान सङ्घ कैलाली जिल्ला समिति गठन गरेको छ ।
शुक्रबारै नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेको उपस्थितमा भएको युवा कार्यकर्ता भेलाले प्रेम बडुवालको अध्यक्षतामा ११ सदस्यीय नेपाल क्रान्तिकारी युवा सङ्घ तेस्रो जिल्ला सम्मेलन तयारी समिति गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *